पाकिस्तानी गायक आतिफ असलम बलिउडमा फर्किने भएका छन्। सात वर्षपछि उनले बलिउडमा गीत गाउन पाउने भएका हुन्।
सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म 'ए दिल है मुश्किल' मा पाकिस्तानी कलाकार फवाद खानले काम गरेका थिए। त्यसयता कुनै पाकिस्तानी कलाकारले भारतीय फिल्ममा काम गरेनन्।
पछिल्ला सात वर्षयता पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा खेल्न प्रतिबन्ध नै लगाइएको थियो। गत कात्तिकमा भारतको मुम्बई उच्च अदालतले गरेको एक निर्णयले यो प्रतिबन्ध फुकुवा हुने र पाकिस्तानी कलाकारले भारतीय सिनेमामा काम गर्न पाउने भएका थिए।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइराख्नुपर्ने अर्थात् अझै समय बढाउनुपर्ने माग गर्दै अदालतमा परेको रिट मुम्बई उच्च अदालतले खारेज गरिदिएको हो।
योसँगै अब भारतमा निकै लोकप्रिय भएका गायक आतिफको बलिउडमा कमब्याक हुने भएको हो।
सञ्चारमाध्यमहरूका अनुसार आतिफले अमित कसारियाको फिल्ममार्फत कमब्याक गर्दैछन्।