गुड फ्राइडे सिनेमा
सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ।
बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्यो।
गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सिएको छ।
बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक नदेखिनु पनि अस्वाभाविक लाग्दैन। तैपनि मसालेदार सिनेमासँगै यहाँ स्वतन्त्र सिनेमा निर्माणका केही सार्थक प्रयासहरू भएका छन्।
यस्तै प्रयासमध्ये एक हो 'अल्फा'। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउन सफल यो बंगाली फिल्म नशिरूद्दिन युसुफले निर्देशन गरेका हुन्।
यो रिक्सा पेन्टर अल्फाको कथा हो।
ताल छेउ बाँस ठड्याएर बनाएको घरमा उनी एक्लै बस्छन्। तर उनी बस्ने झोपडपट्टी क्षेत्रका मानिससँग उनी नजिक छन्। पेन्टिङको समयमा बाहेक उनी बाँसुरी बजाएर वा ध्यान गरेर समय बिताउँछन्। सानोमा सडकमा हराएको अल्फालाई खेलौना बनाएर बेच्ने पसलेले हुर्काएका हुन्छन्। अल्फालाई हुर्काउने उनका बुबा कर्फ्युको समयमा सुरक्षाकर्मीको गोलीबाट मारिएका हुन्छन्। जुन घटनाले उनलाई सपनामा पनि झस्काइराख्छ।
सपनामा शव देख्ने अल्फा बस्ने तालको किनारमै एक दिन शव देखा पर्छ। त्यो घटनाले उनको मानसिकता खलबलाउँछ। लाससँग अनौठो संवाद गर्न थाल्ने अल्फाको जीवनमा र फिल्मको कथामा त्यो लासले कस्तो अर्थ राख्छ? यो रोचक छ।
फिल्मले अल्फासँगै झोपडपट्टी क्षेत्रका पात्रहरूको कथा पनि भन्छ। स्वैरकाल्पनिक र रहस्यमयी 'अल्फा' कथावाचन शैली र 'भिजुअल ट्रिटमेन्ट'का हिसाबले राम्रो छ नै, मानवीय संवेदना र सामाजिक पाटोबाट पनि महत्वपूर्ण छ। यसले ढाका सहरभित्रका सीमान्तकृत सडक बालक र तेस्रो लिंगी समुदायका पात्रको संघर्षसँगै अपराधका घटना पनि देखाएको छ।
मुख्य पात्रको भूमिकामा अलामगिर कबीरले सामाजिक बेथितिबाट विचलित बनेको कलाकारको भूमिकामा राम्रो अभिनय गरेका छन्। अल्फाकै आँखाबाट फिल्मले वर्तमान बंगलादेशी मान्छेको जीवनको मूल्य र अस्तित्वको कथा भन्छ।
सन् २०१९ मा रिलिज भएको यो फिल्म अस्करमा पनि पठाइएको थियो। तर छनौट भएन।
यही कथा आज हेर्नुहोस् गुड फ्राइडे सिनेमामा। यसमा अंग्रेजी सबटाइटल उपलब्ध छ।