प्रेमकथामा आधारित बलिउड क्लासिक फिल्म 'तेरे नाम' २३ वर्षपछि पुनः सिनेमा हलमा रिलिज भएको छ।
सलमान खान अभिनीत यो फिल्म मूलतः सन् २००३ मा प्रदर्शनमा आएको थियो। बक्स अफिसमा ठूलो सफलता हासिल गरेको फिल्म गत २७ फेब्रुअरी (गत शुक्रबार) देखि भारतमा पुनः प्रदर्शनमा आएको हो।
फिल्मले पुनः रिलिजको पहिलो दिन २५ लाख भारू कमाएको थियो भने दोस्रो दिन पनि समान कमाइ गर्न सफल भएको थियो। तेस्रो दिन करिब २६ लाख भारू आम्दानी गरेको फिल्मले सोमबार १५ लाख भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
त्योसँगै चार दिनमा फिल्मको कुल कमाइ ९१ लाख भारू पुगेको छ। विश्लेषकहरूले फिल्मको यो कमाइलाई 'स्थिर तर उत्साहजनक' भनेका छन्। पाँचौं दिनमा कमाइ १ करोड भारू पुग्ने अनुमान छ।
सतीश कौशिकको निर्देशन रहेको 'तेरे नाम' मा सलमानसँगै भूमिका चावला, रवि किशनलगायतको शीर्ष अभिनय छ।
'तेरे नाम' प्रेम, पीडा र सामाजिक दबाबको कथा हो। गाउँको जिद्दी युवक राजले निमासँग गहिरो प्रेम गर्छ। तर परिस्थितिहरू र उसको स्वभावले सम्बन्धमा त्रासदी ल्याउँछ। यो फिल्म युट्युबमा समेत उपलब्ध छ।