राजेन्द्रसँग चिनजान नै अलिक अनौठो भयो। आजकाल लेखकलाई निकै सजिलो छ। लेख छाप्न अनेकौं अनलाइन माध्यमहरू लाइनमा छन्। साहित्यिक लेखकले पनि पत्रिकाको शनिबार कुर्नु पर्दैन। लेख पठाएर छापिन्छ कि छापिँदैन, कहिले छापिन्छ इत्यादि तुरून्तै जानकारी लिने सुविधा छ। तिम्रोमा छापिँदैन वा ढिलो हुन्छ भने अर्कोमा दिन्छु भने भइहाल्छ।
आहा! अपरिचित राजेन्द्रमान डंगोलले पठाएको नियात्रा लेख कति राम्रो!
आजै, नभए भोलि नै छाप्न पाए हुन्थ्यो!
शनिबार आउनै लाग्यो, शनिबार छाप्न पाए हाम्रो एउटा आवश्यकता पूरा हुन्थ्यो। जसले पनि हेर्ने त आफ्नै आवश्यकता न हो, शनिबार कुर्ने नै हो।
यही मेसोमा भेट जुरेथ्यो राजेन्द्रसँग माधवमार्फत। चिया पिउँदै एकार्काप्रति स्पष्ट हुनु परेथ्यो।
राजेन्द्रको नयाँ कृति आयो, नियात्रासंग्रह ‘पैतालमा हिउँ आँखामा हिमाल’।
किताब पढ्नमा म ढिलै छु। नियात्रा मेरो रोजाइको विधा होइन। पढ्दै नपढ्ने पनि होइन। कति नियात्राले त तर्साइदिएका छन्। पाना पल्टाउँछु, पढ्ने प्रयास गर्छु, बन्द गर्छु फेरि पढ्ने प्रयास गर्छु।
कुनै समयमा कतै पढेको थिएँ– यसो हेर्छन्; चित्त बुझ्दैन; अनि केर्छन्;.... कठैबरा, बिचरा भूपी शेरचन!
म पनि थाहा पाउँदिनँ, कक्षा नौको विद्यार्थीले परीक्षामा लेखेको दैनिकी पढ्दै छु कि कुनै लेखकको नियात्रा!
नेपाली लेखकमध्ये थोरै नियात्राकारका कृतिले मात्र मेरो मन तानेका छन्। तिनै थोरैमध्येका एक हुन् राजेन्द्र। गद्य कविताले पनि हतपत तान्दैन, त्यसैले निकै कम पढ्छु। पढेँ भने अलिक गहिरिन मन लाग्छ; कविता सिद्धान्त, शब्द र भावका दृष्टिले। जब कुनै गद्य पाठ गद्य कविता जस्तो हुन्छ तब पढ्न हौसिन्छु।
राजेन्द्रको एउटा निबन्धबाट मैले केही हरफका वाक्य पूर्णविरामबाट टुक्रा गरेर यसरी राखेँ भने गद्य हुन्छ कि गद्य कविता!
हामी सुँघ्छौं गोब्रेसल्लो र धूपीको मीठो वासना
ओढ्छौं, राष्ट्रिय फूलको छहारी
पुग्छौं उच्चपहाड, पहाडहरूकै श्रेणी चढ्दै
वरपर सर्छन्, हिजोअस्ति आफैंले टेकेका पहाडका धारहरू
रोकिन्छौं, युरिनडाँडाको बार्दली पुगेर
आहा! क्या सानदार दृश्य हिमशृंखलाको!
क्या अनमोल सिर्जना प्रकृतिको!
यस्ता काव्यिक बुनोटहरू पानैपिच्छे भेट्छु। आधाभन्दा बढी त उद्धरणका रूपमा प्रयोग गरूँजस्ता।
पाठकका लागि अर्को एउटा दृष्टान्त– हिउँलाई टाढाबाट हेर्नु, सुमसुम्याउनु, खेल्नु र महसुस गर्नु एउटा कुरा। हिउँसँग संगत गर्नु नितान्त अर्कै कुरा। हो, हिउँ भोग्न हिउँसित संगत गर्नै पर्छ। अझ हिमालमै बस्नु पर्छ। अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता...।
यहाँ लेखन शिल्पको वैशिष्ट्यमात्रैको के कुरा, त्योभन्दा बढी त हिमाली जीवनको मूर्तचित्र देखेँ।
मेरो विचारमा छोटा वाक्य लेख्न सक्नु लेखनको परिष्कृत शिल्प हो। अभिव्यक्तिको मेसो र पदसंगति गडबड नगरी लामा वाक्य लेख्नु झन् बढी परिष्कृत शिल्प ठान्छु, राजेन्द्रलाई यता रूचि छैन क्यारे!
