१९७४ एडी ब्यान्डले जर्मनीमा प्रस्तुति दिने भएको छ।
ब्याण्डका व्यवस्थापक अनुज कार्कीका अनुसार २४ अगस्टमा जर्मनीको स्टुगार्टमा पहिलो कन्सर्ट हुनेछ। ३० औं वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्यान्डले यसअघि मे र जुन महिनामा अमेरिकाका आधा दर्जन सहर र जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो सहरमा कन्सर्ट सम्पन्न गरिसकेको छ।
जर्मनीको टुर पश्चात् ४ देखि २१ सेप्टेम्बरसम्म अस्ट्रेलियाका सातवटा सहरमा यात्राको तयारी भइसकेको पनि ब्यान्डले जनाएको छ। जसअनुसार ४ सेप्टेम्बरमा ब्रिसबेन, ८ सेप्टेम्बरमा पर्थ, ९ सेप्टेम्बरमा मेलबर्न, १२ सेप्टेम्बरमा एडिलेड, १४ सेप्टेम्बरमा होबर्ट, १९ सेप्टेम्बरमा क्यानबेरा र २१ सेप्टेम्बरमा सिड्नीमा हुने कार्यक्रम छ।
सन् २०१९ मा रियुनियन भएलगत्तै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि त्यसलगत्तै आएको कोभिडले रोकेको यात्रालाई ३० औं वर्षगाँठको अवसर पाएर विश्वभरका फ्यानहरूसम्म पुर्याउन पाउँदा खुसी लागेको ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए। उनका अनुसार ब्याण्ड पुरानै लाइनअपमा अमेरिका लगभग २२ वर्षपछि पुगेको थियो।
३० औं वर्ष पुगेकै अवसरमा ब्यान्डले केही समयअगाडि आफ्नो 'हजार सपना' गीतको भिडिओ पनि बनाएको थियो। आर्टमाण्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडिओ ब्यान्डकै आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।