भारतीय सिनेमाको इतिहासमा गुलजारको पहिचान विशाल छ। सिनेमा क्षेत्रसँग विभिन्न भूमिकामा आधा शताब्दीभन्दा लामाे समयदेखि जोडिएका छन् उनी। गुलजार नाम लिनासाथ हामी स्वत: उनले रचेका मीठा गीत, कविता वा उनले निर्देशन गरेका राम्रा सिनेमा सम्झने भइसकेका छौं। यही नै उनको सफलता हो।
सन् १९७१ मा सार्वजनिक 'मेरे अपने' उनले निर्देशन गरेको पहिलो फिल्म हो। यसपछि 'आँधी', 'मौसम', 'खुशबु', 'परिचय', 'लेकिन', 'कोशिश', 'माचिस', 'नमकिन', 'अचानक', 'लिवास', 'अंगुर', 'किताब', 'हुतुतु' आदि उनका महत्वपूर्ण फिल्म हुन्।
फिचर फिल्ममा जस्तै टेलिफिल्म, टेलिशृंखला, वृत्तचित्र र छोटा फिल्मसमेत निर्देशन गरेका उनले आफ्नो कामबाट विभिन्न प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन्। 'स्लमडग मिलेनियर' को 'जय हो' बोलको गीतले अस्कर अवार्डसमेत पाएको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले उनै गुलजारको फिल्म 'इजाजत' सिफारिस गरेका छौं। दुई वटा नेसनल अवार्ड जित्न सफल इजाजत धेरै कारणले गुलजारको स्मरणीय फिल्म हो।
अविरल वर्षका कारण रेलवे प्लेटफर्ममा रात कटाउन एउटा मात्रै कोठा छ। यही कोठामा महिन्दर (नसिरूद्दिन शाह) र सुधा (रेखा) को वर्षाैंपछि भेट हुन्छ। कुनै समयका पतिपत्नी एक्कासि भेट्दा सुरूमा अपरिचित जस्तै बन्छन्। बिस्तारै उनीहरूको आँखा बोल्न थाल्छ। त्यसपछि संवाद गर्न थाल्छन्। जब उनीहरूको संवाद सुरू हुन्छ, दर्शक मौन भई घोत्लिन बाध्य हुन्छन्।
पत्रपत्रमा यी दुई पात्रलाई दर्शकमाझ चिनाउन निर्देशकले मौनता र संवादको सहारा लिन्छन्। उनीहरूको संकोच र आत्मीय हाउभाउको कथा बुझाउन फ्ल्यासब्याक र संगीतको सहारा लिन्छन्। त्यसपछि खुल्छ, महिन्दर र सुधाको वैवाहिक जीवनको जटिलता।
यो जटिलता ल्याउनमा महिन्दरको अतीतको प्रेम मुख्य कारण हुन्छ। फिल्ममा माया (अनुराधा पटेल) ले महिन्दरकी पूर्व प्रेमिकाको भूमिका निर्वाह गरेकी छन्।
महिन्दर र सुधाको वैवाहिक जीवनमा मायाको आगमनपछिको कथा थाहा पाउन पूरै फिल्म हेर्नुहोला।
फिल्मको कथा न्यारेट गर्ने शैली विशेष छ। तीन पात्रबीच जेलिएको प्रेम सम्बन्धका जटिलताले दर्शकको मनमा पार्ने सकस फिल्मको खासियत हो।
आरडी बर्मनको संगीत, आशा भोसलेको स्वर र गुलजारकै शब्दका गीतहरूले यो फिल्म अझ विशेष बनाएको छ। फिल्मका 'मेरा कुछ सामान', 'कतरा कतरा', 'छोटी सी कहानी' र 'खाली हात शाम आई' कहानीकै हिस्सा बनेर आउँछ।
'मेरा कुछ सामान' गीतका लागि आशा भोसले र गुलजारले राष्ट्रिय पुरस्कार र फिल्म फेयर अवार्ड जितेका थिए। सुबोध घोषले लेखेको फिल्मको कथाले पनि फिल्म फेयर अवार्ड जितेको थियो।