गुड फ्राइडे सिनेमा
यो फिल्मको सुरूआत मास्टर मोशिनको आवाजबाट हुन्छ। उनी न्यायाधीशलाई अदालतमा थाँति रहेका मुद्दाहरू चाँडै सल्टाउन धम्की दिइरहेका छन्।
न्यायाधीशले उनलाई उल्टै हप्काउन खोज्छन् र तँ को होस् र मलाई आदेश दिने भन्छन्। तर मोशिन आफूलाई मालिक भन्छन् र आदेश मालिकले नै दिने बताउँछन्।
सबै सुरक्षा घेरा पार गरेर आएका मोशिनको कुराले न्यायाधीश तर्सिन्छन्। यत्तिबाटै थाहा हुन्छ मालिक कति शक्तिशाली छन्!
त्यसपछि कथा अर्को दृश्यमा जान्छ जहाँ एक धनी व्यापारी अल्ताफका छोरा जिम जाँदै गर्दा अपहरणमा पर्छन्। प्रहरीबाट कुनै मद्दत नपाएपछि अल्ताफ एक निजी सुरक्षा फर्ममा पुग्छन्।
त्यहाँ पुगेर उनले भन्छन्- म मालिकलाई भेट्न आएको।
एक व्यक्ति उनलाई पछाडि फर्केर हेर्न भन्छन् जहाँ ऐना हुन्छ। अल्ताफले आफ्नै अनुहार देख्छन्। अर्थात् मालिक अल्ताफ आफैं हुन्।
तर अल्ताफलाई यो कुरा बुझ्न अलि कठिन हुन्छ। यो सुरक्षा फर्मका सञ्चालक हुन्छन् पूर्वमेजर अशाद। उनले अल्ताफलाई कुरा बुझाउन खोज्छन्। छोरा जसरी पनि भेट्टाइदिने तर आफ्नो एक शर्त मान्नुपर्ने बताउँछन्।
शर्त हुन्छ- भोलि कसैले मद्दत माग्न आयो भने पछि नहट्नू।
अल्ताफले बचन दिन्छन्।
अशादको टिम एकदमै स्मार्ट हुन्छ। तीक्ष्ण जनशक्ति र प्रविधिको मद्दतमा उनीहरू अल्ताफका छोरालाई फर्काउन सफल हुन्छन्।
यसपछि अशाद आफ्ना बुवासँग बिदा मागेजस्ता देखिन्छन्। उनका बुवा पनि पूर्वसेना हुन्। अशादकी एक छोरी मात्र हुन्छिन्।
अशाद बुवासँग बिदावारी भएर प्रहरीकहाँ पुग्छन् र आफू आत्मसमर्पण गर्न आएको भन्छन्।
प्रहरीले किन भनेर सोध्दा उनले आफूले दुई वटा हत्या गरेको भन्छन्।
पूर्वसेना भएकाले लडाइँको भूमिमा भएको हत्या हो कि भनेर प्रहरीले जान्न खोज्छन्। अशादले त्यस्तो नभएको बताउँछन्। उनले पूरा होसहवासमा नियतवश दुई जनाको हत्या गरेको भन्छन्।
उनले हत्या गरेको कुनै उजुरी परेको हुँदैन, कोही प्रत्यक्षदर्शी हुँदैन, कुनै प्रमाण हुँदैन। तैपनि उनी आफूले हत्या गरेको भन्दै प्रहरीकहाँ पुगेका हुन्छन्।
प्रहरी आफैं चकित खाएर सोध्छन्, 'आखिर कसको हत्या गर्नुभयो?'
यसपछि कथा पुग्छ अशाद मेजर हुँदाको बेलामा। उनी सफल र इमानदार सेना हुन्छन्। उनकी श्रीमती गर्भवती हुन्छिन् जसलाई उनी औधी प्रेम गर्छन्।
अशादको यो खुसहाल जीवनमा एक दिन आँधी आउँछ। यो आँधीमा सोहोरिँदै सोहोरिँदै उनी पाकिस्तानी राजनीतिको घेराभित्र पुग्छन्। यहीँबाट उनको जीवनले 'यु टर्न' मार्छ। त्यही मोडमा उनीसँग शक्तिशाली राजनीतिक व्यक्तिहरू ठोक्किन आइपुग्छन्।
आखिर अशाद कहाँ पुगेका हुन्छन्? त्यो कस्तो मोड हुन्छ? उनको परिवारको के हुन्छ?
योभन्दा रोचक, उनी मालिक कसरी बन्छन्? अरूलाई पनि किन मालिक भन्छन्! खासमा मालिक को हो?
कथा पूरै जान्न भने हेर्नुहोला पाकिस्तानी फिल्म 'मालिक'।
सन् २०१६ मा रिलिज भएको यो राजनीतिक थ्रिलर फिल्म पाकिस्तानमा प्रतिबन्ध लगाइएको थियो। सेन्सर बोर्डले तीन पटकसम्म हेरेर स्वीकृत गरे पनि सरकारले यसलाई चल्न दिएन। सेन्सर बोर्डबाट स्वीकृत भएर पनि सरकारले चल्न नदिएको एक मात्र पाकिस्तानी फिल्म यही हो। यसको मुख्य कारण यसमा देखाइएको राजनीतिक कथा नै हो।
सत्तादेखि अफगानी शरणार्थीमाथि भइरहेको राजनीतिलाई फिल्म कथानक रूपमा प्रस्तुत गरेको छ।
मालिक फिल्म आदर्श, प्रेम, आत्मसम्मान, त्याग र साहसको कथा हो। यसले पाकिस्तानी समाज र राजनीति तथा कर्मचारीतन्त्रको राम्रो र नराम्रो पक्ष उजागर गरेको छ।
यसैकारण पनि फिल्म सरकारले रूचाएन र चल्न दिएन। तर पाकिस्तानी र अरू देशका दर्शकले यसलाई धेरै रूचाए। समीक्षकहरूले पनि यसलाई उत्कृष्ट फिल्मको दर्जामा राखेका छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले यही पाकिस्तानी फिल्म सिफारिस गरेका छौं।