किताबहरू काठमाडौंबाट प्रकाशन भएमा अब्बल तर मोफसलबाट प्रकाशन भए निरीह!
काठमाडौंबाट प्रकाशन भएर ठूलै विज्ञापन र तामझामको प्रचार भएमा गुदी नभएका किताबले पनि बजार पिटेकै हुन्छन्। काठमाडौंको हल्लाखोरबाट किताब निकाल्नेहरू आफूलाई कथित पहिलो दर्जाको लेखक ठान्दा हुन्। तर कतिपय सर्जकहरू यस्ता पनि छन् जो मोफसलमा बसेर आफ्नै खर्चले गहन अध्ययन, अनुसन्धान गरेर किताब प्रकाशन गर्छन्।
सहरको सतधजसँग उनीहरू सरोकार राख्दैनन्। हण्डी खाने लेखक र पत्रकारभन्दा पर बसेर आफ्नो साँझबिहानको तरकारी र चियाको खर्च जोगाउँदै किताब निकाल्छन्। यस्ता कथित दोस्रो दर्जाका लेखकमा पर्छन् इच्छाराम कट्टेल।
इलामको नामसालिङ (हाल माईजोगमाई गाउँपालिका वडा नम्बर ४) मा २०१९ सालमा जन्मेका इच्छाराम कट्टेलले २०७९ चैतमा 'सन्त बालागुरूको सङ्क्षिप्त जीवनी' प्रकाशन गरेका छन्।
यो कृतिले मूलतः दुइटा पाटोको उजागर गरेको छ। पहिलो पाटो इलामको पूर्वी क्षेत्र विशेष गरी नयाँबजारलाई केन्द्रमा राखेर समाजसेवामा जीवन बिताएका बालागुरूको जीवनीलाई पहिलोपटक विस्तृत रूपमा प्रकाशमा ल्याएको छ भने दोस्रो पाटोका रूपमा समग्र इलाम र पूर्वी क्षेत्रको विकासलाई आठ दशकदेखिको साक्षीका रूपमा नयाँ पुस्तालाई जानकारी दिएको छ।
भोजपुरतिर कतै जन्मिएर इलामको पूर्वी क्षेत्रमा रहेको क्षेत्र (हालको नयाँबजार) लाई केन्द्र बनाएर जीवन अर्पण गरेका बालागुरू एक जना तपस्वी, साधु, समाजसुधारक, अध्येता, ज्ञाता, अभियन्ता र विकासप्रेमी व्यक्ति थिए। उनको जन्म यकिन छैन। सामान्यतः उनको जन्म १९६३ सालमा भएको मानिन्छ। जैयनारायणका छोरा जयदेख भन्ने व्यक्ति बालागुरू हुन् भन्ने गरिन्छ।
कट्टेलको किताबमा पनि यही कुरा उल्लेख छ तर निश्चित गर्न नसकिएको पनि खुलाएका छन्। यसको अर्थ बालागुरूका बारेमा अझै धेरै खोज अनुसन्धान गर्न बाँकी छ। बालागुरूको जन्म कुन ठाउँमा भएको थियो भन्ने कुराको पनि यकिन छैन।
किताबमा तेह्रथुम, दिङ्ला, काठमाडौं अथवा भारतको दिल्ली हुन सक्ने अड्कल गरिएको कुरा लेखिएको छ। उनको मृत्यु २०२८ सालमा नयाँबजारमा भएको थियो।
किताबमा मुख्य गरेर बालागुरू इलाम आएपछिका तथ्यहरू भने तिथिमितिसहित उल्लेख गरिएको छ। बालागुरूले नयाँ बजार क्षेत्रमा १९९० सालभन्दा अगाडि पुगेर आफ्नो सम्पूर्ण जीवन त्यहीँ बिताएका थिए। नयाँ ठाउँमा पुगेका साधुले गरेको विकास निर्माण तथा समाज सुधारका तथ्यगत विवरण पुस्तकमा निकै मेहनतका साथ समेटिएको छ।
कृतिको पृष्ठ २२ देखि ५१ सम्म समेटिएको विषय सबैभन्दा महत्वपूर्ण छ।
'बालागुरूले गरेका प्रमुख सामाजिक कार्यहरू' शीर्षकमा लेखकले बालागुरूले तत्कालीन समयमा विकास निर्माणमा गरेका कार्यहरूको वर्णन गर्दै वर्तमान अवस्थाको तुलनात्मक अध्ययन गरेका छन्।
