यो कथा हो राजा रवि वर्माको। उनी कुन देश वा राज्यका राजा हुन्, कसैलाई थाहा छैन। स्वयं रवि वर्मालाई सोध्दा पनि भन्न सक्दैनन्।
तर उनी आफूलाई राजा मान्छन्। अरूले पनि उनलाई राजा नै भनेर बोलाउँछन्।
राजखलकका पनि होइनन् उनी। बरू उनका बुवा राजाकहाँ काम गर्थे।
कहीँकतै राजासँग नाता नभएका रवि वर्मा कसरी राजा कहलिए?
यसको जवाफ दिन्छ उनको जीवनमा आधारित हिन्दी फिल्म 'रंग रसिया' ले।
यो फिल्म रवि वर्मा नामका वास्तविक पात्रको जीवनमा आधारित छ। खासमा रवि एक चित्रकार हुन्। उनको चित्रकारिताले उनको गाउँमा मात्र होइन, देशभर नाम कमाएको छ।
रविको जीवन उनले क्यानभासमा पोत्ने रङ जत्तिकै रंगीन छ। १९ औं शताब्दीका काबिल चित्रकार मानिन्छन् उनी। उनको काम कति प्रशंसनीय थियो भनेर जान्न एउटा उदाहरणले दर्शाउँछ।
रविले हिन्दु धर्मका विभिन्न देवदेवीको चित्र बनाएका थिए। उनका चित्र यति जीवन्त थिए कि मानिसहरूले त्यसमा साक्षात ईश्वर देखे। त्यसअघि भगवान मन्दिरमा मूर्तिका रूपमा मात्र देखिन्थे। अझ गरिब र समाजबाट हेपिएका समुदायको घरमा भगवानको बासै हुन्थेन। उनीहरूले भगवानको स्वरूप देख्नै पाउँँदैन थिए।
रविले कोरेका भगवान पनि सुरूमा एकाध क्यानभासमै सीमित थिए। मानिसहरूले एक दिन त्यसमै भगवान देखे। रविले जुक्ति लगाए। आफ्ना ती चित्रकला छापेर देशभर फैलाए। यसले उनलाई नाम र दाम दुवै दियो। सबभन्दा ठूलो कुरा उनले बनाएका भगवान घरघरमा पुगे।
रविले भगवानहरूलाई अनुहार दिए। रूप दिए। उनले कोरेकै चित्र भारतीय र अन्य हिन्दु राष्ट्रहरूमा पाइने भगवानका सबैजसो पोस्टरका रूपमा पुग्थे।
तर ती भगवानका मुखाकृति, अनुहार र भावभंगी उनले कसरी परिकल्पना गरे?
रवि अदालतसम्म पुग्नुका पछाडिको कारण यही हो।
उनीमाथि थुप्रै आरोप लागे। उनले आफ्नो रंगमा रस मिसाएर अश्लीलता फैलाएको भन्दै आलोचना खेपे। यहाँसम्म कि पूजनीय भइसकेका उनका चित्रकला अश्लील भएको र समाजको अपमान गरेको भन्दै उनलाई कठघरामा उभ्याइयो।
अदालतमा गएर उनले आफ्नो सफाइ आफैं दिए।
उनले न्याय पाए कि पाएनन्? उनी कसरी राजा कहलिएका थिए? घरघरमा भगवान पुर्याउने यी चित्रकारको जीवन कसरी टुंगियो?
यसका लागि आज गुड फ्राइडे सिनेमामा हामीले सिफारिस गरेको 'रंग रसिया' हेर्नुहोला।
फिल्म हेर्न Watch on Youtube लेखिएको ठाउँमा क्लिक गर्नुहोला।