म व्यावसायिक समालोचक होइन। साहित्यमा रूचि राख्ने सचेत पाठकसम्म हुँ। मलाई समालोचनाका सिद्धान्तहरूको रौँचिरा विभाजनबारे उतिविधि ज्ञान छैन। त्यसैले यी पङ्तिहरू सामान्य पाठकीय अनुभूतिमात्र हुन् भन्दा हुन्छ। साहित्य जीवन र जगतभन्दा बाहिर रहन्छ भन्ने मलाई लाग्दैन। गोविन्दसिंह रावतको भनाइमा 'साहित्य जीवनको कलात्मक अभिव्यक्ति हो।'
साहित्यका विविध विधामध्ये उपन्यास सबैभन्दा सशक्त र लोकप्रिय विधा हो। जिम्मेवार साहित्यले समाज र राष्ट्रका विकृति, विसङ्गति र अन्याय–अत्याचारलाई उदाङ्गो मात्र पार्दैन त्यसविरूद्ध विद्रोहको उद्घोषसमेत गर्दछ।
नेपाली साहित्यमा रूचि राख्ने सबैले प्रकाश तिवारीलाई कुनै न कुनै रूपमा पढेको हुनुपर्छ।
कथा, कविता, नियात्रा, समालोचना, निबन्ध लगायतका विधामा लामो समयदेखि कलम चलाउँदै आएका उनी यतिखेर ‘९६ गड्डी’ नामक चौथो औपन्यासिक कृतिसहित पाठकमाझ उपस्थित भएका छन्।
मेरो जानकारीमा रहेसम्म ज–जसले ‘९६ गड्डी’ पढेका छन्, सकारात्मक प्रतिक्रिया दिएका छन्।
उपन्यासकारकै शब्दमा भन्दा ‘९६ गड्डी सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रको कथा हो। यो शक्ति र धनको अगाडि नतमस्तक हुने नेपाली सांस्कृतिक गाथा पनि हो।’
उपन्यास ४६ सालको जनआन्दोलन आसपासबाट आरम्भ हुन्छ। जनआन्दोलनको भट्टीबाट खारिएका विज्ञान, राजीव र कुमुदा, त्यति बेलाका जुझारू विद्यार्थी नेता हुन्। उपन्यासमा विज्ञान र कुमुदा वामपन्थी पृष्ठभूमिका अनि राजीव प्रजातान्त्रिक धारको विद्यार्थी नेताको रूपमा देखाइएको छ। आन्दोलनमा भएको प्रहरी दमनमा परी कुमुदाको मृत्यु हुन्छ। कुमुदा विज्ञानकी प्रेमिका पनि हो।
स्नातकोत्तर अध्ययनको समाप्तीपछि कस्तो पेशा, व्यवसाय अँगाल्ने भन्ने दुविधाकै बीच राजीव र विज्ञान निजामती सेवामा प्रवेश गर्छन्। निजामती सेवा प्रवेशपछि पनि विज्ञान भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको आदर्शलाई बिर्संदैन। विद्यार्थी कालमा बोकेका आदर्शहरूलाई कार्य रूपमा उतार्ने भरमग्दुर प्रयत्न गर्दछ। त्यसो गर्दा कार्यालयका अन्य कर्मचारी र ऊबीच द्वन्द्व सुरू हुन्छ। आजभोलि गर्दागर्दै द्वन्द्व उत्कर्षमा पुग्छ। फलतः ऊ चौतर्फी घेराबन्दीमा पर्छ। सबैतिरबाट एक्लो बनाइन्छ। घेराबन्दी र एक्लोपनका कारण विज्ञान पनि बिस्तारै खाने खुवाउने बाटो समात्न बाध्य हुन्छ।
