फिल्मी पर्दाको गीत होस् वा म्युजिक भिडिओमा, हिरो-हिरोइनले नाचेको पक्कै देख्नुभएको छ। कुन हिरो-हिरोइन रहेछन् भनेर अधिकांशले याद पनि गर्नुभएको छ।
तर तपाईंहरूले कहिल्यै उनीहरूका पछाडि नाच्ने युवाहरूको समूहलाई याद गर्नुभएको छ?
मुख्य कलाकारको नाचको दृश्य अझै आकर्षक बनाइदिने 'ब्याक-ग्राउन्ड डान्सर' हरू कति जनालाई चिन्नुहुन्छ?
पर्दापछाडि बसेरै पर्दाको मुख्य अंग बनेको यस्तो समूहलाई धेरैले कोरस भनेर चिन्छन्। तर उनीहरूलाई कोरस भनेको मनपर्दैन। उनीहरूलाई यो शब्दसँग समस्या होइन। कतिपयले होच्याएर 'कोरसे', 'कोरस ज्यू' भन्दै बोलाएको सुन्दा तीतो लाग्ने बताउँछन् देवराज सापकोटा।
देवराज ब्याक-ग्राउन्ड डान्सर हुन्।
डेढ दशक बितिसक्यो, उनी हिरो-हिरोइनको पृष्ठभूमिमा नाचेको, आफूले नृत्य सिकाएकाहरूलाई नचाएको।
'एउटा गीतको भिडिओ उत्कृष्ट बनाउन ब्याक-ग्राउन्ड डान्सरको पनि उत्तिकै भूमिका हुन्छ। तर उनीहरूको खासै चर्चा हुँदैन,' देवराजले भने, 'त्यसो त उनीहरूलाई चर्चामा आइन्छ भन्ने लोभ पनि हुँदैन। किनकि ब्याक-ग्राउन्ड डान्सरकै रूपमा आफ्नो भविष्य बनाउँछु भन्नेहरू विरलै हुन्छन्।'
उनका अनुसार केही आफ्नो नाच्ने रहर पूरा गर्न ब्याक-ग्राउन्ड डान्सर बन्छन्। कोही जीवनका विभिन्न चरणमा पाएको खाली समय सदुपयोग गर्न आउँछन्।
देवराज पनि करिब १५ वर्षअघि रहरै रहरमा आएका थिए।
उदयपुरमा जन्मिएका उनलाई सानैदेखि नाच्न रूचि थियो। कतै गीत बज्यो भने पनि नाच्न थालिहाल्थे। गाउँबाटै एसएलसी दिएपछि उनले काठमाडौं आएर पढ्दै नृत्य सिक्ने सोचे।
नृत्य सिक्दा उनलाई लाग्थ्यो — फिल्ममा नाच्न पाए हुन्थ्यो!
केही महिनामै उनले म्युजिक भिडिओमा नाच्ने अवसर पाउन थाले। थुप्रै म्युजिक भिडिओमा ब्याक-ग्राउन्ड डान्सरका रूपमा काम गरेपछि उनले फिल्मी गीतमा पनि आफ्नो कला देखाउने अवसर पाए।
फिल्मका गीत, लोक गीत र अरू गीतका म्युजिक भिडिओ गरी उनले ५ हजार वटाभन्दा बढी गीतमा ब्याक-ग्राउन्ड डान्सरको रूपमा काम गरिरसकेका छन्।
आज उनको पहिचान यतिमै सीमित छैन, उनी ब्याक-ग्राउन्ड डान्सरका संयोजक भइसकेका छन्।
कसैलाई ब्याक-ग्राउन्ड डान्सर चाहियो वा कसैलाई यो क्षेत्रमा आएर नाच्ने रूचि छ भने उनलाई सम्पर्क सक्छन्।
देवराजले यो काममा विगत दस वर्षदेखि नवराज रिजालसँग सहकार्य गरिरहेका छन्। नवराज पनि ब्याक-ग्राउन्ड डान्सरबाटै संयोजक बनेका हुन्।