बालागुरूले गोदक र नामसालिङ जोड्नका लागि १९९० सालमै माइबेनीमा झोलुङ्गे पुल बनाएका थिए रे। त्यसपछि उनले २००८ देखि २०१४ सालको बीचमा जोगमाई खोलामा अर्को झोलुङ्गे पुल निर्माण गरेका थिए। राणा शासनको जगजगी भएको बेला १९९० मै निजी खर्चमा झोलुङ्गे पुल निर्माण गर्नु अपत्यारिलो जस्तो लाग्न सक्छ।
बालागुरूले बनाएको झोलुङ्गे पुल तर्नेहरू अहिले पनि इलाममा जीवितै छन्। लप्सिबोटेको पुछारमा रहेको साँघुवेशीमा बनाएको पुलको भग्नावेश त केही वर्ष अगाडिसम्म देख्न सकिन्थ्यो। अहिले त्यो भग्नावशेष हटाएर उक्त ठाउँमा पक्की पुल निर्माण गरिएको छ।
बालागुरूले झोलुङ्गे पुल कसरी बनाए भन्ने कुरालाई कृतिको २४ पृष्ठमा आकर्षक ढङ्गले लेखिएको छ।
उक्त पृष्ठमा यस्तो लेखिएको छः पुल निर्माण कार्य सम्पन्न गर्नका लागि उहाँसँग विविध किसिमका अप्ठ्यारा र चुनौतीहरू रहिरहेका थिए। तर पनि उहाँ पछि हट्नु भएन। आइपरेका चुनौतीहरूलाई पन्छाउन सकिन्छ भन्ने उहाँले अठोट गर्नुभयो। यही दृढ अठोटका साथ पुल निर्माण कार्यमा अग्रसर हुनुभयो। सर्वप्रथम उहाँले झोलुङ्गे पुल निर्माणका लागि तत्कालीन नेपाल सरकारमा रिपोर्ट पेश गर्नभयो।
तत्कालीन समयमा पुल निर्माणको आवश्यकता र अनुमतिका लागि गुरूले रिपोर्ट पेश गरेसँगै पुल निर्माणको कार्यलाई प्रारम्भ गर्नका निम्ति बालागुरू स्वयं खटिएर जनस्तरमा पुगेर आह्वान गर्नुभयो।
उल्लिखित दुई झोलुङ्गे पुलबाहेक बालागुरूले २०११ साल चैत १९ गते रामनवमीको अवसर बनाएर एउटा हाट बजार पनि स्थापना गरिदिए। उक्त बजारलाई त्रिभुवन नगर भनिन्थ्यो। यो बजारलाई २०१७ सालदेखि नयाँ बजार भन्न थालियो। हरेक मंगलबार हाटबजार लाग्ने हुनाले स्थानीय क्षेत्रमा यसलाई ‘मङ्गलबारे बजार’ पनि भन्ने गरिन्छ।
यो बजारमा हरेक वर्ष रामनवमी र बाला चतुर्दशीका दिन भव्य मेला लाग्ने गर्छ। यही बजारको नामबाट पञ्चायती व्यवस्थामा उक्त क्षेत्रको नाम नयाँ बजार गाउँ पञ्चायत रहेको थियो भने पछि नयाँ बजार गाविस रहन गयो। हाल यो माईजोगमाई गाउँ पालिकाको केन्द्रका रूपमा रहेको छ।
७० वर्ष अगाडिसम्म हालको सहरउन्मुख नयाँ जबार घनाजङ्गलले ढाकेको भूभाग थियो। उक्त क्षेत्रमा बाघभालु लाग्ने र एक्लैदुक्लै हिँड्न नसक्ने अवस्था रहेको उक्त क्षेत्रका प्रौढ व्यक्तिहरूले अहिले पनि बताउने गरेका छन्।
त्यस्तो जङ्गलमा तपस्या गर्न पुगेका एक जना साधुले स्थानीयसँग जग्गा मागेर बजार स्थापना गरिदिए। बजार स्थापनासँगै उनले तुम्लिङदेखि माईगंगासम्म गाडी गुड्ने सडक बनाएर जोर माइक घन्काउँदै गाडी ल्याएका थिए। यो पनि २०१२ सालकै कुरा हो।
यस बारेमा कृतिको ४३ पृष्ठमा यसरी उल्लेख गरिएको छः बालागुरूले तुम्लिङदेखि माइबेनीसम्म 'माईगंगा मूलबाटो' सडक निर्माण गराउनुभयो। यो सडक उहाँकै सक्रियतामा निर्माण भएको हो। उहाँले पहाडी भेगको घनघोर जङ्गल, भीरपाखा, खोल्साखोल्सी तथा खोँचहरूको समेत वास्ता नगरी सडक निर्माण गराउनुभयो। यो सडक निर्माण गर्न सके नयाँबजार र त्यसवरिपरिका क्षेत्रहरूलाई थप सुदृढ र व्यवस्थित गराएर पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ, व्यापार व्यवसाय एवं वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिन्छ भन्ने दीर्घकालीन सोच गुरूलाई भयो। तसर्थ उहाँले २०१२ सालमा तुम्लिङदेखि माईगंगासम्म करिब ३० किलोमिटर मोटरबाटो सञ्चालन गर्नका निम्ति एक बृहत् अभियान चलाउनुभयो।
