आगामी माघ २५ गतेदेखि रिलिज हुने फिल्म 'जुना: एक व्यथा' को गीत 'आमाको मुहार' सार्वजनिक भएको छ।
बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ। गीतको भिडिओमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ।
गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ। भिडिओमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ। गीत जति मार्मिक छ, भिडिओ उत्तिकै पीडादायी छ। गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन्। निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए।
जीवन सेञ्चुरी निर्देशित फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, खगेन्द्र न्यौपानेलगायत कलाकारको अभिनय छ। पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।