'बाआमा' हातमा छ।
'ऐना' कथा संग्रहका लागि मदन पुरस्कार पाएका लेखक रामलाल जोशीको चौथो कृति हो 'बाआमा'।
सरसर्ति हेरेँ, सबै पढ्न भ्याएको छैन। बाह्रवटा शीर्षकमा कथाहरू छन्।
'बाबाको माया' पढेँ। मध्यरातमा आएका मुखुण्डोधारीले आमाछोरालाई खाँवामा बाँधेर बालाई सुराकी हौ भन्दै जिउँदै आगो लगाइदिएछन्।
प्रकाशकले 'बाआमा' सिर्जनात्मक आख्यान हो भनेका छन्। 'आमुख' मा लेखकले भनेका छन्, '...म त्यही सत्य कुरा भन्न आएको हुँ। भन्नलाई त म आफ्नै कथा भन्न आएको हुँ। तर विश्वास र यथार्थ नसुनीकन सत्य उद्घाटित हुँदैन...।'
किताबबारे लेखौंला कुनै दिन। आज चाहिँ मलाई रामलालकै बारेमा केही लेख्नु छ।
रामलाल शिक्षक थिए नेपाली भाषाका। विद्यालय र कलेजमा पढाउँथे उता धनगढीतिर। उनको गजल संग्रह 'हत्केलामा आकाश' छापिएको थियो २०५७ मै।
त्यसपछि २०७२ मा 'ऐना' आयो। त्यसै वर्ष हो मदन पुरस्कार गुठीले पुरस्कारका लागि पुस्तकहरूको सूची अग्रिम प्रकाशन गर्न थालेको।
'ऐना' सूचीमा पर्यो।
मोफसलका रामलालतिर पाठकहरूको नजर सोझियो र मेरो पनि।
'ऐना' मेलोमारी पढेपछि उनीसँग भेट्न मन लागेको थियो। मन लाग्दैमा अवसर कहाँ जुर्थ्यो र!
सात वर्षपछि केही दिनअघि छोटो भेट भयो।
रामलाल यति बेला 'बाआमा' लिएर पाठकमाझ उपस्थित छन्। 'ऐना' को तीन वर्षपछि 'सखी' उपन्यास दिए। सखीले थारू समुदायकी एउटी कमलरीको संघर्षको कथा भन्छ। थारू समुदायको संस्कृतिको बयान गर्छ। सखीले कथा मात्रै भन्दैन, सफलताको गाथा पनि गाउँछ।
'ऐना' रामलालले लेखेका कथाहरूको संग्रह मात्रै होइन, समाजको ऐना हो। सामन्त र टाठाबाठा हौं भन्ने थोरै घरपरिवार भएको तर गरिब र सिधासाधा मानिसहरूको बाहुल्य भएको बस्तीको कथा हो। कथाभन्दा बढी त्यस्तो समाजको चरित्र हो। कथा त रामलालले पो बनाएका हुन्।
ढिलै गरी सही, 'सखी' सँगै रामलाललाई पनि पढ्ने अर्को अवसर मिल्यो। उनको बेजोडको लेखनशैली अनि समाज र समाजको अलिखित भाव पढ्ने र कथा बुन्ने कलाले फेरि एकपटक पार्नुसम्म प्रभाव पार्यो।
रामलालको नजर, मन र मस्तिष्कले समाज कसरी पढ्छ! उनको हृदयको ऐनामा समाज कस्तो देखापर्छ! उनी जस्ताको तस्तै उतार्दा रहेछन्।
सुदूरपश्चिमको दुर्गम जिल्ला डोटीको एउटा विकट गाउँमा जन्मेहुर्केका रामलाल कसरी यति बेजोड लेखक भए! केले उनलाई लेखक बनायो! अचम्मकै कुरा त होइन तै पनि किनकिन मेरो मनमा यस्ता जिज्ञासा उठ्छन्।
केही दिनअघिको छोटो भेटमा मैले यही कुरा सोधेँ।
उनका बा हरिभक्त ज्योतिषी थिए। ज्योतिषीभन्दा बढी त जोगी थिए। जोसिलो उर्वर उमेरमा बिहे गरेनन्। पिठ्युँमा एउटा कुम्लो बोकेर घुमे। कयौंका चिना लेखे, चिना हेरेर भविष्य भनिदिए।
