लेखक नारायण वाग्लेको तेस्रो पुस्तक 'कोरियाना कफी गफ' को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ।
काठमाडौंको कालिकास्थानस्थित आरशालामा आयोजित एक समारोहमा वाग्लेले बायोडायनामिक कृषि अभियानका एक अग्रणी व्यक्तित्व एडअर्ड़ो रिनकनलाई अनूदित पुस्तक उपहार दिएसँगै यसको लोकार्पण भएको हो।
लामो समय काठमाडौंमा पत्रकारिता गरेका वाग्लेले अनौपचारिक शैलीमा 'कफी गफ' लेखेका थिए। यसको लोकप्रियता यति चुलियो कि वाग्लेलाई आज पनि पाठकहरूले सोही शैलीका लागि सम्झने गर्छन्। वाग्ले भन्छन्, 'जुन शैलीले मलाई धेरै पाठक र माया दियो, मैले 'कोरियाना कफी गफ' पुस्तकमा त्यही शैली अपनाएँ। तर, यो मेरा पत्रिकाहरूका लेखहरूको संग्रह नभई नयाँ सिर्जना हो।'
'कोरियाना कफी गफ' लाई प्रवीण अधिकारीले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका हुन्। वाग्लेको कफी गफ शैलीबाट प्रभावित भएर आफूले अनुवाद गरेको अधिकारीले बताए।
पञ्चायतको बन्द समाजपछि भर्खरै खुला हुन लागेको नेपाली समाजमा नेपाली भाषालाई यो स्तरको खुलापनमा लैजाने श्रेय वाग्लेलाई नै दिने गरेको उनको भनाइ छ।
अधिकारी भन्छन्, 'नारायण वाग्लेले अंग्रेजी पढ्ने सहरी पुस्तालाई 'कफी गफ' र 'पल्पसा क्याफे' मार्फत नेपाली भाषातिर आकर्षित गरे।'
अनुवादक अधिकारीले 'कोरियाना कफी गफ' पढ्दै जाँदा शैलीमा नवीनता, भाषामा लचकता र भावमा कोमलता पाएको अनुभव सुनाए। यति मीठोसँग लेखिएको कृति संसारलाई पढाउनुपर्छ भन्ने सोचेर त्यही साहित्यिक सुन्दरता अनुवादमा ल्याउन आफूले आफैँलाई चुनौती दिँदै अनुवाद गरेको उनले बताए।
लेखक वाग्लेले अनुवादक प्रवीण अधिकारीलाई धन्यवाद दिँदै भने, 'आफू स्वयं पनि साहित्यकार भएको एक सिद्धहस्त अनुवादकले मेरो कृतिलाई अझ सुन्दर बनाइदिएका छन्।' 
नारायण वाग्लेले 'पल्पसा क्याफे' र 'मयूर टाइम्स' उपन्यासपछि सृजनशील गैरआख्यानका रूपमा 'कोरियाना कफी गफ' लेखेका हुन्। बीस वर्षअघि प्रकाशन भएको 'पल्पसा क्याफे' ले मदन पुरस्कार प्राप्त गरेको थियो। धेरै समीक्षक–समालोचकले नेपाली साहित्य लेखन, प्रकाशन र पठन इतिहासलाई 'पल्पसा क्याफे' अघि र पछिका रूपमा व्याख्या गर्ने गरेका छन्।
नारायण वाग्लेको 'पल्पसा क्याफे' बाट प्रकाशन सुरु गरेको पब्लिकेसन नेपालयले २० वर्ष पार गरेको छ। यो अवसरमा आफूहरूले सन् २०२५ मा नयाँ पुस्ताका रचना र अनुवाद कृति प्रकाशनमा जोड दिएको पब्लिकेसन नेपालयले जनाएको छ।
पच्चीस वर्षमुनिका लेखकहरूका रचना सार्वजनिक आह्वान गरी मागेको र ती नयाँ पुस्ताका रचना समेटी पुस्तक प्रकाशन गर्दै गरेको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले बताए।
'कोरियाना कफी गफसँगै हामीले यस वर्ष भारतीय लेखक फणीश्वरनाथ रेणुले नेपालको २००७ सालको क्रान्तिबारे लेखेको पुस्तक 'सात सालको कथा' तथा नोबेल पुरस्कार प्राप्त चिनियाँ लेखक मो यानका कथा र उपन्यासिकाको पुस्तक यस वर्ष प्रकाशन गरेका छौं,' श्रेष्ठ भन्छन्, 'आउँदो महिना अनुवादको अर्को पुस्तक लोकार्पण गर्नेछौँ।'
नेपालयबाट ६ वर्षअघि प्रकाशित 'कोरियाना कफी गफ' को अंग्रेजी अनुवाद पनि पब्लिकेसन नेपालयले नै गरेको हो।
गत वर्ष नोबेल पुरस्कार विजेता लेखक हान काङको 'द भेजिटेरियन' लाई प्रवीण अधिकारीले नेपालीमा अनुवाद गरेका छन् भने इन्द्रबहादुर राईका कथाहरूलाई अंग्रेजीमा अनुवाद गरेका छन्।
'कोरियाना कफी गफ' संसारभरका पाठकले अंग्रेजी वा नेपाली भाषामा सजिलै पढ्न सक्नेछन्। यो पुस्तक देशका प्रमुख पुस्तक पसलहरूका साथै 'थुप्रै डट कम' वा 'अमेजन' मार्फत किन्न सकिने जनाइएको छ।