कालान्तरमा स्वच्छ र इमानदार विज्ञान भ्रष्टाचार रूपि दलदलमा नराम्ररी फस्न थाल्छ। अनि एक दिन ९६ लाख रुपैयासहित रंगेहात पक्राउ परी जेल जान्छ। उपन्यास ‘९६ गड्डी’ को मूल चूरो यही हो।
मानिस जन्मँदै भ्रष्ट भएर जन्मिँदैन। ऊ ठूलो भएपछि कस्तो हुने भन्ने कुरा उसको शिक्षा दिक्षा, सामाजिक परिवेश, परिवार इष्टमित्र सरसंगत लगायतले निर्धारण गर्छ भन्ने कुरालाई उपन्यासले देखाउन खोजेको छ। उपन्यास पढ्दा सामाजिक यथार्थमा आधारित, सनसनीपूर्ण र मनोरञ्जनात्मक चलचित्र हेरेको महसुस हुन्छ।
जनआन्दोलनको क्रममा सहादत प्राप्त गरे पनि कुमुदा विज्ञानको मन मस्तिष्कमा निरन्तर छाइरहन्छे। ऊ विज्ञानको सपनामा आउँछे अनि लोकतान्त्रिक मूल्यमा आधारित भ्रष्टाचार मुक्त नेपाल निर्माणको वाचा–कसम नबिर्सन सजग गराइरहन्छे।
उपन्यास ९६ गड्डीका मूल पात्र विज्ञान, राजीव, कुमुदा, सामना र एसएसपी आलोक हुन्। सामना साहसी र लडाकु मात्र होइन चतुर एवम् साहसी पनि छे। साहस र चतुर्याइँको बलमा उसले डन चमनलालसँग प्रेम–रोमान्सको कृत्रिम ब्यूँह रच्छे, विज्ञानलाई रङ्गेहात पक्राउने रामनारायण नाम गरेको व्यवसायीको गालामा चड्कन वर्षाउँछे। सामनालाई अलग गरिदिने हो भने उपन्यास नून बिनाको तरकारी जस्तो हुन पुग्छ।
उपन्यासको अर्को सशक्त पात्र निडर, स्वाभिमानी र इमानदार प्रहरी अधिकृत एसएसपी आलोक हो। ऊ कस्तै परिस्थितिमा पनि भ्रष्ट र अपराधीहरूसँग सम्झौता गर्दैन। सत्य, न्याय र सुशासनको पक्षमा चट्टानझैं खडा हुन्छ। त्यसै कारण ऊ वृत्तिविकासमा पछि पर्छ। अधिकांश समय पश्चिम नेपालको विकट पहाडी जिल्लामा सरूवा गरिन्छ। एसएसपी आलोकले भोग्नुपरेको नियति वर्तमान नेपालको यथार्थसँग मेलखाने खालको छ।
उपन्यासकारले आलोकमार्फत् कर्तव्यनिष्ट र इमानदारहरूमाथि समाज–व्यवस्था कुन हदसम्म निर्मोही हुन सक्छ भन्ने देखाउँदै सामाजिक संस्कृति र भ्रष्टाचारबीचको सहसम्बन्ध प्रस्तुत गरेका छन्। उपन्यासमा राज्य संयन्त्रको शिखर स्थानमा बस्ने मारफेल नामको हठी पात्र पनि छ। जसले विसंगति र भ्रष्टाचारलाई मलजल गरेको छ।
उपन्यासको अन्त्यतिर दार्शनिक दृष्टिले युक्त पेरिसको थिएटरमा ‘लुइ चौंधौका सन्तान’ नाटक हेर्दाको सन्दर्भ जोडिएको छ। त्यसले लोकतन्त्र राजनीतिक प्रणालीहरूमध्येको उत्तम प्रणाली हो र लोकतन्त्रको विकल्प एकतन्त्र हुन सक्दैन भन्ने सन्देश दिन खोजेको आभास हुन्छ।