पूर्वाधार विकाससँगै बालागुरूले नयाँबजारमै एक विद्यालय पनि स्थापना गरेका थिए। २०११ सालमा स्थापित उक्त विद्यालयको नाम श्री स्वयम्भू सिद्ध पाठशाला रहेको थियो। हाल अमरकल्याण माविका रूपमा यो विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म अध्यापन हुने गरेको छ। यसैगरी बालागुरूले नामसालिङमै पानीको हिटी बनाएर खानेपानीको प्रबन्ध पनि गरेका थिए।
आजभन्दा लगभग सात दशक अगाडि उनले गरेका उल्लिखित कामहरू केही प्रतिनिधि मात्र छन् जुन अपत्यारिला लाग्छन्। आफ्नो निजी खर्च र चन्दा सङ्कलन गरेर उनले सरकारले गर्न नसकेका विकास निर्माणका काम गरेका थिए। झोलुङ्गे पुल निर्माण, सडक निर्माण, विद्यालय स्थापना, बजार स्थापना लगायतका विषय वर्तमान समयमा कुनै एउटा पालिकाले समेत एक कार्यकालमा गर्न नसक्ने योजना हुन्। उनी त साधु थिए। उनका न कुनै आफन्त थिए न कुनै स्वार्थ नै। आफू जन्मिएको ठाउँदेखि धेरै टाढा जहाँ उनलाई कसैले पनि चिन्दैन थिए, त्यस्तो ठाउँमा गएर विकास निर्माणको अद्भुत परिचय दिनु आफैंमा अलौकिक जस्तै थियो। हिजोआज संसद विकास कोष, राष्ट्रिय योजना आयोग, स्थानीय सरकार, अथवा कुनै पनि अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले पनि एउटा क्षेत्रमा यत्तिका विकास निर्माण गर्न सक्दैन।
उक्त समयमा झोलुङ्गे पुल निर्माण गर्न कति चुनौती थियो भन्ने कुराको कल्पना गर्न सकिन्छ। फलामाका लठ्ठा तानेर लानु पर्ने, भारतबाट प्राविधिक ल्याएर काम लगाउनु पर्ने, त्यसका लागि स्रोत र साधन जुटाउनु पर्ने। ओहो अहिले जस्तो विभिन्न प्रविधिको विकास भएकै थिएन। धेरै काम श्रमदानबाट मान्छेका हातैले गर्नुपर्थ्यो। फलामाका लठ्ठा तान्दै पुल निर्माणस्थलमा पुर्याउनु पर्ने थियो। सिमेन्टको व्यवस्था गर्नु पर्ने थियो। ती सबै काम उनले गरे। त्यो पनि राणा शासनकै समयदेखि।
एउटा व्यक्तिको अभियानले त्यसरी काम सफल हुनुका पछाडि के हुन सक्छ भनेर हामीले समीक्षा गर्न आवश्यक छ। अहिलेजस्तो लोभीपापीको समय थिएन त्यो बेला। साधुको निस्कपट समाजसेवामा कसैले पनि भ्रष्टाचार गर्ने कुचेष्टा गर्दैनथ्यो। बाहिरबाट आएको साधुले त यतिका काम गरेको छ भने हामीले आफ्नै ठाउँका लागि किन केही नगर्ने भन्ने हुटहुटीले स्थानीयहरू श्रमदानमा जुटेका हुन सक्छन्। यसको मतलब के हो भने बालागुरू चेतनाका खानी थिए। उनले मान्छेलाई शिक्षाको महत्व, समाजको महत्व, विकासको महत्व, स्वास्थ्यको महत्व, भावी सन्ततीका लागि सुखसुविधाको महत्व सिकाए। तब न यी उपलब्धिहरू संभव भयो। अहिले हरेक वर्ष विकास निर्माणका नाममा बालुवामा पानी हालेजस्तो गर्छन् अनि उपलब्धि शून्यप्रायः हुने गरेको छ।
लेखकले बालागुरूको जीवनीलाई निकै मेहनत गरेर खोजी गरेका छन्। बालागुरूले तपस्या गरेका स्थलहरूको सर्जकले गहन खोज गरी वर्तमान अवस्था कस्तो छ भन्ने कुराको पनि जानकारी पस्किएका छन्। बालागुरूको तपस्या इलामको पूर्वी क्षेत्रमा मात्र सीमित छैन। उनी काठमाडौंको चोभारमा समेत पुगेर तपस्या गरेको कुरा किताबमा उल्लेख छ। पृष्ठ ७३ मा सचित्र उल्लेख छ 'शक्तिको उपसना गर्ने क्रममा बालागुरू इलाम जिल्लाभित्र रहेका तीर्थस्थल तथा शक्तिपीठहरूमा मात्र सीमित नभएर उहाँ जिल्ला बाहिर रहेका शक्तिपीठहरूमा समेत पुगेर दर्शन गर्नुभयो। यसरी विचरणका क्रममा उहाँ काठमाडौंस्थित श्री पशुपतिनाथ, गुहेश्वरी आदि तीर्थस्थलहरू हुँदै उहाँले चोभार क्षेत्र र त्यस वरपर रहेका तीर्थस्थलहरूमा समेत पुगेर दर्शन गर्नुभयो। बालागुरू कीर्तिपुर नगरपालिका वडा नं ७ बागमती नदी किनारछेउ सुन्दरीघाट छेउमा रहेको श्री स्वास्थानी मन्दिरमा लामो समयसम्म रहनुभयो।'
बालागुरूको इलाम आगमनदेखि मृत्युसम्मका सबै घटनालाई सकेसम्म नछुटाइकन लेखिएको 'सन्त बालागुरूको सङ्क्षिप्त जीवनी' १४० पृष्ठको छ। कृतिमा बालागुरूसँग सम्बन्धित रङ्गिन फोटो पनि राखिएको छ। लेखक आफैँले प्रकाशन गरेको यो कृतिको मूल्य व्यक्तिगत ५२५ र संस्थागत ७०० रुपैयाँ रहेको छ।
यो कृति सम्बन्धित पालिका अथवा सरकारी कोषबाट प्रकाशन हुनुपर्ने हो। यस्ता कृतिलाई व्यावसायिक प्रकाशन गृहले छापेर बजारमा लाने त्यति जाँगर देखाउँदैनन्। बजारमा सनसनी मच्चाउने र मोटो रकम कमाउने आशाले बल्छी थापेर बसेर प्रकाशन गृह दुरदराजका गाउँमा पुग्नु असम्भव प्राय: छ। तै पनि बालागुरूले आजीवन योगदान दिएको हालको माईजोगमाई गाउँ पालिकाले कमसकेम यो कृति आफ्नो खर्चमा प्रकाशन गरेको भए पालिकाको इज्जत बढ्ने थियो।
अझ पालिकाले आफ्नो खर्चमा बालागुरूसँग सम्बन्धित तथ्यहरुको खोज अनुसन्धान गर्न अझै आवश्यक छ। लेखकले व्यक्तिगत पैसा र समय खर्च गरेर गरेको अनुसन्धान प्रशंसनीय छ। अझै पनि गाउँपालिकाले लेखकलाई पारिश्रमिक दिएर थप खोजअनुसन्धान गरी यो कृतिलाई थप विस्तृत रूपमा प्रकाशन गरेमा इतिहासको संरक्षण हुने कुरामा दुई मत रहँदैन।
लेखकले कृतिको अन्तिममा निकै महत्वपूर्ण सुझाव दिएका छन्। ती सुझावलाई स्थानीय सरकारले गहन रूपमा अध्ययन गरेर कार्यान्वय गरे मात्र पनि बालागुरूप्रति सच्चा सम्मान हुने थियो अनि आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै आर्थिक विकास गरेर पालिकाको काँचुली फेर्न सघाउ पुग्ने थियो। जता पनि कमिसन, भ्रष्टाचार, अनियमिततामा र्याल काड्ने बानी परेको राजनीतिक संयन्त्रले प्राज्ञिक अनुसन्धानलाई कहिल्यै महत्व दिएको छैन। अब हेरौं इच्छाराम कट्टेलको प्रयासलाई स्थानीय सरकारले कसरी लिन्छ र आफ्नो लाज केले ढाक्छ कुन्नि!