पुस्तक समीक्षा
२०८० सालका लागि मदन पुरस्कार प्राप्त कृति हो- मुकाम रणमैदान। खोज पत्रकारितामा कहलिएका सर्जक मोहन मैनालीले लेखेको यो कृति मूलतः नेपाल र इस्ट इण्डिया कम्पनी (अंग्रेज) बीचको युद्धमा उभिएको छ।
पुस्तकको सुरूमै नालापानीको युद्धबाट सुरूआत भएको छ। नालापानी धेरै नेपालीले सुनिरहेको स्थानको नाम। वर्तमानमा भारतमा रहेको यो स्थान तथा बलभद्र कुँवर र उनको नेतृत्वमा रहेको किल्लाका बारेमा धेरै कविता र गीत मात्र होइन नाटकहरू पनि मञ्चन भएका छन्।
कृतिकार मैनालीले यो कृति सिर्जना गर्दा एउटा चलाखी अपनाएका छन्। उनले सुरूमै नालापानीको दृष्य वर्णन गर्नु उनको चलाखीपन हो। ६ दशकदेखि नेपालीहरूले कण्ठ गरेको 'धेरै वर्ष अघिको कथा नालापानीको' कविताले नालापानी युद्धका बारेमा नेपालीहरूलाई निकै ठूलो चासो छ।
महिला र बालबालिका समेत रहेको नालापानी किल्लामा नेपालीले देखाएको साहस र अन्तिममा पानी पिउन समेत नपाएर तड्पिएर नेपाली मरेको र बाँचेकाहरू आत्मसमर्पण नगरिकन किल्लाबाट निस्किएर हिँडेको कथा सुन्दा जति रोचक छ यसको भित्री पाटो उत्तिकै कहालीलाग्दो र भावुक पनि छ। तसर्थ नालापानी युद्धका बारेमा वर्णन गर्दा पाठकले किताबका थप पाना पल्टाउँदै जान्छन् भन्ने बुझेर यसलाई सुरूमा राखिएको हो।
'मुकाम रणमैदान' कृति गहन र महत्वपूर्ण भएर पनि सर्वसाधारण पाठकका लागि हाडे ओखर जस्तै छ। हाडे ओखर फुटाउनै सकस, फुटाएपछि त्यसभित्रको गुदी भेला गर्न अर्को झिँझो। कताकति च्यापचुपमा रहेको गुदी नगन्य हुन्छ तर निकै मिठो र स्वास्थ्यदायक। यसमा प्रयुक्त भाषाको अधिकांश हिस्सा पुरानो नेपाली भाषा प्रयोग भएको छ। किनभने कृतिको मूल स्रोत नै युद्धस्थलबाट राजधानी काठमाडौं र क्षेत्रीय कार्यालयबीच आदानप्रदान भएका चिठीपत्रहरू हुन्। लेखकले ती चिठीपत्रलाई सकेसम्म जस्ताको तस्तै अथवा हल्का सम्पादन गरेर राखेका छन्।
अंग्रेजले लेखेका चिठीपत्र अंग्रेजी भाषामा रहेको र दुई सय वर्ष अगाडिको अंग्रेजी भाषामा अहिले त्यति धेरै फेरबदल नभएको तर त्यही अवधिको नेपाली भाषामा आनको तान फरक परेको कुरा लेखकले सुरूमै स्पष्ट पारेका छन्। त्यही भएर ती चिठीपत्रहरू पढ्न झन्झटिलो र अर्थ खोज्नलाई घोइरिनु पर्ने अवस्था भएकाले मैले यो कृतिलाई हाडे ओखरसँग तुलना गरेको हुँ। त्यही भएर त भनिएको हो, यो कृति सर्वसाधारण पाठकका लागि होइन। जो व्यक्ति इतिहासप्रति चासो राख्छ, जसलाई युद्ध साहित्य मन पर्छ, दक्षिण एसियामा नेपाल कसरी उपनिवेश हुनबाट बच्यो भन्ने कुरामा रूचि राख्छ, नेपालको एकीकरण र शासन व्यवस्थाको जानकारी चाहन्छ त्यस्ता व्यक्तिका लागि मात्र यो किताब प्यारो हुन सक्छ।