लामो वाक्य एक्काइस शब्दसम्मको भेटेँ– एउटा अभिशप्तले झैं सम्पूर्ण व्यथालाई छातीभित्र गुम्स्याएर बस्न लाचार म र म जस्तै कैयौं श्रमजीवी उनीहरूकै ताण्डव नृत्य हेरिरहन विवश छौं।
अरू पनि होलान् यस्तै लामा तैपनि एक्काइसभन्दा बढी त मुश्किल पर्ला।
नियात्रा लेखनमा स्थान विवरण केन्द्रमा हुने नै भयो। राजेन्द्र चाहिँ मानवसमाजमा, जीवजन्तुमा, बोटविरुवामा, हावामा, पाखापखेरामा, हिउँमा, भन्ज्याङमा, सिरेटोमा, पसिनामा अर्थात समग्र पर्यावरणमा भेटिन्छन्। तब न चिन्ता गर्छन् जामाचोका पुतलीको!
उनको यात्रामा कतै ‘बैंसालु घाम’ लाग्छ त कतै ‘चकचके चरा’ देखिन्छ। कतै ‘प्रेमिल बतास’ चल्छ अनि कतै त्यस्तै ‘बतासको झापड’ सहनु पर्छ। कतै चाहिँ ‘रूपौलो बादलले सुन्दर जवानी’ फिजाउँछ। आहा! क्या वर्णन!
साँच्चै हो राजेन्द्र! पर्यटनका नाममा हामीले निकुञ्जको अस्मिता लुटेकै छौँ, सवारी साधनको धुवाँ र तिनले उडाएको धुलोले पुतलीको हालत जेसुकै होओस्, कसलाई मतलब! जन्तुहरू त्राहिमाम हुनुसँग उनीहरूलाई लिनु न दिनु!
यस्तै कारणले त हो राजेन्द्र हाम्रो प्रकृतिको अधोगति भएको!
धन्य! लाँकुरी भन्ज्याङको चौतारामा सूर्यचन्द्र अंकित द्वित्रिकोणात्मक सुन्दर झण्डा फहराएको देख्न पाएछौ।
परिवर्तन गर्न खोज्नेलाई हाम्रो परम्परागत झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व के मतलब!
जहाँ जाऊन् त्यहाँको इतिहास, संस्कृति र किंवदन्ती केलाउनु राजेन्द्रको खास विशेषता हो क्यारे! कतै त पुरातात्विक खोजका लागि पनि प्रेरणा सिर्जना गरेको देख्छु।
हो नि राजेन्द्र! हाम्रा पुर्खाहरूको दीर्घकालीन सोचकै कारणले चौतारी र वरपीपलका जोडी युगयुगसम्म बाँचेका; जरामा ब्रह्मा, काण्डमा विष्णु, टुप्पामा शिवले बास गरेका।
राजेन्द्रजस्ता लेखक छन् र त अझै आशा गर्ने ठाउँ छ!
हाम्रोतिर लुगा सिउने मान्छे दर्जी हुन्थ्यो, नार–फुमा तीर हान्ने पर्व हुँदो रहेछ। मुक्तिनाथमुनिको दोभान कागबेनी भनेको सुन्छु, लेखेको देख्छु। आफ्नै आँखाले देखेको छु, त्यहाँको पवित्र पानीले आफूलाई सेचन गरेको छु। राजेन्द्रले कागवेणी पनि लेखेका छन्। यता काठमाडौंमा खुसिबु देख्छु, राजेन्द्र खुसिबुँ लेख्छन्।
राजेन्द्र नेपालका पहाडी थुम्काथुम्की र डाँडाकाँडाका उचाइका ज्ञाता नै हुन् क्यारे!
कुटुम्साङ पुगुन् कि याङ्ग्री पिक वा दोर्जे लाक्पाको र नीलगिरिको पारिपारि हिँडून्, राजेन्द्रले त्यहाँको उचाइ लेख्न छाडेका छैनन्। छ हजार मिटरभन्दा थोरै अग्लो जोङ रि होओस् कि त्योभन्दा अलिक होचा काङ् ला फेदी र चोगो ला होऊन् वा झन् होचो ठाउँको घार गुम्बा नै किन नहोओस्, आफू पुगेका ठाउँको उचाइ नलेखे त उनको नियात्रा अधुरो हुँदो हो।
हर्क गुरुङकृत ‘मैले देखेको नेपाल’ सम्झाउँछन् राजेन्द्र।
दुई हजार मिटरभन्दा होचो सिराइचुलीको उचाइ पनि उनले छाडेका छैनन्। सोह्र सय मिटर उचाइबाट धेरै परपरसम्मका रमणीय दृश्य हेरेर अनन्दानुभूति गरे रे! उनीजस्ता अरू यात्रुले पनि गर्दा हुन्। लेख्ने थोरै हुन्छन्, कुरा यति हो। तब त राजेन्द्र मेरो जीवनका तीन लक्ष्य यात्रा, यात्रा र यात्रा हो भन्छन्। लेख्नलाई हिँड्छन्, हिँडेर लेख्छन्।
लोक साहित्य, धार्मिक साहित्य, युद्ध साहित्य भनेजस्तै पर्यटन साहित्य छ भने ‘पैतालामा हिउँ आँखामा हिमाल’ लाई नियात्रा किन भन्नु!
