यो आजभन्दा करिब २५० वर्षअघिको घटना हो, जति बेला पृथ्वीनारायण शाह विभिन्न राज्यहरू गाभ्ने अभियानमा थिए।
त्यति बेला पूर्वको लिम्बुवानमा सेन राज्य थियो तर त्यहाँका राजा कर्णसेन नाम मात्रका राजा थिए। उनीभन्दा शक्तिशाली १० क्षेत्रमा फैलिएका १० जना लिम्बूहरू थिए जसलाई सरदार वा हाङ (राजा) भनिन्थ्यो। ती १० लिम्बूहरू विजयपुरमा पालैपालो मुख्यमन्त्री बन्न आइपुग्थे।
पृथ्वीनारायणले काठमाडौं जितेपछि विक्रम सम्बत् १८२७–२८ तिर पश्चिमको लमजुङ आक्रमण गरे। तर उनी पराजित भए र १८३० तिर उनले पूर्वमा आँखा गाडे।
कमजोर दलबल भएका सेन राजा गोर्खाली सेनाको अगाडि टिक्न सकेनन्। उनी भागिहाले। त्यसपछि १० जना लिम्बू राजाहरू मिलेर चैनपुर आए र गोर्खाली सेनामाथि आक्रमण गरे।
पृथ्वीनारायण शाह आफ्नो दलबलसहित त्यहाँबाट भागे।
गोर्खाली सेना तीनपटक लिम्बुवानसँग पराजित भयो। चौथोपटकमा जुक्ति लगाएर उनीहरूले १० लिम्बूहरूलाई विभाजन गराए। यसैको परिणामस्वरूप १८३१ सालमा पाँच जना लिम्बूले गोर्खालीसँग सम्झौताको कागजात गरे, ‘तिमीहरू हामीसँग मिल। तिमीहरूसँग भएको जिमिभुमी चन्द्र–सूर्य आकाशमा रहुन्जेल तिम्रै हुनेछ। यदि हामीले दिएको अधिकार खोसेमासेमा हामीले पुजिआएको देवताले हाम्रो राजकाज भंग गरोस्।’
त्यो सम्झौतापछि लिम्बूहरूका १० जना सरदार वा हाङमध्ये पाँच जना गोर्खाली सेनासँग मिले। उनीहरू गोर्खाली सेनाकै तर्फबाट लड्न थाले। बाँकी पाँच जना लिम्बू भने सिक्किमसँग मिल्न गए।
यसरी लिम्बूहरूबीच फुट गराएपछि पृथ्वीनारायण शाहले तत्कालीन लिम्बुवान राज्य जित्न सफल भए।
पृथ्वीनारायणले सम्झौता गरेको भए पनि उनी युद्ध थामिएको करिब छ महिनामा बितिहाले। त्यति बेलासम्म सम्झौता कार्यान्वयन भएको थिएन। उनीपछिका उत्तराधिकारीले लिम्बूहरूलाई सम्झौताअनुसार सेवासुविधा दिएनन्। दिनुपर्ने सुविधाहरू कटौती गर्दै लगे। यसले लिम्बुवानमा केन्द्रीय शासकहरूको प्रभाव, दमन र षड्यन्त्रको सिलसिला सुरू भयो।
जल, जमिन र वनमा लिम्बूहरूकै हक हुने भनिए पनि २०१३ सालमा आएर लिम्बूहरूको स्वामित्वमा रहेका सबै वन राष्ट्रियकरण गरिए। लिम्बूहरूका नाममा किपट जग्गा थियो जुन उनीहरूका सन्तान-दरसन्तानले मात्र भोगचलन गर्न पाउँथे। यस्तो जग्गामा कर पनि लाग्दैनथ्यो। पछि राजा महेन्द्रले जग्गासम्बन्धी ऐन ल्याए। राजा वीरेन्द्रको पालामा नापी पनि आयो र किपट जग्गा इतिहासमा सीमित भयो। 'चन्द्र–सूर्य आकाशमा रहुन्जेल जिमिभुमी उनीहरूको स्वामित्वमा रहन्छ' भन्ने पनि इतिहासै भयो।
त्यही क्रममा २०५८ सालको दरबार हत्याकाण्डमा राजवंश मासियो र २०६३ सालमा राजतन्त्र नै अन्त्य भयो, पूर्वाञ्चलका लिम्बू बुढापाकाहरू अहिले पनि भन्छन्, ‘पृथ्वीनारायण शाहले दिएको अधिकार हनन् गरेकाले उनीहरूको राजकाज नै भंग भएको हो।’
