'आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!'
इरानी फिल्म हेरेपछि धेरैले यस्तो भनेका छन्, लेखेका पनि छन्।
आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ।
माजिद माजिदी यस्तै प्रख्यात फिल्म बनाउने निर्देशक हुन्। उनका फिल्ममा पनि यस्ता विशेषता भेटिन्छन्।
अझ उनी इरानका मात्र नभई संसारकै उत्कृष्ट निर्देशकमा गनिन्छन्। उनको फिल्म 'चिल्ड्रेन्स अफ हेभन' अस्कर मनोनयनमा परेको थियो। 'चिल्ड्रेन्स अफ हेभन' बाहेक 'कलर अफ पाराडाइज', 'बारान', 'द सङ अफ स्प्यारोज' आदि उनका अत्यधिक रूचाइएका फिल्म हुन्।
माजिदीका फिल्ममा मुख्य पात्रको जीवनमा आउने समस्या, संघर्ष, अड्चन र तिनै अनुभवबाट बदलिने जीवन दृष्टि महशुस गर्न पाइन्छ। उनले बालमनोविज्ञान र इरानी समाजको अभाव र गरिबीका विषय जीवन्त रूपमा पर्दामा उतारेका छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले उनको फिल्म 'बारान' सिफारिस गरेका छौं। पर्सियन भाषाको यो फिल्म अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ। संवाद नबुझे पनि दृश्यहरूले नै यसको कथा बुझ्न दर्शकलाई हम्मे पर्दैन। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय थुप्रै अवार्ड जितेको छ।
सन् २००१ मा रिलिज यो फिल्मले त्यो बेलाको कथा भन्छ, जुन बेला इरानको राजधानी तेहरानको बाहिरी भागमा अफगानी शरणार्थीहरू आएर बसेका थिए।
बारानको अर्थ वर्षात हो। तर तेहरानमा जाडो याम चलिरहेको छ। त्यही ठन्डीमा देखा पर्छन्, १७ वर्षीय लतिफ। उनी निर्माण क्षेत्रमा मजदुरहरूलाई खाना र चिया तयार गर्ने र बाँड्ने काम गर्छन्। अरूलाई चिढ्याउने र प्वाक्क बोल्ने बानीले उनको मजदुरहरूसँग ठाकठुक पनि परिरहन्छ।
मेमार नामका व्यक्तिको ठेक्कामा काम गर्ने ती मजदुरहरू इरानभरिबाट आएका हुन्छन्। विशेषगरी इरानियन अजरवैजानबाट। केही अफगानिस्तानबाट आएका शरणार्थी पनि हुन्छन्।
आफ्नो जीवन धान्न गुजारा चलाउन आइपुगेका उनीहरूको परिचयपत्र हुँदैन। उनीहरू गैरकानुनी रूपले काममा लगाइएका हुन्छन्। त्यसैले कामदारको निरीक्षण गर्न सरकारी अधिकारीहरू आउँदा उनीहरू लुक्नुपर्ने हुन्छ।
एकदिन एक अफगानी कामदार नजाफ भवनको दोस्रो तलाबाट खसेर घाइते हुन्छन्। उनको ठाउँमा अर्का अफगानी मजदुर सुल्तानले नाजाफका १४ वर्षीय छोरा रहमतलाई काम गर्न ल्याउँछन्। तर रहमत धेरै कलिला भएकाले निर्माणको काममा लगाउन हुँदैन भन्ने मेमारलाई लाग्छ। त्यसैले उनले लतिफको काम रहमतलाई दिन्छन् र लतिफलाई मजदुरीमा लगाउँछन्।
यो देखेर लतिफ रिसले आगो हुन्छन्। उनी रहमतसँग रिसाउँछन्। उनलाई कुट्छन्। गाली गर्छन्। उनको काम बिगारिदिन्छन्। उनीमाथि जासुसी पनि गर्छन्।
यही क्रममा लतिफले रहमतबारे यस्ता कुरा पत्ता लाउँछन्, जुन थाहा पाएर उनी चित खान्छन्।
त्यसपछि त लतिफको व्यवहारै बदलिन्छ। उनी रहमतलाई सघाउन थाल्छन्। उनलाई माया गर्न थाल्छन् र उनका संरक्षकझैं बन्छन्।
एकदिन फेरि निरीक्षकहरू आइपुग्छन्। रहमत आत्तिएर भाग्न खोज्दा निरीक्षकले देख्छन्। तर लतिफले रहमत भागुन्जेल उनीहरूलाई अल्झाइरहन्छन्।
यही कसुरमा लतिफले कुटाइ खान्छन् र उनी पक्राउ पर्छन्। यसबीच मेमार पनि फस्छन्।
त्यसपछि लतिफले रहमतलाई भेट्दैनन्। त्यसैले उनी रहमतलाई काममा ल्याउने सुल्तानको खोजी गर्न हिँड्छन्। तर सुल्तान पनि फेला पर्दैनन्।
आखिर लतिफ रहमतलाई खोज्न किन भौंतारिन्छन्? रहमतको के राज लतिफसामु खुलेको हुन्छ? के उनले सुल्तान वा रहमतलाई भेट्लान्? यसबीच उनको जीवनमा कस्ता मोड आइपर्छन्?
फिल्मको नाम बारानसँग लतिफको के सम्बन्ध हुन्छ?
'बारान' हेर्नुभयो भने यी सबै जिज्ञासा मेटिने छन्।