युद्ध साहित्यमा नेपालमा थुप्रै कृतिहरू लेखिएका छन्। यसै पनि नेपालीलाई युद्ध साहित्य मन पर्छ। महाभारत र रामायणका कथा हाम्रा लोकलवजमै भिजेको चलन हुँदै हो। त्यसमाथि नेपाल आमाका ती वीर सपुत जसले नेपाललाई सदैव स्वतन्त्र रहन दिए, उनीहरूका बारेमा लेखिएका गाथा मन नपर्ने कुरै भएन। सामान्य कक्षा ८ सम्म पढेको हरेक नेपालीले भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, भीमसेन थापा जस्ता सपुतका बारेमा धेरथोर सुनेकै छन्। तर कहिलेकाहीँ एउटा पक्षमात्र उजागर हुँदा एक पक्षीय सूचना मात्र प्राप्त हुने रहेछ।
मैनालीले यो कृतिमा दुवै पक्षका चिठीपत्रलाई समेटेर तत्कालीन अवस्थालाई सकेसम्म निष्पक्ष रूपमा उतार्न खोजेका छन्। दुई सय वर्ष पुराना चिठीपत्र र दस्ताबेज खोज्नु आफैमा चुनौतीपूर्ण कार्य हो। अत्यन्त दुर्लभ र कडा सुरक्षा घेरामा संरक्षित ती सम्पदा उधिनेर, धुलो पुछपाछ पारेर, च्यातिएका र नासिएका ठाउँको थप अनुसन्धान गरेर, तत्कालीन भाषिकाको अर्थ पर्गेलेर भेला गरिएका सामग्री मौरीले मह संकलन गरे जत्तिकै कठिन कार्य हो। हामी पाठकका हातमा आइपुग्दा त महको बोतल आएको छ। स्वाट्ट खाएर भन्न सजिलो छ गुलियो अथवा टर्रो, तितो अथवा स्वादिलो। के थाहा त्यो मह संकलन गर्दा कतिपय ठाउँमा मलसाप्राले घार नै भत्कायो कि! चिबे चरा र अरिङ्गालबाट जोगिँदै कोशौँ टाढाबाट ल्याइएका महका हरेक बुँदसँग कति पसिना, श्रम, जाँगर, चुनौती र समय खर्च भएको छ?
'मुकाम रणमैदान' को समय १८७१ देखि १८७३ बीचको लगभग दुई वर्षको अवधि हो। यो समयमा नेपालले अंग्रेजसँग गरेको युद्धको कुरा किताबमा मियोका रूपमा रहेको छ। तर यहाँ युद्ध मात्र छैन। तत्कालीन अवस्थामा नेपालको शासन व्यवस्था, भारदारबीचको कलह, युद्धको समयमा राजा अथवा शासकलाई पारिने गुमराह, युद्ध जित्नेहरूले गर्ने लुटपाट, युद्ध नियम र युद्धबन्दीमाथि गरिने व्यवहार आदिको वर्णन छ। तर ती वर्णनको मुख्य स्रोत पनि चिठीपत्रहरू नै हुन्।
नेपालको दरबारमा सुरू भएको पाँडे खलक र थापा खलकको शत्रुताको बिउ पनि त्यही समयमा रोपिएको कुरा विभिन्न प्रसंगले समेटेका छन्। युद्धग्रस्त क्षेत्रमा जीवनभर खटेका अमरसिंह थापाको जीवनी अत्यन्त त्रासदीपूर्ण र अन्यायमा बितेको कुरालाई मैनालीले खोतलेका त छन् तर टुंगोमा पुर्याएका छैनन्। त्यसैगरी भीमसेन थापाको भूमिकालाई पनि कृतिमा समालोचना कम गरिएको छ। उक्त युद्धका मुख्य सारथि अथवा भनौं महाभारतमा कृष्णको भूमिका जस्तै भूमिकामा थिए भीमसेन थापा। तत्कालीन अवस्थामा राजा त थपना मात्र थिए। जे हुँदै थियो सबै भीमसेन थापाकै कमाण्डिङ भएको थियो। युद्धग्रस्त क्षेत्रबाट आएका चिठीपत्र दरबारमा पुगेपछि केकस्तो छलफल हुन्थ्यो र कसरी निर्देशन दिइन्थ्यो भन्ने पाटोमा केही उल्लेख नहुनु कृतिको कमजोर पक्ष हो। त्यतिका चिठीपत्र खोज्ने समयमा तत्कालीन अवस्थाको भाइभारदारको बैठकका दस्ताबेज र इतिहासलाई समेटेको भए सुनमा सुगन्ध हुने थियो।
