गुड फ्राइडे सिनेमा
'एक्स्ट्रा' कलाकारका रूपमा सिनेमामा प्रवेश गरेका विजय सेतुपति अचेल 'आम मान्छेसँग जोडिएका हिरो' (मकल सेल्वन) भनेर चिनिन्छन्। तमिल अभिनेता विजयलाई उनका प्रशंसकहरूले दिएको उपाधि हो यो।
सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका उनले सन् २००० को 'थेनमेरकु परुवाकातरू' मा पहिलो पटक मुख्य भूमिकामा काम गरेर देखाउने माैका पाए। तीन नेसनल अवार्ड जितेको यो फिल्मपछि थप काम गर्ने अवसर पाएका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को 'पिज्जा' हो।
पछिल्ला एक दशकमा विजयले पाएको सफलता लोभलाग्दो छ। उनी विगत एक दशकका सर्वाधिक सफल तमिल स्टार हुन्। सकारात्मक होस् वा नकारात्मक, जस्तोसुकै भूमिकामा काम गर्दा पात्रअनुसार ढल्न सक्ने विजय एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधामा फिट अभिनेता हुन्।
'सुपर डिलक्स' मा ट्रान्सजेन्डर बनेर नेसनल अवार्ड जितेका विजय गएको वर्षको ब्लकबस्टर 'मास्टर' मा ग्याङस्टर भवानीको भूमिकामा देखिएका थिए। 'पेट्टा' फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग 'टक्कर' लिएका थिए।
फरक विधाका फिल्म रोजेर चरित्रमा नयाँपन खोज्नु र आफूलाई बारम्बार प्रमाणित गर्न सक्नु अभिनेता विजयको सफलताको कारण हो। यहाँ चर्चा गरिएका प्रेम कथा, हरर र हास्यप्रधान तीन फिल्म मात्रले पनि विजयको सहज र जीवन्त अभिनय क्षमताको झलक दिएको छ।
पछिल्लो समय विजयले कमल हसनको मुख्य भूमिका रहेको 'विक्रम' मा खलपात्रको भूमिका निर्वाह गरेका थिए। उनको अभिनयको खुबै तारिफ पनि भयो।
त्यस्तै हालसालै अमेजन प्राइममा रिलिज भएको वेबसिरिज 'फर्जी' मार्फत् उनले बलिउडमा डेब्यु गरेका छन्। शाहिद कपुर र केके मेननसँगै विजयको पनि मुख्य भूमिका रहेको फर्जीले राम्रो प्रतिक्रिया पाएको छ। यसमा विजय प्रहरी अधिकारीको भूमिकामा छन्।
फर्जीपछि हिन्दीबाहेक अरू भारतीय भाषी फिल्म नहेर्ने दर्शकमाझ पनि विजयको चर्चा बढ्दै गएको छ।
उनले आफ्नो करिअरमा निकै राम्रा फिल्महरू खेलेका छन्। तीमध्ये धेरैजसो युट्युबमा हेर्न सकिन्छ।
उनको करिअरकै राम्रोमध्येको फिल्म हेर्न छुटाउनुभएको भए आजगुड फ्राइडे सिनेमामा हामीले '९६' सिफारिस गरेका छौं।
'९६' निकै रूचाइएको तमिल प्रेम कथा हो। सन् १९९६ मा मेट्रिक्स पूरा गरेका स्कुलका साथीहरूको रियुनियन भेलामा धेरै साथीसँगै राम र जानु २२ वर्षपछि भेटिन्छन्। एक अर्कालाई देखेर भावुक बनेका उनीहरू फेरि कक्षा कोठा र प्यासेजमा पुग्छन्।
राम र जानुको बाल्यकालको फ्ल्यासब्याक यात्राले तपाईंलाई पनि आफ्नो स्कुलको परिवेश, पहिलो प्रेम र किशोरवय उमेरमा पुर्याउन सक्छ। संकोच र काउकुतीले भरिएको किशोरवय उमेरमा प्रेम गर्ने सबैले मनका कुरा पोख्न सक्दैनन्। कारण, संकोच वा डर जे पनि हुन सक्छ। तपाईंलाई पनि यस्तै भएको छ भने फिल्मले तपाईंलाई पनि स्मृतिलोकमा पुर्याउनेछ।
स्कुल पढ्दाजस्तै राम अझै संकोची छन् र जानु पहिलाजस्तै स्पष्ट र हकी। त्यसैले २२ वर्षपछि भेटिँदा उनीहरू पहिलाजस्तै नदेखिए पनि पहिलाभन्दा बेग्लै छैनन्।
उनीहरूको मनमा अझै पनि एकअर्काप्रति सम्मान र माया उस्तै छ। नभएको त केवल समय हो। रियुनियन भेलाको रात बिहान बन्दा-नबन्दै जानुलाई फेरि सिंगापुर फर्किनु छ। रामलाई पुनः फोटोग्राफीमा लाग्नु छ।
तै पनि यी दुई पात्र समयलाई कैद गर्ने प्रयास गर्छन्। वर्ष ९६ लाई सम्झेर सुक्ष्मभन्दा सुक्ष्म क्षणमा बाँच्ने प्रयास गर्छन्। पात्रहरूको संवेदनासँगै दर्शकलाई पनि संवेदनशील बनाउने यो फिल्ममा विजय र तृष्णाको अभिनयसँग उनीहरूको किशोरावस्थाको भूमिका निर्वाह गरेका कलाकारको अभिनय पनि सुन्दर छ।
अभिनय, संगीतलगायत विधामा तीस वटाभन्दा धेरै अवार्ड पाएको तमिल फिल्म '९६' भारतका अन्य भाषामा पनि रिमेक भएका छन्। यो फिल्मबाट अभिनेता विजय सेतुपतिलाई 'मास हिरो अफ दि इयर' को अवार्डसमेत दिइएको थियो।
समीक्षकहरूले यो फिल्मलाई वर्षकै उत्कृष्टमध्ये एक भएको प्रतिक्रिया दिएका थिए।