कामको हिसाबले देवराजको भन्दा नवराजको अनुभव बढी छ। त्यसमाथि फिल्मी गीतमा उनले धेरै काम गरेका छन्।
यी दुई सहकर्मीलाई सहकार्य गर्ने सुझाव कोरियोग्राफर कविराज गहतराजले दिएका हुन्। उनीहरूले आफ्नो समूहको नाम भने राखेका छैनन्।
'हामी नाममा भन्दा पनि काममा विश्वास गर्छौं। त्यसैले कुनै नाम राखेनौं। हामी सबै जना नेपाल चलचित्र नृत्य संघमा आबद्ध भएर काम गरिरहेका छौं,' देवराजले भने।
धादिङका नवराजले २०५६ सालदेखि ब्याक-ग्राउन्ड डान्सरका रूपमा काम सुरू गरेका हुन्। लगभग आठ महिना सिकेपछि उनलाई फिल्ममा नाच्ने प्रस्ताव आएको थियो।
'मैले पहिलोपटक कमल राईको फिल्म अप्सरामा नाचेको थिएँ। 'सुपारीको बोटैमा बेलौती पाक्यो' गीतमा नाचेपछि निकै रमाइलो लाग्यो,' नवराजले भने।
आफू पहिलोपटक नाचेको गीत हेर्न निकै उत्साहित थिए उनी। तर पर्दामा उनको उत्साह मेटिने गरीको दृश्य थिएन।
'ऊ...म भन्दा भन्दै पर्दाबाट गायब भएँ। अरूले नचिने पनि आफू कहाँ थिएँ भन्ने त थाहा हुन्छ नि,' उनले सम्झिए।
उनी फिल्मी गीतमा नाच्छन् भनेर परिवारलाई समेत थाहा थिएन। गाली खाइन्छ भनेर एक वर्षपछि मात्रै सुनाएको उनले बताए। पहिलेपहिले नाच्नुलाई कलाका रूपमा सम्मान सबैले दिन्थेनन्।
नवराज भने फिल्मी गीतमा फरक फरक ठाउँमा गएर नाच्न पाउँदा फुरूंग हुन्थे। फुरूकफुरूक गर्दै यो क्षेत्रमा २६ वर्ष बितेको थाहै भएन उनलाई।
'शान्ता नेपाली र कमल राई सरको पालामा थोरै बजेट भए पनि फिल्म धेरै बन्थ्यो। दिनरात कहिल्यै खाली हुँदैन थियो। त्यति बेला एउटा फिल्मी गीतमा नाचेको एक हजार रूपैयाँ पाइन्थ्यो। म्युजिक भिडिओ त अहिलेजसरी बन्दैन थियो,' उनले भने।
पहिला एउटा फिल्मी गीत सक्न जति दिन लागे पनि एक हजार रूपैयाँ पारिश्रमिक दिइन्थ्यो। अहिले दिनका हिसाबले दिइन्छ। उनीहरूका समूहका ब्याक-ग्राउन्ड डान्सरले दिनको दुई हजार रूपैयाँ पाउँछन्।
अहिलेका ब्याक-ग्राउन्ड डान्सरहरू देवराज र नवराजजस्तो लामो समय यही क्षेत्रमा अडिँदैनन् पनि।
देवराजका अनुसार अहिले ब्याक-ग्राउन्ड डान्सरहरू दुईदेखि चार वर्षसम्म मात्र काम गर्छन्। उनले दस हजारभन्दा धेरै डान्सरसँग काम गरिसके। तर उनको टिममा सय जना मात्र छन्। कोही बिहे गरेर जाने, कोही विदेश जाने, कोही आफ्नो घर फर्किने भइरहन्छ। अलिकति उमेर भइसकेकालाई फिल्मकर्मीले पनि नबोलाऊ भन्ने गरेको उनी बताउँछन्। त्यसैले पनि ब्याक-ग्राउन्ड डान्सर परिवर्तन भइरहन्छन्। यही क्षेत्रलाई कर्मथलो बनाएर लाग्छु भन्ने कमै हुन्छन्।