यो कृतिको सबैभन्दा सशक्त पक्ष के हो भने त्यतिबेलाको नेपालको सैनिक क्षमता र युद्ध सामग्री सिर्जना। अंग्रेजसँग अत्याधुनिक तोप, राइफल, हाउविट्सर, मोर्टार आदि हतियार थिए। अनि नेपालसँग? नेपालसँग थिए नि! गुलेली, धनुषकाँड, पथ्थर, भाला र खुकुरी अनि सीमित सङ्ख्यामा बन्दुक। ताजुप लाग्ने कुरा के हो भने त्यस्ता हतियार नेपालले प्युठान, पाल्पा र आसपासमा बनाउँदो रहेछ।
युद्धग्रस्त देश र क्षेत्रले बेहोर्ने सबभन्दा ठूलो समस्या भनेकै रोग, भोक, अभावसँगै अनगिन्ती आन्तरिक चुनौती। नेपाली सेनाहरू हप्तौंसम्म भोकै युद्ध गरेको कुरा मिथक नभएर सत्य हो भन्ने कुरालाई कृतिमा उल्लेख गरिएका विभिन्न घटनाले पुष्टि गरेका छन्। उदाहरणका लागि पृष्ठ
नालापानी युद्ध जितेपछि अंग्रेज जब किल्लाभित्र प्रवेश गरे त्यतिखेर त्यहाँको दृश्य कस्तो थियो भन्ने कुरा अंग्रेज सैनिक अधिकारी हेनरी शेरऊडले यस्तो लेखेका रहेछन् :
'उज्यालो भएपछि भित्र गयौं। किल्ला धेरै साँघुरो थियो। त्यहाँ जताततै लासैलास थिए। दश फिट लामो र ६ फिट चौडा ठाउँमा सातवटा लास एकमाथि अर्को गरी खप्टिएका थिए। यो सानो ठाउँमा ८६ वटा लास लडेका थिए।… घाइतेहरू सबभन्दा खराब हालतमा थिए। घस्रन सक्नेहरूले बाहिर निस्कने प्रयास गरिरहेका थिए। कोही पानी पानी भन्दै चिच्याइरहेका थिए।… खुट्टा भाँचिएकी, लासका बीचमा पल्टिएकी एउटी युवतीलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ। उनको शरीरका केही भागलाई लासले थिचेको थियो। उनी हलचल गर्न सक्दिन थिइन्। तिर्खाले उनको मुख कसरी प्याकप्याक गरिरहेको थियो भन्ने कुराको वर्णन गर्न म सक्दिनँ। … एउटी चार वर्षजतिकी र अर्की एक वर्षजतिकी बच्चीका आमाबाबु दुवै मरिसकेका थिए। ठूली चाहिँ आफ्नी बहिनीसँग छुट्टिनुपर्ला भन्ने डरले चिच्याइरहेकी थिइन्।…' (पृष्ठ ४७ र ४८)
नेपाल आमाको अस्मिता जोगाउन ती शिशुदेखि सुत्केरी आमाले पनि युद्ध लडेका थिए भन्ने कुराको यो ज्वलन्त अनि वीभत्स दृश्यले पाठकलाई नराम्ररी बिथोल्छ।
युद्धमा वीरगति प्राप्त गर्ने सबभन्दा जेष्ठ नेपाली कमाण्डर थिए भक्ति थापा।
