आपतकालीन अवस्थामा हृदयघात भएको बेला समुदायमा तत्काल प्रतिक्रिया दिने क्षमतामा सुधार ल्याउने उद्देश्यले हाप्सा नेपालले नेपाली सिपिआर गीत सार्वजनिक गरेको छ।
यो गीतले समुदायलाई सिपिआर (कार्डियोपल्मोनरी रेसुसिटेसन) प्रविधि सिक्न अझ सजिलो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
यस गीतले हृदयघातलाई कसरी पहिचान गर्ने, आपतकालीन सहयोग कसलाई बोलाउने र कसरी हातमात्रको सिपिआर दिने भन्ने कुरा चरणबद्ध रूपमा सिकाउँछ। यस गीतको ताल १००-१२० धड्कन प्रति मिनेटको सिफारिस गरिएको सिपिआर गतिसँग मेल खान्छ, जसले आपतकालीन अवस्थामा सही लय कायम गर्न सहयोग पुर्याउँछ।
यो गीतको रचना डा. साउद धिलोनले गरेका हुन्, जो ब्राउन विश्वविद्यालयका इन्टरनल मेडिसिन चिकित्सक हुन्।
नेपाली संस्करणलाई डा. रामु खरेलले अनुकूलन गरेका हुन्, जो ब्राउन विश्वविद्यालयका आपतकालीन चिकित्सा चिकित्सक तथा हाप्सा नेपालका संस्थापक हुन्। भिडिओ ग्लोबल हेल्थ मिडियासँगको सहकार्यमा अछाम जिल्लामा खिचिएको हो, जसमा न्याय हेल्थ नेपाल र बयालपाटा अस्पतालको सहयोग छ।
हाप्सा नेपालले समुदाय-आधारित स्वास्थ्य सेवामा सुधार गर्न १० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएको छ।
प्रहरी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई सिपिआर तालिम दिने कार्यमा संलग्न हाप्सा नेपालले यो गीत तालिमलाई अझ प्रभावकारी बनाउने आशा गरेको छ।
यो सिपिआर गीत युट्युब, स्पोटिफाई, र एप्पल म्युजिक जस्ता लोकप्रिय संगीत प्लेटफर्महरूमा उपलब्ध छ।
यो गीतको सार्वजनिकरण हाप्सा नेपालको ग्रामीण क्षेत्रहरूको स्वास्थ्य सेवा क्षमता सुदृढ पार्न गरिएको प्रयासहरूको अर्को महत्वपूर्ण उपलब्धि हो। संगीत र लयलाई सिपिआर शिक्षामा समावेश गरेर, हाप्सा नेपालले जीवन बचाउने सीपलाई अझ आकर्षक र प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
हाप्सा नेपाल एक गैर-नाफामूलक संस्था हो, जसले शिक्षा, तालिम, र नीति वकालत मार्फत समुदाय-आधारित स्वास्थ्य सेवामा सुधार गर्न काम गर्दछ। यो संस्थाले भूकम्प प्रतिक्रिया, कोभिड-१९ पहलहरू, महिला स्वास्थ्य स्वयंसेविका तालिम, सिपीआर र चोकिङ तालिम जस्ता प्रमुख पहलकदमीहरू सञ्चालन गर्दै आएको छ।