पर्वतको कुश्मास्थित तीन सय वर्ष पुरानो सांस्कृतिक तथा पुरातात्विक घर 'शताब्दी घर' मा एकदिवसीय 'कलाको रूपमा सम्पदा' चित्रकला कार्यशाला सम्पन्न भएको छ।
पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकसित हुँदै गएको शताब्दी घरको संस्थागत विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए। धौलागिरी क्षेत्रका अग्रज र नव कलाकारबीच कला अनुभव साटासाट होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाइ छ।
कार्यशालामा धौलागिरी क्षेत्रका तीन दर्जनभन्दा बढी कलाकार र कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए। सहभागी कलाकारहरूले यस्ता कार्यशालाले समुदायमा कलाको महत्व बढाउने र मौलिक कला–संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा सहयोग पुर्याउने बताएका छन्।
कार्यशालामा सहभागी बागलुङका कलाकार मछिन्द्र शाक्यले यस प्रकारको कार्यशालाले समुदायमा कलाको महत्ववृद्दि गर्नमा सहयोग पुर्याउने बताए। यसले कलाको उजागर मात्र नभइ त्यसको पहिचान, सहभागिता र गौरवपूर्ण इतिहासको खोजी गर्न सहयोग पुर्याउने बताए। कार्यशालाका अर्का सहभागी मिलन खत्रीले आफ्नो संस्कृति, कला र समाजको बहुलता एकै थलोमा हेर्न/पढ्न पनि कार्यशाला सहयोग सावित रहेको अनुभव सुनाए।
शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले पछिल्लो पुस्ताले बिर्सिंदै गएका मौलिक कला-संस्कृति र यसले ओगटेका महत्वका चिजलाई संरक्षण र पुस्तान्तरण गर्नु समेत कार्यक्रमको उद्धेश्य रहेको बताए।
उनले अगाडि भने, 'हामीले जोगाएका संस्कृति, सभ्यता र सम्पदा भोलि हाम्रा सन्ततिले हेर्ने आँखीझ्याल बन्न सकुन भन्ने आफ्नो चाहना हो। र, कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो।'
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा संचालित कार्यशालाले धौलागिरी क्षेत्रमा कलाको वातावरण सिर्जना गर्न मद्दत पुर्याउने नाफाका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए।
प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवद्र्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताइन्। 'कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौं', उनले भनिन, 'यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रूची भएका विद्यार्थीहरुको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ।'
कार्यशालामा क्यानभास, मेटल, मूर्ति र काष्ठकलाअन्तर्गत ३७ वटा कला कृति तयार गरिएका छन्।
कार्यशालामा सिर्जना गरिएका चित्रहरू शताब्दी घरमै संग्रह गरिने आयोजकले जानकारी दिएका छन्। शताब्दी घरलाई दीर्घकालीन रूपमा सांस्कृतिक संग्रहालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको आयोजक पक्षले जनाएको छ।
