अभिनेता शाहरूख खानको ६० औं जन्मदिनको अवसरमा उनको सम्मानमा विशेष चलचित्र महोत्सव आयोजना हुने भएको छ।
मल्टिप्लेक्स कम्पनी पीभीआर आइनोक्सले शुक्रबार 'शाहरूख खान चलचित्र महोत्सव' को घोषणा गरेको हो।
पीभीआरले सामाजिक सञ्जालमा घोषणा गर्दै लेखेको छ, 'दशकौंको आकर्षण। अनन्त भावनाहरू। एक लिजेन्ड। पुस्तालाई परिभाषित गर्ने चलचित्रहरू मनाउनुहोस्। शाहरूख खान चलचित्र महोत्सव अक्टोबर ३१ बाट सुरू हुँदैछ।'
हालै 'जवान' चलचित्रमा गरेको अभिनयका लागि राष्ट्रिय पुरस्कार जितेका शाहरूख खानले यो घोषणालाई 'सुन्दर पुनर्मिलन' भनेका छन्।
पोस्टरमा उल्लेख गरिएका चलचित्रहरू अनुसार, 'कभी हाँ कभी ना', 'दिल से', 'देवदास', 'मैं हूँ ना', 'ओम शान्ति ओम' र 'जवान' महोत्सवमा देखाइनेछन्। यो चलचित्र महोत्सव नोभेम्बर २ मा उनको ६० औं जन्मदिन अगाडि अक्टोबर ३१ बाट सुरू भई दुई हप्तासम्म ३० सहरका ७५ भन्दा बढी सिनेमाघरहरूमा चल्नेछ।
प्रेस विज्ञप्तिमा शाहरूख खानले यो सम्मानबारे भनेका छन्, 'सिनेमा सधैं मेरो घर भएको छ, र यी चलचित्रहरू ठूलो पर्दामा फर्किएको देख्दा एउटा सुन्दर पुनर्मिलनजस्तो लागेको छ। यी चलचित्रहरू मेरा मात्र कथा होइनन्— यिनीहरू ती दर्शकका हुन् जसले ३३ वर्षभन्दा बढी समयदेखि मायापूर्वक यिनलाई अँगालेका छन्।'
शाहरूख खान पछिल्लो पटक सन् २०२३ का चलचित्रहरू 'जवान', 'पठान' र 'डंकी' मा देखिएका थिए। उनी अहिले छोरी सुहाना खानसँग सिद्धार्थ आनन्दको 'किंग' चलचित्रको छायांकन गरिरहेका छन्। यो फिल्म सन् २०२६ मा रिलिज हुने सम्भावना छ।