त्यसो त देवराजले पनि यो क्षेत्र छाड्ने नसोचेका होइनन्।
'दुई–चारवटा गीतमा नाच्यो भने गाउँमा गएर सबैलाई देखाउन पाइन्छ, यो कलाकारसँग नाचेको भन्ने रहरै रहरमा दस वर्ष बित्यो,' उनले भने, 'त्यसपछि आफ्नो रहर मात्र पूरा गरेर नहुने रहेछ भनेर विदेश गएँ। तर यहाँ जति कमाउँथे, त्यहाँ त्यति पनि कमाइ भएन।'
दुई वर्ष साउदी अरब बसेपछि उनी नेपाल फर्किए। आएर पुरानै कामलाई निरन्तरता दिए। यो कामबाटै आफू सन्तुष्ट भएको उनी बताउँछन्। कमाइ भने सन्तोक लाग्दो छैन।
'यो जागिर जस्तो होइन। सधैं काम हुँदैन। त्यसैले कहिलेकाहीँ त कोठा भाडा तिर्ने पैसा समेत हुँदैन,' देवराजले भने, 'हामीलाई रासन घरबाटै आउने भएर टिकिरहेका छौं। पछिल्लो समय भने एउटै गीतमा दुई सय जनासम्म ब्याक-ग्राउन्ड डान्सर राख्न थालिएको छ। एक जनाको एक सय रूपैयाँ लिँदा पनि घर खर्चसम्म चल्ने रहेछ भन्ने भएको छ।'
'छक्का पन्जा', 'प्रेमगीत' लगायत थुप्रै चर्चित फिल्मका गीतमा देवराज र नवराजको समूहले काम गरेको छ। हाल 'पशुपति प्रसाद २' को गीतका लागि तयारी गर्दैछन्।
देवराज-नवराज समूहका युवाहरू सिनामंगलस्थित एउटा डान्स स्टुडियोमा नाच सिक्छन्।
नृत्य सिकिरहेकीमध्ये एक हुन् जमुना लामिछाने।
धादिङकी जमुनालाई सानैदेखि नाच्न मन लाग्थ्यो। स्कुलमा हुने प्रायः कार्यक्रममा नाच्थिन्। नाच्न रूचि भए पनि ब्याक-ग्राउन्ड डान्सर बन्छु भन्ने थिएन। कलेजमा पढ्दै गर्दा उनलाई साथीले देवराज-नवराजको समूहसँग सम्पर्क गराइदिइन्।
तीन वर्षदेखि ब्याक-ग्राउन्ड डान्सरका रूपमा काम गरिरहेकी जमुनाले भनिन्, 'आफूलाई रूचि भएको काममा लाग्दा रमाइलो हुन्छ भनेर आएकी हुँ। तर ब्याक-ग्राउन्ड डान्सरकै रूपमा भविष्य देख्दिनँ। सधैं यही काम गरेर हुँदैन।'
आफूलाई गैरसरकारी संस्थामा काम गर्ने रहर भएको उनले बताइन्।
उनीसँगै नाच सिकिरहेकी अर्की युवती हुन् एरिता राई। उनले ब्याक-ग्राउन्ड डान्सरका रूपमा काम गर्न थालेको सात महिना मात्र भयो। खोटाङकी एरिता पनि आफ्नो बालापनदेखिको रूचि पछ्याउँदै यहाँसम्म आइपुगेकी हुन्।
ब्याक-ग्राउन्ड डान्सर बन्नुअघि उनी इसाई धर्मावलम्बीहरूले तयार पारेको गीतको भिडिओमा नाच्थिन्। कोरियोग्राफर राजाराम सिंखडासँग उनको चिनजान थियो।
एकदिन राजारामले सोधे, 'नियमित रूपमा भिडिओमा नाच्छौ कि कहिलेकाहीँ मात्र हो?'
