हार्दिकतापूर्वक प्राप्त भएको निमन्त्रणालाई स्वीकार गरिसकेपछि पाइला कसै गरे पनि रोकिएनन्। यस्तै निमन्त्रणा उमेश अकिञ्चन सरले प्रेमले पठाउनुभएको थियो–
‘म्याडम साउन ३ गते १२ः३० बजेलाई समय तय भएको छ।’
‘हवस् सर, अवश्य आउने छु।’
एकहप्ताअघि नै म्यासेन्जरमा हाम्रो कुराकानी भएको थियो।
कलमले कलमकै बयान गर्छ। कलम कलमकै साथी हुन्छ। कलम हतियार पनि हो। कलमबाट जोडिएको हो यो साहित्यको साइनो। कलमका साथीको पहिलो औपचारिक कार्यक्रमा अतिथिको निमन्त्रणालाई सहर्ष स्वीकारी हामीलाई ऊर्जा प्रदान गर्नुभएको थियो उमेश सरले। यसपटक मेरो पालो आयो।
साउन ३ गतेलाई स्मरणमा राखेकी थिएँ। हतार हतार शनिबार गर्नुपर्ने काम सकेर बढो उत्सुकतापूर्वक ११ः३० मा घरबाट निस्किने योजनामा थिएँ। घाम निकै चर्को थियो।
‘पठाओमा जानू, यस्तो घाम छ।’ हिँड्न लागेको देखेर श्रीमानले भन्नुभयो। झट्ट सम्झिएँ असार २९ गते अनिताको ‘उज्यालो औँसी’ को वार्षिकोत्सव कार्यक्रममा जाँदाको यात्रा।
'आमा! म याङ्गो बोलाइदिऊँ' सानो छोरोले मोबाइल लिँदै ट्याक्सी बोलाइदिएको थियो। पठाओभन्दा आधा सस्तो रहेछ याङ्गो। सहज पनि उत्तिकै। म याङ्गो बोलाएर कार्यक्रम स्थलतिर हानिएँ। घडी हेरेँ, १२ बज्न ३ मिनेट बाँकी छ। यति चाँडै पो आइपुगेछु। के गर्ने होला अब? यसै ५ मिनेट जति बाहिर टहलिएँ। त्यसपछि मिरमालाई फोन गरेँ।
'दिदी हिँड्न लागेँ। आधा घण्टामा आइपुग्छु' फोनमा प्रतिउत्तर थियो उनको। घरबाट ल्याउन भुलेको एक चिजको याद भयो। तयार पारेर राखेकी थिएँ। भुसुक्क बिर्सिएछु। मिरमालाई फेरि भनेँ, 'मैले घरमा ...तयार पारेको थिएँ। कस्तो बिर्सिएछु। हेर न हात त रित्तो पो भयो।'
'ए हो र दिदी, भो तनाव नलिनुस्।' उनको उत्तर थियो। मैले सरासर होटल एअरपोर्टमा प्रवेश गरेँ। बाहिरको घामबाट बचेको महसुस भयो होटलमा पस्नासाथ। होटलका कर्मचारीको हार्दिकतापूर्ण स्वागतले आनन्दानुभूति दिलायो। मलाई कार्यक्रम स्थलको बाटो देखाइदिनुभयो उहाँहरूले। कार्यक्रम स्थलमा भव्य सजावट र तयारी चलिरहेको थियो। म नरोकी त्यहाँ पुगेँ। उमेशजीले आत्मीयताका साथ स्वागत गर्नुभयो।
'सायद किनाराहरू' लाई नियाल्न म समयमै पुगेकी हुँ सायद। शान्त र शून्य थियो हल। कविताहरू त यस्तै शान्त समयमा आनन्द लिई पढ्छन् पाठकहरूले।
उमेशजीको शान्त र सौम्य व्यक्तित्वमा झल्किरहेका थिए कविताहरू मुग्ध बनेर। कार्यक्रम स्थलमा २/३ जना मात्र हुनुहुन्थ्यो। त्यसपछि त कार्यक्रम स्थलमा लगातार पाहुनाहरू आउने क्रम सुरू भयो। बिस्तारै शून्यता किनारातिर सर्यो र खचाखच भयो हल। केही समयमा उमेशजीको अफिसका म्याडमहरू आउनुभयो। चिनजान भयो। गफगाफ भयो। एकछिनपछि साहित्यकारहरूको लर्को सुरू भयो। हेम सर लगायत प्रज्ज्वल भाइ, प्रकाश सर, कृष्ण सरको आगमन भयो। पछि उपस्थिति बढ्दै गयो।