उनले आफ्नै भविष्यको भने मेलो पाएनन् कि कसो! खोइ, कसैको सल्लाहमा हो कि आफ्नै ब्रह्मको आदेशमा हो, उमेरले उत्तरार्द्धको बाटो हिँड्न थालेपछि मात्रै बिहे गरे। रामलालका अनुसार पचपन्न हाराहारीका हुँदा हुन्।
अर्को वर्ष रामलाल जन्मे सत्र वर्षकी आमाको सन्तान भएर। रामलालपछि एक भाइ जन्मे। बहिनी त बा बितेको एक महिनापछि जन्मेकी हुन्। रामलाल सात वर्षका थिए।
बाआमाको दाम्पत्य जम्माजम्मी नौ वर्ष चल्यो। यसै पनि आर्थिक अवस्था उति राम्रो थिएन तर बाले धानेका थिए। बा बितेपछि ठूलो संकट आइलाग्यो।
त्यो विकट ठाउँमा नजिक स्कुल थिएन। कैलाली, अछाम र डोटीको संगममा पर्ने उनको गाउँ पुग्न सदरमुकाम सिलगढीबाट दुई दिन त मजाले हिँड्नु पर्थ्यो। त्यो समय यात्रा भनेकै हिँड्नु थियो।
बल्ल एघार वर्षको उमेरमा स्कुल जान पाए। पछि मावलीका सहारामा धनगढी झरेपछि पढाइमा अलिक सजिलो भयो।
पच्चीस वर्ष उमेर नहुँदै आइपरेको वैधव्यमा तीन छोराछोरी पाल्न र तिनलाई शिक्षा दिन आमाले भोगेको कष्टको बयान गरेर के साध्य चल्छ र!
आमा तुलसादेवीले हरेस खाइनन्। कस्तै कष्टले पनि उनलाई गलाएन। संघर्ष उनको जीवनको अभिन्न पाटो मात्रै होइन, गाथा बन्यो।
बाको एउटा कन्तुर थियो। ज्योतिषी बा त्यसमा पुराना पञ्चांग र ज्योतिष विद्याका केही किताब राख्थे, केही धार्मिक किताब पनि थिए।
सानै थिए, एक दिन रामलाललाई बाको त्यो कन्तुर खोतलखातल गर्ने विचार आयो। त्यसै गरे।
कन्तुरमा एउटा डायरी फेला पारे। डायरी पनि के भन्नु, एउटा कापी। कापीमा बाले केही कविता लेखेका रहेछन्। ससाना केही टिपोट रहेछन्।
कवितामा ध्यान गयो। 'विद्याकी रानी' शीर्षकको एउटा कविताले रामलालको ध्यान तान्यो। दोहोर्याई, तेहर्याई पढे। लोकलयमा थियो, पढ्दापढ्दै कण्ठस्थझैं भयो।
बाले लेखेको त्यो कविताबाट रामलाल कति प्रभावित भए भने सामाजिक शिक्षामा नेपाल–अंग्रेज युद्धसम्बन्धी एउटा पाठ थियो। उनले त्यो सिंगो पाठलाई कवितामा ढाले।
रामलाललाई आफूले गरेको यो काम निकै मन पर्यो। आफ्नो रूप हेरीहेरी आफैं पर्छु दंग भनेझैं भयो। यो बेला उनी चार कक्षामा पढ्थे।
यही घटनापछि हो रामलाल साहित्यतिर तानिएका। स्कुलले आयोजना गर्ने साहित्यिक गतिविधिमा सामेल हुन थाले। कलेजमा पनि यस्तै भयो। मन मिल्ने साथीहरू मिलेर एउटा साहित्यिक पत्रिका पनि निकाले।
कुरा २०४५ सालको हो। राजाको जन्मोत्सवमा एउटा कविता सुनाए। प्रतियोगिता थिएन तर कुनै अतिथि खुब खुसी भएछन्, उनलाई दस रूपैयाँ पुरस्कार दिए।
आजको दिनमा दस रूपैयाँ पुरस्कारले नाक खुम्च्याउन पुग्ने भए पनि त्यो समय त्यसको मूल्य निकै थियो। रामलालका लागि साहित्यिक यात्राको गोरेटो खन्न पर्याप्त भयो।