उनले 'म क्रिश्चियन भिडिओमा मात्रै नाच्छु' भनिन्।
राजारामले नै उनलाई देवराज र नवराजसँग चिनजान गराइदिए।
'पहिला आफ्नै रहरले आएकी थिएँ। अहिले यसलाई कामका रूपमा लिएकी छु,' प्लस-टुको पढाइ सकेर बसेकी एरिताले भनिन्, 'तर यसैलाई निरन्तरता दिने सोच बनाएकी छैन। केही समयपछि विदेश जान्छु होला।'
तीन वर्षदेखि ब्याक-ग्राउन्ड डान्सरका रूपमा काम गरिरहेका नामग्याल लामालाई भने यही क्षेत्रमा लामो पाइला सार्ने इच्छा छ।
आफूलाई 'टाइगर' भनेर चिनाउने नामग्याल कोरियोग्राफर हुन चाहन्छन्।
'ब्याक-ग्राउन्ड डान्समा त खासै भविष्य छैन। तर यही क्षेत्रमा निरन्तरता दिन्छु,' उनले भने, 'कोरियोग्राफर हुने इच्छा छ।'
नामग्याल फिल्मको मोहले यहाँसम्म आइपुगेका हुन्। उनी फिल्म हेर्न रूचाउँथे। कलाकार बन्ने मन थियो तर नाच्न आउँदैन थियो। कलाकार बन्न नृत्यु आउनुपर्छ भन्ने सोचेर उनी काभ्रेबाट काठमाडौं आए।
यहाँ एक वर्ष कोरियोग्राफर राहुल शाहसँग नाच सिके।
'नाच सिकेँ, आफूलाई पनि खर्च चाहिने भएपछिर ब्याक-ग्राउन्ड डान्सरका रूपमा गर्न थालेको हुँ,' उनले भने।
सुरूसुरूमा उनी आफू नाचेको भिडिओहरू रोकीरोकी हेर्थे। आफू यहाँनिर छु भनेर दंग पर्थे। गाउँ जाँदा साथीहरूले 'तिमीलाई देखेको थिएँ' भन्दा खुसी हुन्थे।
उनले पहिलोपटक प्रदीप खड्का अभिनीत फिल्म 'प्रेमगीत ३' को 'हात्ती ढुंगामा' गीतमा नाचेका थिए।
त्यो बेलाको अनुभव साट्दै भने, 'कलाकारलाई टिभीमा हेर्दा छुट्टै हुन्छन् जस्तो लाग्थ्यो। तर सँगै काम गर्दा सामान्य नै लाग्यो।'
सेटमा भने मुख्य कलाकार र आफूहरूलाई गर्ने व्यवहार फरक हुने उनी बताउँछन्।
'कलाकारलाई भोक लाग्यो भने एकचोटि भनेपछि खाना आउँछ। हामीले भने बारम्बार कराएर बस्नुपर्छ,' उनले भने।
चुनौतीहरू भए पनि नामग्याल यही क्षेत्रमा केही गर्न सकिन्छ कि भन्नेमा आशावादी छन्।
ब्याक-ग्राउन्ड डान्सरका संयोजक देवराज यो क्षेत्रमा आकर्षण नहुनुको कारण कम पारिश्रमिकलाई पनि मान्छन्। सधैं काम नहुने र कमाइ पनि थोरै हुने भएकाले अधिकांशले यसमा भविष्य नदेखेको उनले बताए।
उनका अनुसार अहिले एउटा फिल्ममा काम गर्दा एक जना ब्याक-ग्राउन्ड डान्सरको भागमा ५ हजार रूपैयाँ जति पर्छ। त्यति पाउन तीन दिन काम गर्नुपर्छ। यो पनि नियमित हुने होइन।
'एउटा गीतका लागि ब्याक-ग्राउन्ड डान्सरको भूमिका एकदमै महत्वपूर्ण हुन्छ। धेरै मेहनत गर्नुपर्छ र दुःख पनि त्यत्तिकै हुन्छ,' उनले भने, 'मुख्य कलाकारलाई अगाडि नै राखेर सिकाउन पाइन्छ तर ब्याक-ग्राउन्ड डान्सर धेरै जना हुने भएकाले सम्भव हुँदैन। उनीहरूलाई सेटमै सिकाउनुपर्छ।'
अर्कातिर यो काममा अपजस पनि धेरै आउन सक्छ।
मुख्य कलाकारले नाच बिगारे गाली गर्ने कुरा हुँदैन। तर ब्याक-ग्राउन्ड डान्सरले बिगारे गाली खान्छन्। त्यस्तै उनीहरूले जति नै मिलाएर नाचे पनि मुख्य कलाकारले नमिलाउन्जेल नाचिरहनुपर्छ।
'धेरै दुःख र मेहनतको काम भए पनि पारिश्रमिक र सम्मानको कमीले यो क्षेत्रमा भविष्य बनाउनेहरू विरलै हुन्छन्,' देवराजले भने।