गद्यका अनुच्छेदमा कविता–काव्यको सुवास, निर्जन ठाउँको शान्त नदीको गतिशील पानीको जस्तो वहाव! तब न आयो गद्यमा काव्यिक धारा! यस्ता नेपाली लेखक अरू पनि छन् तर थोरै।
तब पो पढ्नु कुनै साहित्य। नियात्रा भनेर कोही किन पढोस् कसैको घुमघामको बयान।
नियात्रा जब औसत स्कुले विद्यार्थीको दैनिकी भएर उपस्थित हुन्छ तब मलाई कागजको नाशभन्दा बढी केही लाग्दैन। तब म किन पढूँ कसैको नियात्रा!
साहित्यका विधामा म लेखकको सौन्दर्य चेत र पठनको स्वाद खोज्छु। लेखक स्वतन्त्र देखियोस्, उसको कलमले भित्र कतै छोएको अनुभव होओस्। पात्र देखियोस्, सुनियोस् र पात्रता अनुभव होओस्।
राजेन्द्र नियात्रा, यात्रा साहित्य र पर्यटक निर्देशिका एकसाथ लेख्न सक्दा रहेछन्। पुग्न नसके पनि पुग्न मन लाग्ने, देख्न नपाए पनि देख्न मन लाग्ने, तब पो पढ्नु नियात्रा। राजेन्द्र लेख्न मात्रै होइन, पढाउन र लेखाउन पनि सक्दा रहेछन्। पढाउन र लेखाउन सक्ने पो लेखक!
पारसमणि प्रधानले भनेका–लेखेका हुन् क्यारे– कवि कविता होस्, कविता कवि होस् तब पो कविता हुन्छ, शब्द थुपारीकन के हुन्छ, भाव भए पो हुन्छ।
कुरो कविताको भए पनि साहित्यका सबै विधामा प्रस्तुतिको उत्कृष्ट कौशल होओस् न, तब पो पढ्नु!
समयको खेल हो, बिपी राजमार्गको रिठ्ठे भीर ऐनाडाँडा भयो। त्यही रिठ्ठे भीरनेरको अर्को छेउ सेल्फी डाँडो भयो त मुस्ताङको मार्फा ‘एप्पल टुरिजम’ का रूपमा कसो नचिनिएला! भूपी शेरचनको गाउँ पो त! केही युवा व्यवसायीहरू कम्मर कसेर लागेका छन् स्याउ खेतीमा।
अर्को पाटो पनि छ। पढ्दै जाँदा हिँड्दाहिँड्दै कतै खुट्टाभित्र जुत्तामा बालुवा बिझाएजस्तो! नचाहिने भारी किन बोक्नु र बोकाउनु परेको होला! थोरै दृष्टान्त पेश गरूँ।
त्यो गाम्भीर्यले ता नझुन्ड्याएको भए कति राम्रो हुन्थ्यो! कान्छी श्रीमतीको मनले फिलिपको खुसीमात्रै टालिदिएको भए पनि हुने! मान्छेहरूले सुन्दर थाङ्कालाई भित्तामा नटाँसेर थाङ्कामात्रै टाँसेका भए पनि हुन्थ्यो। रोपाहारहरूले फरियामात्रै घुँडासम्म स्याहारेर माटोसँग प्रीति लाए होला भन्ठान्छु। माधवजीले पनि भीरमा फुलिरहेको शिरीषको बोटमात्रै देखाएको भए पर्याप्त भइहाल्थ्यो। माझीगाउँका माझीले सुनकोशीमा पीडामात्रै थन्क्याउन पाए पनि पनि पुगिहाल्छ।
होमस्टे हो कि होम स्टे सधैं अलमलमा पर्छु। सुख चाहिँ कसै गरे पनि छैन। होम स्टे लेखे नेपाली जिभ्रो होम् इस्टे पढ्छ। होमस्टे लेखे होमस् टे पढ्छ।
राजराजेश्वरी सती नगएकी भए पठाइएकी थिइन् होला! महाभारतकै भीमसेन हुन् भने यसो अनुमान गर्न खोज्छु, लाङटाङका लेकाली भीरभन्दा ठूलो काया भएका भीम कस्ता थिए होला!
यो संसारमा केमा को पारङ्त भएको छ र! खोट देखाउन सजिलो हुन्छ।
अकबरी सुनलाई कसी लाउनु पर्दैन तर त्यही सुन पनि कहाँ सुन मात्रै हुनु! नियात्रासंग्रह भन्दै माधवले अकबरी सुनको एक डल्लो हातमा राखिदिएछन्। उनैले चिनजान गराएका हुन् राजेन्द्रसँग। पढेर मज्जा आयो। साँच्चै पढेजस्तो भयो। धन्यवाद राजेन्द्र। तिम्रो नियात्रा यात्रा फुलोस्, फलोस् र त्यसले निक्खर स्वाद देओस्। हार्दिक शुभकामना!