'कल हो ना हो', 'कभी खुशी कभी गम' र 'राम तेरी गंगा मेली' जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री सुष्मा सेठकी नातिनी मिहिका सेठको मृत्यु भएको छ।
२३ वर्षकी मिहिका लामो समयदेखि बिमारी थिइन्। उनको ५ अगस्टमा मृत्यु भएको हो। मिहिकाको मृत्युको जानकारी उनकी आमा तथा अभिनेत्री दिव्या सेठले दिएकी हुन्।
उनका अनुसार मिहिकालाई पहिला ज्वरो आएको थियो। त्यसपछि लगातार बिमारी हुँदा उनको ५ अगस्टमा मृत्यु भएको हो।
मिहिकालाई फोटोग्राफीमा रूचि थियो। उनले ५ मेमा अन्तिम पोस्ट गरेकी थिइन्। जसमा उनी आमा र हजुरआमासँग घुम्न गएकी थिइन्।
मिहिकाकी आमा दिव्या टेलिभिजन क्षेत्रमा चर्चित नाम हो। उनले टेलिभिजन शो 'हम लोग' बाट अभिनय सुरू गरेकी थिइन्। उनले 'जब वि मेट', 'दिल धड्कने दो' र 'आर्टिकल ३७०' जस्ता फिल्ममा पनि काम गरेकी छन्।