गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशन रहेको पहिलो फिल्म 'वसन्त' को पोस्टर सार्वजनिक गरिएको छ।
फिल्म रिलिज हुन ३ महिना बाँकी रहँदा उनले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।
पोस्टरमा प्रकाश स्वयं फिचर्ड छन्। जसमा उनको पात्र अध्ययनशील देखिन्छ। भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातको तस्वीर सामुन्ने उनी अध्ययन गरिरहेको देखिएका छन्। 'वसन्त' मा कथा र संगीत पनि प्रकाशकै छ।
पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणमा व्यस्त हुँदाको अनुभव सेयर गरेका छन्। उनले फिल्म निर्माणमा व्यस्त हुँदा नचाहेर पनि धेरै कुरा छाड्नु परेको बताएका छन्।
गीत, स्टेज, फिल्मको प्रचारमा समय दिन नसकेको बताएका छन्। यसका कारण आफ्नो आलोचना भएको समेत उल्लेख गर्दै आफू 'वसन्त' मा सफल भए यसबाट गुमेका सबै कुरा फिर्ता हुने उनको विश्वास छ।
उनले 'वसन्त' निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन्। यो फिल्म आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन्। यो फिल्म निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा आफूले मन्दिर ठानेको देश–विदेशका कार्यक्रम जान नपाएको बताएका छन्।
प्रकाश फेसबुकमा लेख्छन्- 'मैले वसन्तमा म भित्रका सबै रंगहरू पोखेको छु। यदि वसन्त तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ। यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो। मेरो सीमितता यहीसम्म हो। मैले यहाँभन्दा थप केही जान्दिनँ, यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, वसन्त जति। मलाई विश्वास छ, वसन्तले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ।'
फिल्ममा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादे लगायत कलाकारहरूको अभिनय छ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा मोहन विश्वकर्मा र विन्दू बोहरा निर्माता छन्। कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन्।
प्रकाश सपुतको डेब्यु फिल्म 'परदेशी–२' सुपरहिट भएको थियो। हालै प्रदर्शनमा आएको उनको दोस्रो फिल्म 'पूर्णबहादुरको सारंगी' ले कीर्तिमानी व्यापार गरेको थियो।
'वसन्त' प्रकाशको अभिनयका हिसाबले तेस्रो फिल्म हो। फिल्म चैत २२ गतेदेखि प्रदर्शनमा आउनेछ।