नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा एक दिवसीय 'चीन चलचित्र दिवस' को आयोजना गरिएको छ।
पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त प्रमुख अतिथि रहेको समारोहमा कलाकार नीर शाह, सुनिल थापा, केदार घिमिरे (माग्नेबुढा) लगायत नेपाली चलचित्र र साहित्यसँग सम्बन्धित व्यक्तित्वहरूको साथमा चिनियाँ फिल्ममेकर र कलाकारको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वर्षमान पुनले नेपालमा पहिलो पटक आयोजित चीन चलचित्र दिवसमा सहभागी हुन पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताए।
'यो सांंस्कृतिक सम्बन्धको उत्सव हो। यसले हामी दुईका चलचित्रमार्फत हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्धत मिल्ने विश्वास लिएको छु,' उनले भने।
त्यस्तै आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध ठूलो कुराको लागि एउटा सुरूवाती प्रवेशद्धार रहेको उल्लेख गरे।
'नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी सम्बन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो', उनले भने।
चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए। 'हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चाइना र नेपाल बीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ,' उनले भने।
चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालका वर्षहरूमा चीन चलचित्रहरूका लागि विश्वको ठुलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायांकन भएको सन्दर्भ उल्लेख गर्दै भने, 'अघिल्लो वर्ष नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालमा २०२५ मा चिनियाँ फिल्म फेस्टिभल गर्ने सम्झौता भएको थियो। यस वर्ष चीन र नेपाल बीचको कुटनीतिक सम्बन्ध ६० वर्षको हो र यस वर्ष नेपाल पर्यटन वर्ष पनि हो। दुई देशबीच उत्सव शृंखलाको रूपमा यस चीन चलचित्र दिवस कार्यक्रमले दुई देशका चलचित्र निर्माताबीचको सहयोग आदान प्रदान का लागि प्लेटफर्म प्रदान गर्नेछ।'
चलचित्र दिवसमा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ सहित चर्चित चलचित्र 'जी फर ग्याप' की अभिनेत्री तथा दुईपटक गोल्डेन रुस्टर अवार्ड जितेकी यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, टाइगर पिक्चर्स इन्टरटेनमेन्टका प्रमुख ओवेन यङ फिल्म 'पर्सनल पर्सिसटेन्स' का निर्देशक जिङ जिआओ, 'लाइफ अफ लुओसाङ' का पटकथा लेखक लु वेइ र निर्देशक झाङ गुदोङ, फिल्म 'मिडसमर भोइस' का निर्देशक झाङ युडी लगायतको टोली कार्यक्रममा उपस्थित थिए।
क्यूएफएक्स सिनेमाको छायाँ सेन्टरमा आयोजित कार्यक्रममा यीहुई साओ निर्देशित 'हर स्टोरी' युडी झाङ निर्देशित 'मिडसमर्स भ्वाइस' र फेई लङ निर्देशित 'जी फर ग्याप' प्रदर्शन गरिएको छ। चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा फिल्म जी फर ग्यापमा आफ्नो अभिनयले दर्शकहरूमाझ लोकप्रियता कमाएकी गोल्डेन रूस्टर अवार्ड विजेता अभिनेत्री यु होङको समेत उपस्थिति थियो।
चलचित्र प्रदर्शनपछि तीन वटै चलचित्रका निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गरिएको थियो।