यतिबेला दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' प्रदर्शन भइरहेको छ।
कुनै बेला दक्षिण भारतीय फिल्ममा मात्र देखिएका र त्यतैका दर्शकमाझ लोकप्रिय अभिनेता प्रभासका अहिले संसारभरमा प्रशंसक छन्। फिल्म ‘बाहुबली’ बाट पूरै भारत र अरू देशमा समेत बलियो पहिचान बनाएका प्रभासको सफलता चुलिँदो छ।
उनी महँगो पारिश्रमिक लिने अभिनेता समेत हुन्। उनी एक फिल्मको लागि ८० देखि १५० करोड भारू पारिश्रमिक लिन्छन्। योसँगै उनको सम्पत्ति पनि बढ्दै गएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
हाल प्रभासको कुल सम्पत्ति २४१ करोड भारू भएको बताइएको छ। उनीसँग महँगा सामानहरूको संकलन पनि राम्रै छ।
यहाँ उनीसँग भएका ५ महँगा चिजको उल्लेख गरिएको छ।
१. करोड पर्ने जिमका सामान तथा उपकरणहरू
एसएस राजामौलीको निर्देशनमा बनेको बाहुबलीका लागि प्रभासले आफ्नो शरीर बनाउन निकै मेहनत गरेका थिए। यसअघि उनी अलि दुब्ला थिए। बाहुबलीका लागि उनले तौल बढाए र शारीरिक सुगठनका लागि जिम गरे।
टाइम्स अफ इन्डियाका अनुसार प्रभासले त्यो बेला ८२ किलो तौल बढाएर १०२ किलो बनाएका थिए। शरीर बनाउन व्यायाम गर्ने जिमखाना उनले घरमै बनाएका छन्।
उनीसँग घरमा डेढ करोड भारू पर्ने जिमका सामान र उपकरण भएको बताइएको छ।
२. रोल्स रोयस फ्यान्टम गाडी
प्रभासले सन् २०१५ मा अभिनेता अमिताभ बच्चन, शाहरूख खान, अक्षय कुमार र अरू केहीलाई पछ्याउँदै नयाँ गाडी किने– रोल्स रोयस फ्यान्टम।
टाइम्स नाउको रिपोर्टअनुसार यो गाडीको ८ देखि ९ करोड भारू पर्छ। हैदरावादका सडकमा उनी यही गाडी लिएर हिँड्छन्। यो गाडी किन्दा उनी निकै उत्साहित भएको र साथीहरूलाई पार्टी समेत दिएको बताइएको छ।
३. बिएमडब्लु एक्स ७
प्रभासको गाडीहरूको संकलनमा बिएमडब्लु एक्स ७ पनि पर्छ। टाइम्स अफ इन्डियाका अनुसार यसको मूल्य २ करोड भारू हो। अडी क्यु ५ र मर्सिडिज जिएलसीको प्रतिस्पर्धी मानिने यो गाडी सनरूफसहित आधुनिक सुविधाहरू भएको छ।
यसबाहेक प्रभाससँग आफ्नै अनुकूल डिजाइन गरिएको ल्यान्ड रोभर रेन्ज रोभर गाडी पनि छ। यो गाडी बेलायतमा डिजाइन गरेर पछि भारत ल्याइएको बताइएको छ।
४. जाग्वर एक्सजेएल
अभिनेता प्रभाससँग जाग्वर एक्सजेएल गाडी पनि छ। यसको मूल्य करिब १ करोड भारू पर्ने बताइएको छ। यो शक्तिशाली गाडीमध्ये पर्छ।
५. हैदरावादमा फार्महाउस
प्रभासको हैदरावादको जुब्ली हाउसमा आलीशान फार्महाउस छ। यसको मूल्य करिब ६० करोड भारू पर्ने इन्डिया टुडेले लेखेको छ। यो घरमा फराकिलो बगैंचा, स्विमिङ पुल, जिम र मन्दिर छ।