लिम्बुवानको इतिहाससँग जोडिएका यस्ता विभिन्न घटनाक्रमका ऐतिहासिक दस्तावेज ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ (संवत् १७१९–२०२०) मा संकलित छन्। यस वर्ष मदन पुरस्कार पाएको यो कृतिका लेखक लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नाम हुन्। उनले ३०१ वर्षको लिम्बुवान इतिहासलाई करिब हजार पृष्ठमा समेटेका छन्।
लामो समयदेखि आफ्नो समुदायको इतिहास खोजबिनमा बिताएकाले हुनसक्छ, इङ्नामलाई संकलित दस्तावेजका धेरै घटना र तिथिमिति कन्ठै छ। उनी किताब नहेरी धेरै तथ्यांक मुखैले खरर बताइदिन सक्छन्।
यसअघि लिम्बू समुदायसँगै जोडिएका दुई किताब लेखिसकेका इङ्नाम आफ्नो पछिल्लो किताब प्रकाशनमा करिब सात वर्ष बिताएको बताउँछन्।
स्वतन्त्र अध्ययन–लेखन थाल्नुअघि विभिन्न सरकारी निकायमा काम गरेका इङ्नामले जागिर क्रममै तेह्रथुम, धनकुटा, ताप्लेजुङ, इलाम लगायत विभिन्न ठाउँको स्थलगत भ्रमण गर्दा ऐतिहासिक कागजात पनि संकलन गरेका थिए। ती भ्रमणबाट संकलन गरिएका स्याहामोहर, लालमोहर, कास्यपत्र, ऐतिहासिक एवं पुरातात्विक दस्तावेजका सक्कल एवं नक्कल कागजातहरू उनले आफ्नो किताबमा दुरुस्तै संग्रह गरेका छन्।
‘मैले लिम्बुवान इतिहासलाई तोडमोड नगरी जस्ताको तस्तै प्रस्तुत गरेको छु। लिम्बुवान क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक अवस्था यो किताबबाट थाहा पाउन सकिन्छ। लिम्बु समुदायबारे अध्ययन गरिरहेका विद्यार्थी र अनुसन्धातालाई यो किताब काम लाग्ने भएकाले नै मदन पुरस्कार दिइएको हुनुपर्छ,’ हाल किताबको दोस्रो संस्करणमा व्यस्त इङ्नामले भने।
सक्कल लालमोहर ७८ वटा र ३९५ वटा अभिलेख रहेको यो किताबमा नेपाल भाषा, मैथली र नेपाली भाषाहरू प्रयोग गरिएका छन्। यो संग्रहमा इतिहासका अनेकन तथ्य मात्र छैनन्, भनिँदै आएका कतिपय कुरालाई तोड्ने प्रमाणहरू पनि छन्। नेपाल र इस्टइन्डिया बीचको युद्ध, नेपाल-तिब्बत युद्ध, लिम्बू एकीकरण, खानी नीति लगायत यावत् विषयमा भेटेजतिका कागजात संकलन गरिएको इङ्नामको किताबले वर्तमानका धेरै पहेली पनि सुल्झाउँछन्।
अघिल्लो वर्षदेखि लिम्बु समुदायमा भाषा, जाति र धर्मलाई लिएर विवाद चर्किएको छ। लिम्बू भाषालाई याक्थुङ भन्ने कि लिम्बू, जातिमा याक्थुङ भन्ने कि लिम्बू लगायत विवाद छन्। धरानमा युमा धर्म भन्नेहरूको २०७७ सालको भेलाले यो विवादलाई तीव्रता दिएको थियो। लिम्बूहरूबीच भइरहेको यस्तो विवादले समुदायलाई नै कमजोर बनाउने इङ्नामको धारणा छ।