जस्तै कष्टका दिनमा पनि रामलालको पढाइ रोकिएन। देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको समयमा २०६१ सालमा नेपाली भाषामा स्नातकोत्तर गरे। यतिन्जेल उनले आफ्नो साहित्यिक सम्भावनाको भरपूर परिचय पाइसकेका थिए। असीवटा गजलको संग्रह छपाइसकेका थिए।
गरीखाने मेलो खोज्दै रामलाल उतै धनगढी पुगे। पढाइमा अब्बल थिए, परीक्षाको नतिजा राम्रो थियो। स्कुल र कलेजहरूमा पढाउन पाए। आर्थिक अवस्था सुधार हुँदै गयो। आमाको मनमा पनि सन्तोषको बास हुन थाल्यो।
रामलाललाई लेख्ने बानी परिसकेको थियो। उनी समाज पढ्न र समाज नै लेख्न चाहन्थे। उनले त्यसै गरे। सुदूरपश्चिमको समाज पढे। त्यहाँका भाव र भंगिमा नियाले। यसैलाई कथानकमा ढालेर लेख्यमा बदले। यही लेख्य कथा बन्दै गयो। रामलाल कथाकार भए, उपन्यासकार भए। गजलकार त छँदै थिए।
धनगढीमा पढाउँदै 'ऐना' लेखे। ऐनाले मदन पुरस्कार दिलाएपछि रामलालको बाटोले घुम्ती लियो। साहित्यिक गतिविधिमा व्यस्त बनायो। पाठकहरूले उनको लेखनशैली मन पराए।
श्रीमती पनि शिक्षण पेसामा स्थायी भइन्। अहिले धनगढीमा पढाउँछिन्। शिक्षक श्रीमतीले पनि साहित्यकै यात्रा गर्न प्रेरित गरिन्। अन्ततः रामलालले आफ्नो बाटो निर्धारण गरे। शिक्षण पेसा त्यागेर पूर्णकालीन लेखक हुने निर्णयमा पुगे।
स्कुल, कलेजमा पढाउँदाको आम्दानी राम्रै थियो होला। शिक्षण पेसा त्याग्ने निर्णय लिन कठिन भएन त?
रामलालले धेरै सोचे। 'ऐना' ले उनलाई राम्रै आम्दानी दियो। लेखनको रूचि झन् झन् बलियो हुँदै गयो। साहित्यिक गतिविधिमा सहभागी हुन, लेखनका लागि नयाँ आयामहरू पहिल्याउन र पूर्णकालीन लेखन हुन शिक्षण छाड्नै पर्छ भन्ने निष्कर्ष निस्क्यो।
'ऐना' ले जस्तै 'सखी' ले पनि ऊर्जा दियो। 'बाआमा' प्रति पनि उनलाई पूर्ण भरोसा छ।
रामलाल ढुक्क छन्। उनलाई शिक्षणबाट वर्षभरिमा हुने आम्दानी बराबर त लेखनले पनि दिएकै छ। फेरि पनि पैसा ठूलो कुरा हो तर सबै थोक होइन। लेख्नु आफ्ना लागि मात्रै होइन, सामाजका लागि हो। त्योभन्दा बढी त देशका लागि हो।
अब रामलाललाई लेखेर बाँच्नु मात्रै छैन, लेख्नलाई मात्रै लेख्नु छैन, नलेखिएका धेरै कथा लेख्नु छ। बाँच्न त पैसा कमाउने अर्को कुनै पेसा गरे पनि हुन्छ।
एउटा साहित्यिक लेखकका रूपमा रामलालाई ती मुद्दा उठाउनु छ जो आजसम्म मुद्दा बनेनन् वा मानिएनन्। यस मानेमा 'ऐना' कथा संग्रह मात्रै होइन, सामाजिक मुद्दाहरूको अभिलेख पनि हो।
'बाआमा' नयाँ कृतिका रूपमा आएको छ, एउटा कालखण्डको मुद्दा लिएर आएको छ। रामलाल अठ्चालीस वर्षको उमेरमा हिँड्दै छन्। पठनीय साहित्यक लेखनमार्फत समाजका मुद्दा ऐनाझैं पाठकमाझ राखिदिनु उनको ध्येय हो।
बस् यात्रा यही धेयका लागि हो नाम ऐना, सखी वा बाआमा जे रहोस्।