बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म 'छावा' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार 'छावा' ले १६ दिनमा ४३३ करोड ५० लाख भारू कमाएको छ। 'छावा' ले 'पुष्पा २' को रेकर्ड तोडेको छ। 'पुष्पा २' ले तमिल, तेलुगु, कन्नड र मलयालम गरी १६ दिनमा ४२१ करोड ९६ लाख भारू कमाएको थियो।
यो फिल्मको बजेट १३० करोड भारू बताइएको छ।
लक्ष्मण उतेकर निर्देशित फिल्ममा विक्कीसँगै रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा, दिव्या दत्तालगायत कलाकारको अभिनय छ।
विक्की र निर्देशक लक्ष्मणको यो दोस्रो सहकार्य हो। उनीहरूले सन् २०२३ मा रिलिज भएको फिल्म 'जरा हटके जरा बचके' मा एकसाथ काम गरेका थिए। लक्ष्मण उतेकरले 'मिमी' र 'लुका छुपी' जस्ता फिल्ममा निर्देशन गरेका छन्।