'लिम्बू भन्नु वा याक्थुङ भन्नु एउटै हो। म आफूलाई दुवै भन्न रूचाउँछु,' इङ्नामले भने, 'सातौं–आठौं शताब्दीदेखि लिम्बूहरूले याक्थुङ लेख्दा रहेछन्। अहिले सारा देश र संसारले लिम्बू भनेर चिन्छन्। धेरैले आफ्नो कागजातमै लिम्बू भनेर लेख्न थालिसके। यस्तो अवस्थामा हामी याक्थुङ मात्र हौं भनेर तर्क गर्नुको तुक छैन। त्यसैमा फर्कन अब धेरै ढिला भइसक्यो।'
धर्ममा पनि यस्तै विवाद छ। पृथ्वीनारायण शाहले जितेपछि मात्र कतिपय लिम्बूहरूले हिन्दु धर्म मान्न थालेका हुन् भन्ने विश्वास गरिन्छ। तर इङ्नामको अनुसन्धानले फरक कुरा देखाउँछ।
‘सेन कालमै १८२४ सालतिर केही लिम्बूहरू हिन्दु थिए भन्ने कागजात भेटिएका छन्,' उनले भने, 'लिम्बू भन्न थालिएको पनि पृथ्वीनारायण शाहले लालमोहर दिनुअघि सेन कालबाटै हो।’
'लिम्बूहरू खासमा प्रकृति पुजक हुन्। उनीहरू राज्यको प्रभावमा हिन्दु भएका हुन्। मगर, गुरूङ र लिम्बूहरू सेनाको पल्टनमा जाँदा त्यहाँ पूजा गर्न फेदम्बा हुन्थेनन्, बाहुन हुन्थे। हिन्दु धर्म लेखेन भने पल्टन नै जान नपाइने दबाबमा धेरै किराँतीले हिन्दु धर्म अपनाए। आफ्नो भाषा पनि बोल्न छाडेर नेपाली बोल्न थाले,' इङ्नामले भने।
कतिपय लिम्बूले आफूलाई किराँती भनेर चिनाउन पनि रूचाउँदैनन्। इङ्नामको यसमा फरक धारणा छ।
‘किराँत होइन भन्ने हो भने हामी टुप्पाबाट उम्रेजस्तो देखिन्छ। हाम्रो फेद त किराँत नै हो। लिखित दस्तावेजमै धेरै ठाउँमा पल्लो किराँत भनेर उल्लेख छ,’ उनले भने, ‘किराँत भने पनि, लिम्बू भने पनि वा याक्थुङ भने पनि एउटै हो।’
धेरैले आफूलाई किराँती भन्न हिच्किचाउनुको कारण खुलाउँदै उनले भने, 'किराँतीहरू भनेका जंगली, सुँगुरको मासु खाने, ओडारमा बस्ने समुदाय हुन् भनेर चिनिन्छ। तर यो त हामी सबै मानवका पुर्खाले गर्दै आएको कुरा हो। जसले आफूलाई किराँत होइन भन्दै छन्, उनीहरूको आफ्नै बुवाको सिरानीमुनि किराँत लेखिएका कागजात छन्। किराँत होइन भन्नु आफ्ना दसपुस्ते दाजुभाइलाई अस्वीकार गर्नु बराबर हो।'
इड्नामले १८३१ सालको एउटा कागजमा लिम्बूहरूलाई ‘अपुङ्गी’ भनेको पनि भेटे। त्यो भनेको अरूले भनेको नसुन्ने, अध्ययन नगर्ने र आफूले भनेको मात्र ठिक भनेर अडान लिने हो। धेरैपछि मात्र त्यसको अर्थ थाहा पाएका उनलाई अहिले त्यो कुरा ‘हो–हो’ जस्तो लाग्न थालेको छ। यस्तै प्रवृत्तिले लिम्बूहरूबीच समस्या आएको उनको धारणा छ।
हाल भइरहेको विभाजन मेट्न उनको किताबले सहयोग गर्ला त?
‘जसले किताब पढ्छन्, इतिहास बुझ्छन् र मनन् गर्छन्, उनीहरूले गजबले मान्छन्,’ उनले भने, ‘जति तर्क दिए पनि नटेर्ने, अपुङ्गी बन्न थाले भने त केही पनि गर्न सकिन्न।’
उनले यो पनि भने, ‘हामीलाई पहिल्यैदेखि राज्यले र बाहिरी तत्वहरूले विभाजन गर्दै आएका छन्। हामी आफू–आफू झगडा गर्नु बेकार हो। यसले हाम्रो भाषा, धर्म र पहिचानलाई बिस्तारै सक्काउँछ।’
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी