बलिउड कलाकारसँग फोटो खिचेर चर्चामा आएका ओरीले आफ्नो जस्तै अनुहार भएका ३ जना रहेको बताएका छन्।
करण जोहरको शो 'कफी विथ करण' मा उक्त खुलासा गरेका थिए। तर त्यतिबेला उनको कुरालाई दर्शकले विश्वास गरेका थिएनन्। अहिले सामाजिक सञ्जालमा ओरीको जस्तै अनुहार भएका व्यक्तिको तस्बिर भाइरल भइरहेको छ। जसमा उनी अनन्त अम्बानीकी मंगेत्तर राधिका मर्चेन्ट र आफ्नो डुप्लिकेटसँग देखिएका छन्।
हालै ओरीको फ्यान पेजले पुरानो तस्बिर सार्वजनिक गरेको हो।
करणको शोमा ओरीले भनेका थिए, 'मेरो जस्तै अनुहार भएको तीन जना छन्। जसले म उपस्थित हुन नसकेको ठाउँमा सबै सम्हाल्छन्। हामी एकै खाल्को लुगा लगाउँछौं। म नभएको बेला उनीहरू उपस्थित हुन्छन् तर कुरा गर्दैनन्। उनीहरूले बोले भने मात्रै हाम्रो फरक छुटिन्छ। नत्र कसैले पहिचान गर्न सक्दैनन्।'
ओरी लण्डनमा भएको बेला एक व्यक्तिले उनलाई भने, 'बास्टियन रेस्टुरेन्टमा तपाईको तस्बिर एकदमै राम्रो लाग्यो।'
उनले सोचे- कुन तस्बिर? म त्यहाँ गएको छैन।
उनले इन्स्टाग्राम खोलेर हेरे। एक व्यक्तिले उनको जसरी पोज दिइरहेका थिए। उनले ती व्यक्तिलाई काममा राखे।
उनीहरू बलिउडको पार्टीमा देखिँदै आएका छन्। पार्टीमा मात्रै नभइ ओरी अभिनेत्रीहरुसँग अन्य कार्यक्रममा पनि देखिरहेका छन्।
ओरीको पुरा नाम हो, ओरहान अवत्रामणि। पछिल्ला समय उनी अभिनेत्री जान्हवी कपूर, न्यासा देवगन र सारा अली खानलगायत अभिनेत्रीसँग देखिँदै आएका छन्। पछिल्लो समय उनी भारतको धनाढ्य मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीसँग पनि निकट देखिएका छन्।
ओरी मुम्बईको सामाजिक कार्यकर्ता हुन्। उनले अभिनेत्री सारा अली खानसँगै कोलम्बिया युनिभर्सिटीमा पढाइ गरेका थिए।
उनी बलिउडको 'बिएफएफ' को रूपमा पनि चिनिन्छन्। उनी पछिल्लो समय आफ्नो बोल्ड फेसन छनोट र फ्यान फलोइङको कारण चर्चामा छन्।
उनी मुम्बईको व्यवसायी पनि हुन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेड चेयरपर्सन अफिसमा उनी विशेष परियोजना प्रबन्धकको रूपमा काम गर्छन्। यसबाहेक उनले न्यूयोर्कको पार्सन स्कुल अफ डिजाइनबाट फाइन आर्ट्स र कम्युनिकेशन डिजाइनमा स्नातक गरेका थिए।