भारतीय कमेडियन तथा अभिनेताद्वय कपिल शर्मा र सुनील ग्रोवर फेरि चर्चामा आएका छन्।
हालै उनीहरूले 'आर्ट अफ लिभिङ' का संस्थापक श्री श्री रवि शंकरसँग कुराकानी गरेका थिए।
सो क्रममा सुनीलले रवि शंकरलाई सोधेको प्रश्न अहिले सामाजिक सञ्जालमा निकै चर्चित छ।
सुनीलले भनेका छन्, 'गुरूदेव, मेरो एउटा प्रश्न छ। दुई जना साथीहरू एकअर्कालाई धेरै माया गर्छन् र उनीहरूबीच विवाद भयो भने, ६ वर्ष नलगाईकन सम्बन्ध सुधार्ने उपाय के होला?'
सुनीलले यो प्रश्न सोध्दा कपिल र रविशंकर हाँस्छन्। उनीहरू तीनै जनाले सुनीलले प्रश्न सोधेको भिडिओ इन्स्टाग्राममा हालेका छन्।
प्रश्नको उत्तर दिँदै रवि शंकर भन्छन्, 'विवाद भनेको प्रेमकै एउटा पाटो हो। कुनै एक जनासँग प्रेम गर्ने र अर्कोसँग झगडा गर्ने भन्ने हुँदैन। प्रेम र झगडा दुवैका लागि मान्छे सँगै हुन जरूरी छ। प्रेम छ भने मात्र विवाद हुन्छ।'
कपिल र सुनीलको लामो समय झगडा भएकाले अहिले सुनीलको यो प्रश्नले सामाजिक सञ्जालमा चर्चा पाएको हो।
सात वर्षअघि झगडा भएपछि उनीहरूको जोडी छुट्टिएको थियो। द कपिल शर्मा शोमा डाक्टर मसहुर गुलाटीको भूमिकामा हँसाइरहेका सुनीललाई कपिलले जहाजमा दुर्व्यवहार गरेका थिए। यो विवाद बढ्दै गएपछि सुनीलले शो छाडे। उनीसँगै अरू कलाकार पनि गए। उनीहरूबिनै केही समयसम्म कार्यक्रम चल्यो। तर शो फ्लप हुँदै गयो। अन्त्यमा बन्दै भयो।
यो घटनाको झन्डै एक वर्षपछि कपिल शो फेरि सुरू भयो। सुनीलले कलर्स च्यानलमा अर्को शो चलाए। सुनीलको शोले खास चर्चा कमाएन। कपिलले भने सोनीमा आफ्नो कार्यक्रम चलाइरहे।
उनीहरूबीच दुरी कायमै रह्यो। बीचमा सहकार्यबारे चर्चा चले पनि उनीहरू सँगै देखिएनन्।
कपिलको सोनीमा कार्यक्रम बन्द भयो र यही साल नेटफ्लिक्समा द ग्रेट इन्डियन कपिल शो प्रसारण भयो। यसमा भने कपिल र सुनील सँगै देखिए। कार्यक्रममा उनीहरूले आफूहरूको झगडा र विवादबारे पनि मजाक बनाएका थिए।
अब उनीहरू फेरि द ग्रेट इन्डियन कपिल शोको दोस्रो सिजनमा सँगै देखिने बताइएको छ।