भक्ति थापा मारिएपछिको दृश्यलाई मैनालीले पृष्ठ ११७ मा यसरी लेखेका छन् - 'अंग्रेजले रणमैदानमा एक जना नेपाली अफिसरको लास फेला पार्यो। लडाइँमा कुन नेपाली अफिसर मारिएछन् भनी थाहा पाउन त्यो लास लोहार भञ्ज्याङ (देउथल) को अंग्रेज क्याम्पमा लगियो। त्यहाँ रहेका नसीरी अर्थात् भगौडा र युद्धबन्दी भई अंग्रेजका तर्फबाट लडिरहेका पहिलेका नेपाली सैनिकले त्यो लास भक्ति थापाको भएको बताए र उनको मृत्युमा दुःख व्यक्त गरे। अक्टरलोनीले उनको शवलाई सम्मानका साथ कपडाले बेरेर नेपाली फौजको जिम्मा लगाइदिए। नेपाल दरबारका राजा बाहेकका सबैलाई आशिष दिने हैसियत भएका, दीर्घकालसम्म लडाइँ लडेका, जेष्ठतम् सिपाही भक्ति थापा ७३ वर्षको उमेरमा १८७३ साल वैशाख ६ गते कहिल्यै नउठ्ने गरी मलाऊँको लोहार भञ्ज्याङको रणभूमिमा अस्ताए।'
कृतिमा भक्ति थापाको अर्को चरित्रको पनि वर्णन गरिएको छ।
भक्ति थापा युद्धमा सकेसम्म सहभागी नहुने तर दरबारमा चिठीपत्र लेख्दा चाहिँ आफूले युद्ध गरेको भनेर बढाइचढाइ लेख्ने र जस आफूले लिने खालका थिए भन्ने कुराको पुष्टि अन्य सैनिकले लेखेका चिठीपत्रबाट हुन्छ। पृष्ठ ११९ देखि १३१ सम्म 'भक्ति थापाः वीर हुन्, वीर वीर होइनन्' शीर्षकमा भक्ति थापाको दोहोरो चरित्रलाई उदाङ्गो बनाउने चिठीपत्रहरू समेटिएका छन्।
युद्ध हारेर पनि नेपालीहरूले मातृभूमिप्रतिको अगाध आस्था र देशप्रेम कहिल्यै हारेन। यो कुराको पृष्टि युद्धबन्दी भएका नेपालीलाई अंग्रेज कमाण्डर फ्रेजरको कुराकानीले गरेका छन्। '… फ्रेजरले 'सन्धि भयो र घर फर्कन पायौं भने आफ्नो घर जान्छौ?' भनी सोधेका थिए। … 'हामीले कुनै हालतमा पनि आफ्नो किल्ला छाड्न हुँदैनथ्यो। किल्ला छोडेर भाग्नुभन्दा त्यहीँ मर्नु जाति हुन्थ्यो। अब हामी आफ्नो देश फर्कन योग्य छैनौं।' उनले यस्तो जबाफ दिँदा त्यहाँ भएका सबै सुबेदार र कमान्डरले उनको कुरामा सहमति जनाउन टाउको हल्लाएका थिए, 'हामी फर्कन योग्य छैनौं।'
उनीहरूको यस्तो कुरा सुनेर फ्रेजर छक्क परेका थिए। उनलाई लागेको थियो - 'यी मानिसमा उच्च तहको र चाहिनेभन्दा बढी कर्तव्यपरायणता छ। हेर्दा झुत्रेझाम्रे शरीर भएका यी मानिस आफ्नो शारीरिक अवस्थाको ठीक उल्टा असाधारण विचार व्यक्त गर्छन्। बनावटी वा देखावटी पाराले होइन, यसै सहज ढंगले। सदाझैं, आफ्ना मनको सरल विचार।' (पृष्ठ १७१)
'मुकाम रणमैदान' कृतिमा तत्कालीन अवस्थाको नेपालको कूटनीति र छिमेकी मुलुकसँगको दोहोरो चरित्रको पनि रोचक ढंगले उजागर गरेको छ।
सन्धि तयार भएर पनि लालमोहर लगाउन भएको ढिलाइले युद्ध निरन्तर चलेर नेपाललाई थप क्षति भएको कुराले दरबारलाई अल्मल्याएर फाइदा लिने युद्ध सरदार त्यतिबेला पनि यत्रतत्र रहेको कुराको छनक पाइन्छ। त्यसैगरी उत्तरी छिमेक मुलुकबाट नेपालले सहयोगको अपेक्षा गरेर लेखेका पत्रले नेपालको दोहोरो चरित्रको पर्दाफास भएको छ।
