बलिउड अभिनेत्री कंगना रनावत यसै वर्ष राजनीतिमा प्रवेश गरेकी छन्।
हाल उनको झुकाव राजनीतिमा बढी देखिएको छ। यसैबीच उनका फ्यानले अब फिल्म खेल्नु हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।
'म अभिनय गर्न जारी राख्छु या राख्दिन भनेर दर्शकहरूले निर्णय गरून भन्ने चाहन्छु। उदाहरणका लागि, म कहिले पनि नेता बन्न चाहन्न थिए। मान्छेहरूले तपाई नेता बनुस् भनेका हुन्। यदि मेरो फिल्म इमरजेन्सी चल्यो भने मलाई फिल्ममा देख्न चाहन्छन् भन्ने बुझ्छु। यसमा सफलता पाए भने फिल्म खेल्न जारी राख्छु,' उनले भनिन्।
हालै उनको आगामी फिल्म 'इमरजेन्सी' को ट्रेलर सार्वजनिक भएको थियो। फिल्म भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित छ। कंगनाले पहिलो पटक इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी हुन्।
प्रधानमन्त्री गान्धीले देशमा 'इमरजेन्सी' घोषणा गरेको समयलाई फिल्ममा प्रस्तुत गरिएको छ। उनले सन् १९७५ जुन २५ देखि १९७७ मार्च २१ सम्म आपतकालीन समय घोषणा गरेकी थिइन्। फिल्मलाई कंगनाले आफैले निर्देशन गरेकी हुन्।
फिल्ममा कंगनासँगै श्रेयस तलपडे, अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी, सतीश कौशिकलगायत कलाकारको अभिनय छ।
यो फिल्म ६ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।