एक्लै महसुस गर्नै नपाउने गरी समय समयमा उमेश सरले खबर सोधिरहनुभएको थियो।
अफिसका म्यामहरूसँग बस्दाबस्दै गीता दिदी, मिरमा, निमग्नाजी, ज्योति म्याम, जानुकाजीको आगमनपछि त एउटा साहित्यिक जमात तयार भयो। त्यो शान्त सभाहलको मौनता भङ्ग भयो। चिनेका नचिनेका धेरै साहित्यिक व्यक्तित्वको उपस्थिति बढिरह्यो। अब तयार थियो एउटा स्तरीय उपस्थिति कार्यक्रम हलमा।
भव्य कार्यक्रमको तयारी। सुन्दर उपस्थिति। त्यसमा पनि 'सायद किनाराहरू' कृतिको आफ्नै प्रभावपूर्ण अस्तित्व। उमेश सरको मिलनसार व्यक्तित्व। यी सबैको संयोजनले कार्यक्रम रोचक बन्ने पक्का थियो।
माननीय रक्षा मन्त्री मानवीर राईज्यूको प्रमुख आतिथ्यको स्वागतका लागि मुस्कुराइरहेको थियो सभाहल।
तोकेको समयभन्दा केही समयपश्चात डा. हेम भण्डारीको सुमधुर स्वरबाट सभाहल गुञ्जियो। बिस्तारै कार्यक्रमको समयले गति लियो। कार्यक्रमले सबैलाई आकर्षित गर्यो सबै मञ्चतिर ध्यानमग्न भयौं।
यति सुन्दर र सभ्य सभाको वर्णन मैले गरिनँ भने केही कुरा अवश्य छुट्ने छ। प्रमुख अतिथि माननीय रक्षा मन्त्री मानवीर राई तथा विशेष अतिथि रमेश क्षितिज, राजकुमार बनियाँ, जीवन लुइँटेल तथा वक्ताद्वय आदरणीय दाजु श्रवण मुकारुङ र आदरणीय दिदी विमला तुम्खेवाको आसन ग्रहणपश्चात् दुई जना भाइहरूद्वारा मञ्चासिन अतिथिहरूलाई माल्यार्पण तथा खादा अर्पण गरियो।

सुन्दर सज्जामा उपस्थित महिला नै मञ्चमा मालाको थाली बोकेर जानुपर्छ, माला र खादाले साडी अथवा कुर्ता सुरुवालमा सजिएका महिला नै खोजिरहेको हुन्छ भन्ने असमानताको नजिर तोड्दै कार्यक्रमले केही नयाँ पाइला सार्यो। मलाई असाध्यै खुसी लाग्यो। सधैँ कार्यक्रममा जाँदा खोजी–खोजी अझ रोजी–रोजी नारी हातहरूलाई माला बोकाएर मञ्चमा घुमाइने परम्पराबाट मुक्ति मिलेको अनुभव भयो। यसले मलाई लेख्न अग्रसर गरायो।
यति मात्र कहाँ हो र? आदरणीय मन्त्रीज्यूलाई मायाको चिनो र सम्मान भन्दै अनेक प्रकारका सिसाका फ्रेम र महङ्गा उपहार दिने प्रचलनलाई तोड्दै झोलाभरि पुस्तक राखेर उपहार अर्पण गर्दा कार्यक्रममा सुगन्ध थपियो।
यसरी पनि त कार्यक्रमलाई सुन्दर बनाउन सकिन्छ नि! अब मन्त्रीज्यूले पनि साहित्यका पुस्तक पढ्नुहुनेछ। अब पुस्तक उपहार दिने प्रचलन बढ्दै जाने छ भन्ने आशा जाग्यो।
निकै सुन्दर र सटिक समीक्षात्मक टिप्पणी वक्ताद्वयबाट सुनेपछि त झन् पुस्तक पढ्ने हतारो बढ्यो। यति सुन्दर कार्यक्रम सकेपछि खाजा खाएर उमेश सरसँग बिदा लिँदै हामी बाहिरियौँ।
