गुड फ्राइडे सिनेमा
'ओम शान्ति ओम' फिल्ममा शाहरूख खानको एउटा संवाद छ — अगर तुम किसी चिजको दिलसे चाहो, तो पूरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग जाती है!
अर्थात्, यदि तिमी कुनै चिजलाई मनैदेखि चाहन्छौ भने नियति पनि त्यो चिज तिमीलाई दिलाउने कोसिसमा लाग्नेछ।
विश्वप्रसिद्ध लेखक पाउलो कोहलोले आफ्नो किताब 'अलकेमिस्ट' मा लेखेको यो भनाइ शाहरूखले उद्धृत गरेका हुन्। यो भनाइ अरू कसैको जिन्दगीसँग मेल खान्छ कि खाँदैन, त्यो त थाहा छैन तर शाहरूखकै जिन्दगीमा भने शतप्रतिशत मेल खाएको छ।
बलिउडले 'बादशाह', 'किङ–खान', 'रोमान्टिक किङ' लगायत उपमा दिएर माया गरेको शाहरूख खानले आफ्नो करिअरकै सबभन्दा सफल फिल्म दिएका छन्— पठान।
रिलिज भएको एक साताभित्रै सात सय करोड भारूभन्दा बढीको कारोबार गरिसकेको यो फिल्मको सफलताप्रति खुसी व्यक्त गर्दै शाहरूखले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, 'मेरो चार वर्षदेखिको पीडा यो फिल्मले चार दिनमै भुलाइदियो।'
सबैसँग हँसिमजाक गर्ने र पूर्ण आत्मविश्वासका साथ प्रस्तुत हुने शाहरूख खानले पछिल्ला थुप्रै वर्षदेखि असफलताको पीडा आफ्नो मनमा लुकाएर राखेका थिए। खासमा भन्ने हो भने शाहरूखले सफलताको स्वाद नचाखेको लगभग एक दशक नै भइसकेको थियो।
'फ्यान', 'जब ह्यारी मेट सेजल', 'जिरो' जस्ता फिल्महरू एकपछि अर्को फ्लप भए। त्यसअघि रिलिज 'दिलवाले' ले राम्रै कमाइ गरे पनि त्यो फिल्मले शाहरूखको करिअर ग्राफ माथि उकास्न मद्दत गरेन। पछिल्लो चार वर्षदेखि त उनको कुनै फिल्म रिलिज नै भएको थिएन। यी सबैलाई हेरेर कतिपयले नब्बेको दशकमा उदाएका यी अभिनेताको करिअर समाप्त भयो भनेर पनि भन्ने गरेका थिए।
यस्ता तमाम आलोचनाको पीडा मनमा बोकेर बसेका शाहरूखले 'पठान' को ब्लकबस्टर सफलतासँगै बलिउडमा कम्ब्याक गरेका छन्।
उनले यो पनि साबित गरेका छन् — हरेक मान्छेको जिन्दगीमा सफलता, असफलता आइरहन्छ तर असफलताबाट हरेस नखाई जो कर्ममा तल्लीन रहन्छ, उसलाई भाग्यले पनि साथ छाड्दैन, एक न एक दिन उसले सफलता अवश्य पाउँछ।
पाउलो कोहेले 'अलकेमिस्ट' मा लेखेझैं। शाहरूखले 'ओम शान्ति ओम' मा भनेझैं।
यसै सन्दर्भमा आज हामी 'गुड फ्राइडे सिनेमा' अन्तर्गत शाहरूख खानको एउटा पुरानो फिल्म तपाईंहरूलाई सिफारिस गर्दैछौं।
शाहरूखले आफ्नो करिअरमा अनगिन्ती सुपरहिट फिल्म दिए, कयौं अवार्ड पनि जिते तर त्यस्ता फिल्महरू कमै छन् जसमा उनको अभिनयको पनि तारिफ भएको छ। 'राजु बन गया जेन्टलम्यान' त्यस्तै फिल्ममध्ये एक हो।
यो फिल्म हेर्नुभन्दा अगाडि यसका दुइटा विशेषताबारे हामी तपाईंहरूलाई जानकारी गराउन चाहन्छौं।
पहिलो, सन् १९९२ मा रिलिज भएको यो फिल्मको कथावस्तु झट्ट हेर्दा शाहरूखकै जीवनसँग मेल खान्छ। फिल्ममा शाहरूखले दार्जिलिङका युवा राजुको भूमिका गरेका छन्। इञ्जिनियरिङ पढेका उनी ठूलो सहरमा गएर आफ्नो करिअर बनाउन चाहन्छन्, नाम–दाम कमाउन चाहन्छन्।
उनी सहर आउँछन् र आफ्नो करिअर बढाउन खुब संघर्ष गर्छन्। करिअरको बाटोमा आउने तमाम अड्चनहरू पन्छाउँदै अघि बढ्छन्। उनको निम्ति करिअरको सफलताका अगाडि अरू कुनै पनि चिजको खासै ठूलो अर्थ छैन — न नाता–सम्बन्ध, न प्रेम।
शाहरूख पनि फिल्मी करिअरमा छलाङ मार्न दिल्लीबाट मुम्बई आएका थिए। यहाँ उनले ती सबै संघर्ष गरे, जुन आजको शाहरूख खानलाई देखेर हामी कल्पना पनि गर्न सक्दैनौं। टेलिसिरियलमा अभिनय गर्दै अघि बढेका शाहरूखले फिल्मी करिअरमा पनि सफलता–असफलता दुवै बराबर झेल्दै अघि बढे र आफूमाथि उठेका तमाम प्रश्न चिर्दै आफ्नो पहिचान कायम राखे।
यो फिल्मको दोस्रो विशेषता के भने, यसका निर्देशक अजिज मिर्जा हुन्। उनै अजिज मिर्जा जसको निर्देशनमा बनेको 'सर्कस' भन्ने टेलिसिरियलबाट शाहरूख उदाएका थिए। हुन त त्यसअघि उनले 'फौजी' सिरियल पनि खेले तर उनको अभियनको तारिफ 'सर्कस' बाटै भएको थियो।
अजिजको निर्देशनमा शाहरूखले 'यस बस', 'फिर भी दिल है हिन्दुस्तानी, 'चलते चलते' लगायत फिल्म पनि खेलेका छन्।
मान्छेको जीवनसँग जोडिएको घटनालाई सरल ढंगमा प्रस्तुत गर्न माहिर अजिज मिर्जाको फिल्म 'राजु बन गया जेन्टलम्यान' को विशेषता पनि यसको सरलता नै हो। यसमा शाहरूखको अभिनय पनि उत्तिकै सरल र सौम्य छ।
हेर्नुहोस् है त, शाहरूख खानको यो फिल्म-