अभिनेता अनमोल केसीले राम्रो फिल्म निर्माणमा टिमवर्कको महत्व हुनेमा जोड दिएका छन्।
फिल्म 'जेरी अन टप' १० करोड क्लबमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार आयोजित 'सेलिब्रेसन' कार्यक्रममा बोल्दै उनले राम्रो फिल्म बन्नु वा नराम्रो फिल्म बन्नुमा कुनै एक कलाकारको मात्र हात नहुने बताए। 
'राम्रो फिल्म बन्न एकजना कलाकारको मात्रै हात हुँदैन। सबै टिमको हात हुन्छ,' उनले भने, 'र, नराम्रो फिल्म बन्दा पनि कहिल्यै पनि कलाकारको हात हुँदैन। त्यसमा पनि टिमकै हात हुन्छ।' 
उनले 'जेरी अन टप' सफलताको श्रेय आफ्नो सम्पूर्ण टिमलाई दिँदै धेरै जनालाई व्यक्तिगत रूपमा भेटेरै धन्यवाद दिइसकेको जानकारी गराए ।
विशेष गरी, उनले नाम नलिइ आफ्नो फिल्म 'छड्के २' असफल हुँदाको सन्दर्भ जोड्दै आफूलाई असफल देख्दा खुसी हुनेहरूलाई जबाफ समेत दिए। 
उनले मानिसको प्रवृत्तिमाथि टिप्पणी गर्दै भने, 'मान्छेहरू सबैभन्दा खुसी कहिले हुँदो रहेछ, तपाईंलाई थाहा छ? अरूको दुःखमा। अरूको दुःखमा मान्छेहरू सबभन्दा धेरै खुसी हुँदो रहेछ।'
विगतमा आफ्नो असफलतामा खुसी हुनेहरूलाई लक्षित गर्दै उनले भने, 'मैले यो चिज उहाँहरूलाई भनेको हो। अहिलेसम्म म बोलेको थिइनँ। किनभने अहिलेसम्म मेरो कामले मैले प्रमाणित गरेको थिइनँ। तर आज म बोल्दैछु। किनभने आज मेरो कामले बोलिसकेको छ। फिल्मले बोलिसकेको छ।'
अनमोलले अगाडि भने, 'आज मैले ती व्यक्तित्वहरूलाई सम्झिन चाहेँ, जो मेरो डाउनफलमा खुसी हुनुभएको थियो। उहाँहरू सबैलाई म यो भन्न चाहन्छु, खुसी हुनुहोस्, धेरै खुसी हुनुहोस्।'
उनले आफू त्यति बेला नबोलेको र अहिले पनि बोल्नेवाला नरहेको स्पष्ट पारे।
'किनभने मेरा भगवानस्वरूप दर्शकहरू तपाईंसँग बोल्नेवाला छन्,' उनले भने, 'मेरा दर्शकले तपाईंको हरेक गालीमा अब बोल्नेवाला छन्। हरेक आलोचनामा बोल्नेवाला छन्।' 
अन्त्यमा, उनले दर्शकहरूलाई यो माया र साथका लागि धन्यवाद व्यक्त गरे।
'दर्शकहरू सबै जनालाई यो माया, सहयोगका लागि धेरै धेरै धन्यवाद। आज फिल्मलाई १० करोड क्लबमा पुर्याइदिनुभयो,' उनले भने, 'अझै धेरै माथि जान बाँकी छ। अझै पनि अपेक्षा गर्नेछु।'
अनमोलले आफ्नो भनाइको समापन गर्दै नम्रतापूर्वक एउटा इच्छा व्यक्त गरे।
'अन्त्यमा मेरो एउटै मात्र इच्छा, हे भगवान, चाहे म जति नै सफल किन नहोऊँ, ममा कहिल्यै पनि अहमता नआओस्।'
सुयोग गुरूङ निर्देशित 'जेरी अन टप' शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। फिल्ममा अनमोलसहित जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे लगायतको अभिनय छ।