नेपाल र अंग्रेजबीचको युद्धमा उत्तरी छिमेकीको केही प्रसंगहरू आएका छन्। उत्तरी चिनियाँ बादशाहका पत्रको पेटबोलीले अहिलेको चिनियाँ परराष्ट्र नीति र दुई मुलुकबीचमा नेपालले एकलाई देखाएर अर्कालाई तर्साउने वर्तमान नीतिसँग त्यतिबेलाको नीति पनि मिल्दोजुल्दा रहेछन्।
नेपालले बारम्बार सहयोग मागेर चीनसँग हतियार, सेना र पैसा तीनै थोक अथवा एक थोक मात्र भए पनि भनेर पत्र लेखेको थियो। चिनियाँ बादशाहले आफैले त नेपालका राजालाई पत्रको उत्तर दिएनन् तर तिब्बतमा रहेका बादशाहका प्रतिनिधि अम्बाले हरेक चिठीको जबाफ दिएका छन्। नेपालले लगातार सहयोग देखाउने एउटै विषय के थियो भने अंग्रेजले नेपाल खान आँट्यो। नेपाल खाएपछि चीन पस्छन् त्यसकारण यो चीनको पनि खतरा हो भन्ने आशय व्यक्त गरेका थिए।
नेपालले लेखेको एउटा पत्रमा यस्तो रहेछ 'फिरंगीले पहाडको बाटो गरी भोट हान्नलाई बाटो विचार गर्न भनी मानिस पठाएका रहेछन्। फकीरको भेषमा आएको फिरंगीको त्यस मानिसलाई पक्डी सास्ती गरी हाम्रो देशबाट निकाला गरी पठाइदियौं। … वर्षाद हुनाले फिरंगीले अहिल्यै चढाइ नगरेता पनि चतुर्मासपछि लडाइँ गर्न नआइछोड्दैन। भोट हान्नलाई बाटो दियौं भने उनीहरूले हामीलाई केही गर्दैनन्। बरू बाटो दिएको गुन मानी ६०/७० लाख रुपियाँ समेत दिन्छन्।' (पृष्ठ १९१)
नेपालले अत्यन्त कच्चा कूटनीति बोकेर यस्तो चिठी लेखेको बुझिन्छ। किनभने अंग्रेजले कतै पनि भोट हान्नलाई बाटो मागेको पत्र पुस्तकमा उल्लेख छैन। यो कुरा बुझेर नै चीनले निकै कडा दनक दिएर नेपाललाई पत्र पठाएको रहेछ। अंग्रेजलाई देखाएर हामीसँग माग्ने भन्दै चीनका तर्फबाट लेखिएको एउटा पत्रको अंश यस्तो छ
'…अंग्रेजसँग लड्न बल नपुगी यस्तो लेख्दा चीनले पत्यार गर्ला र सहयोग देला भनी चीनको चलन नजानी तिमीहरूले कुरा बनाई लेखेको रहेछ भने केरुङ र कुतीको बाटो दुईतिरबाट हाम्रो लस्कर ल्याई, दक्षिणतिरबाट फिरंगीलाई पनि डाकी हान्न लगाई, चारैतिरबाट घेरी तिम्रो मुलुकलाई एक छिनमा भस्म पारौंला। …' (पृष्ठ २४९)
वास्तवमा भूराजनीतिमा नेपालको कूटनीति अहिले पनि यस्तै यस्तै कच्चा देखिन्छ। यताका कुरा उता र उताका कुरा यता गरेर सकेसम्म धेरै माग्न सकिन्छ कि भन्ने मनोग्रन्थीबाट नेपाल अझै मुक्त हुन सकेको देखिँदैन।
बुकहिल प्रकाशनले बजारमा ल्याएको 'मुकाम रणमैदान' कृति २८६+१८ पृष्ठको छ। सङ्ग्रहनीय र पठनीय यो कृतिले नेपालको हारेको एक तिहाइ भूमिको इतिहासलाई सन्तुलित र तथ्यगत हिसाबले प्रस्तुत गरेको छ। एक शीर्षकको पाठ सकिएपछि अर्को शीर्षकको पाठमा प्रवेश गर्नका लागि सर्जकले सूत्रधारका रूपमा पाठकलाई बल्छी लगाउँदै तान्न सफल भएका छन्।