कथामा जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि अभयदान पाउने, चतुर कर्मचारी गिरिधरीको पनि उपस्थिति छ। ऊ खाने–खुवाउने विद्यामा पारंगत छ। गिरिधरी भन्छ ‘नडराई छक्का दाउ हानौं विज्ञान सर! केही परे म छु। मैले पालेपोसेका धुन्धकारी ठाउँठाउँमा छन्। थोरै धुप, दीप, नैवेद्य चढाउनुपर्छ सबै मिल्छ!’ नडराई भन्छ ऊ।
उपन्यासमा भ्रष्टाचार छानबिन समितिको अध्यक्ष भै जाने चैतन्य प्रधान र समितिका अन्य सदस्यहरूले केही लाख रुपैयाँ र सुरा–सुन्दरीको मोहमा भ्रष्टाचारीलाई उन्मुक्ति दिने खालको प्रतिवेदन तयार पारेको रोचक तश्विर छ । साथै भ्रष्टाचार नियन्त्रणको जर्जियाली मोडलको सन्दर्भ पनि जोडिएको छ।
उपन्यासमा सुशीलाको हत्यारा पत्ता लगाउन सामनाले ठमेल नाइट क्लबमा काम गर्न थालेको सन्दर्भ पनि आउँछ।
सामनाको नाइट क्लब यात्रा अति नै रोमाञ्चक छ। त्यो जति रोमाञ्चक छ, त्यति नै साहसिक र कौतुहलमय छ। कतिपय सन्दर्भमा यसले जासुसी फिल्म हेरेको झझल्को पनि दिन्छ। उपन्यासमा सामना र डन चमनलालबीच गीतैगीतमा दोहोरी चलेको प्रसङ्गहरू छन्।
उपन्यासमा केही कमीकमजोरी पनि देखिन्छन्। अन्त्यतिर पुगेपछि लेखकलाई कथा टुङ्ग्याउन हतार भएको आभास हुन्छ। कथा खरायो गतिले अघि बढ्छ। लेखकले विज्ञान आचार्यको पतनको रफ्तार तीव्र बनाएका छन्। राज्य संयन्त्रको सर्वोच्च स्थानमा बस्ने भनिएको मारफेलको चरित्र चित्रण अधुरो छ। अण्डरवर्ल्ड बादसाह भनिएको बमबहादुरलाई केही नहुनु तर उसकै निर्देशनमा काम गर्ने चमनलाल चाहिँ मारिनु, अलि अमिल्दो लाग्छ।
त्यति हुँदाहुँदै, उपन्यास ‘९६ गड्डी’ प्रकाशनको प्रारम्भिक दिनहरूमै पाठकको रोजाइमा परेको पाइएको छ। उपन्यास पढ्न थालेपछि छोड्न मन पटक्कै लाग्दैन। आरम्भ जति सुन्दर छ, अन्त्य त्यति नै आकर्षक महसुस हुन्छ। पाठकमा यसपछि के होला? भन्ने उत्सुकतामा निरन्तर जागिरहन्छ। यो नै लेखकको सफलता हो। यसलाई लेखनमा हुनुपर्ने वास्तविक गुण भन्न सकिन्छ।
उल्लेखित विभिन्न अर्थमा प्रकाश तिवारीले उपन्यास ‘९६ गड्डी’ मार्फत् नेपाली साहित्य फाँटमा सुन्दर र पठनीय कृति उपलब्ध गराएकोमा दुईमत हुने ठाउँ छैन। उपन्यास राजनीतिकर्मी, कर्मचारी, भ्रष्टाचार विरोधी अभियन्ता–संघ–संस्था, प्रहरी सेवामा संलग्न राष्ट्रसेवक, युवा वर्ग सबैले पढनुपर्ने खालको छ।
२८३ पृष्ठ र मूल्य रु. ५९५।– रहेको प्रस्तुत उपन्यास पैरबी बुक हाउस प्रालिले असोज १६ गते बजारमा ल्याएको हो।