बलिउड अभिनेता सनी देओल र अमीषा पटेलको फिल्म 'गदर' र 'गदर २' ले बक्स अफिसमा राम्रो कमाइ गरेका थिए। यी दुई फिल्मलाई दर्शकले राम्रो साथ दिए।
दुवै फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै फिल्मको तेस्रो भाग बन्ने खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अहिले स्क्रिप्टको काम भइरहेको छ।
फिल्मका कार्यकारी निर्माता राणा भाटियाले फिल्ममा 'गदर २' का कलाकार दोहोरिने बताएका छन्। 'गदर ३' मा खलनायक भने परिवर्तन हुनेछन्।
यो फिल्म बन्ने खबर बाहिरिएसँगै अमीषाले शर्त राखेकी छन्।
'गदर ३ बन्छ या बन्दैन थाहा छैन। तर बन्यो भने मेरो एउटा शर्त छ। फिल्ममा तारा र सकीनालाई धेरै सिन दिनुपर्छ,' अभिनेत्री अमिषाले भनेकी छन्।
यो फिल्म आगामी वर्षदेखि छायांकनमा जाने छ भने सन् २०२५ को भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन हुनेछ।