बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लसएन्जलसस्थित घर छाडेका छन्।
उनीहरूले सन् २०१९ मा करिब २ करोड डलरमा घर किनेका थिए। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार घरमा पानी चुहावटको समस्या देखिएपछि उनीहरूले घर छाडेका हुन्। उनीहरू लामो समयदेखि घरमा पानी चुहावटको समस्या झेल्दै आएका थिए। जसले गर्दा उनीहरूको घरको भित्तामा ओसिलोपन समेत देखिन थालेको थियो।
यस घरमा ७ बेडरूम, ९ बाथरूम, तापमान नियन्त्रित वाइन सेलर, शेफ किचन, होम थिएटर, बलिङ गल्ली, स्पा, स्टिम शावर, जिम र बिलियर्ड कोठा छन्। घरमा प्रियंका श्रीमान निक र छोरी मालतीसँग बस्दै आएकी थिइन्।
प्रियंका र निकले यस विषयमा प्रोपटी डिलरविरूद्ध मुद्दा समेत दायर गरेका छन्। उनीहरूले मे २०२३ मा घर बेच्नेविरुद्ध मुद्दा हालेका थिए। उनीहरूले यस घर किनेदेखि नै स्पा र पूलमा समस्या देखिएको थियो।
उनीहरूले यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन। मुद्दामा क्षतिग्रस्त वस्तुहरूको मर्मत खर्चको क्षतिपूर्तिको माग गरिएको छ। यसको मर्मत गर्न करिब १५ देखि २५ लाख डलर लाग्ने बताइएको छ।