गाडीभरि एउटै प्रश्नले अल्झाइरह्यो ।
घामलाई प्रश्न:
घाम मलाई पनि
तिम्रो उमेर सोध्न मन छ
सिङ्गो आकाशमा हिँडिरहने
पाइलाहरू गन्दै
तिम्रैपछि आउन मन छ
सम्झनाको साँझसम्ममा
पछ्याउँछन् पहेँला पहाडहरू
म जन्मेको वर्षदेखि आजसम्म फैलिएको
इन्द्रधनुष
ओड्दै हिँड्न मन छ
सीमित समयका
असीमित आफन्तहरूजस्ता लाग्छन्
क्यालेन्डरका पानाहरू
जिन्दगीको जुलुसमा
डियर डकुमेन्ट्री
छायाङ्कन गर्ने मन छ
एक आयुका
सय सम्झनाहरू
सय सम्झनाका हजार यादहरू
हजार यादमा आउने लाखौँ मानिसहरू
यी हजार यादहरूको
गोरेटोमा हिँडिरहने एक जोर पाइलटसँग
पहाड पछाडि लुक्ने मन छ
छुटेका समयहरू
हिँड्न आइदिन्छन्
स्कुलको हुँदै अफिसको आँगनसम्म
मलाई फूलको ठेगानामा
नमेटिने मसीले
आफ्नो अनुहारको चित्र कोर्ने मन छ
घाम अझै पनि मलाई
तिम्रो उमेर सोध्न मन छ ।
श्रवण दाजुले भन्नुभयो – कविता त लेखकले बुझेर लेख्छ। सबैले कविता बुझ्न सक्छ भन्ने होइन। जसले बुझेर पढ्छ उसले आनन्द लिन्छ।
वास्तवमा कवि उमेश अकिञ्चनका कवितामा डुबेर, कवितालाई बुझेर पढ्दा आनन्ददायी कविता छन्। कोमल छन्।
विमला दिदीले भन्नुभयो – विरोध पनि यति शालीन हुन्छ र?
उहाँले फेरि थप्नुभयो, 'कवि उमेश अकिञ्चनका शालीन विद्रोही कविता छन्। त्यसैले मुलायम र कोमल छन्।'
साँच्चै नै उहाँका कविता आँखा खाने चमक बोकेर आएका छैनन्। आँखालाई शीतल पार्ने आनन्द छ कवितामा। अझ भनौँ, जटिलताले नछोएका कविता छन् सङ्ग्रहभरि।
'सायद किनाराहरू' कविका हृदयबाट उद्बोधित अभिव्यक्तिहरू हुन्, जुन कुनै संरचनाको आकर्षणले परिमार्जित भएका छैनन्। यसरी कवितामा किनाराका भावना, किनाराका विचार आएका छन् सशक्त भएर।
मरूभूमिको धुलोमा ऊँटका पाइला
खसे सरह रूखको छाया तलाउमा
हजारौँ मेगावट बिजुलीको प्रेयसी चमक फैलिन्छ
झरी, बतास र पानीका थोपाहरू
क्षितिजको क्षेत्रफलभन्दा
पर ...पर...!
(झरी, बतास र पानीका थोपाहरू)
वर्गीयताले पिल्सिएको किनाराको कथा। सामाजिक समस्याका झरी, बतास र पानीका थोपाले लछप्प भिजाएको समाजको चित्रण भेटपछि लाग्यो साँच्चै 'सायद किनाराहरू' सार्थक छ।
'कुकरमा के उसिनेको
तोडले बजाएर सिट्टी
कि
भोकको बजिरहेछ साइरन'
(आँधीलाई अनुरोध)
पढ्दा पढ्दै सम्झिएँ, छाप्रोमा अँगेनामाथि डेक्चीमा उम्लिरहेको कोदोको खोले अनि छेउमा भोका पेट पस्किरहेको आमाको अनुहार। यी सबै भित्ताहरू त हुन् नि। नदीको प्रवाहमा रेटिएका किनाराका भित्तारहरू।
सबै कविता एकै बसाइँमा पढिसकेँ। अझ दोहोर्याउने मन छ। अर्को बसाइँमा दोहोर्याउने छु। पढिसकेपछि सङ्ग्रहणीय पुस्तकको सूचीमा समावेश गरी 'सायद किनाराहरू' लाई असीम बधाई तथा शुभकामना!