जितु नेपालको नाम सुन्नेबित्तिकै सबैको दिमागमा आउने नाम हो 'मुन्द्रे'। नेताका छोरा, त्यसमाथि एसएलसी पास गरेका मुन्द्रेको चुरिफुरि नै छुट्टै थियो।
टेलिशृंखला 'जिरे खुर्सानी' मा उनले निर्वाह गरेको मुन्द्रे पात्रको छाप दर्शकमाझ उस्तै छ। जितुले दर्शकमाझ हाँस्य कलाकारका रूपमा पहिचान बनाएका छन्।
उनले गम्भीर भूमिका निर्वाह नगरेका होइनन्। फिल्म 'वडा नम्बर ६' र टेलिशृंखला 'दर्शन जिन्दगीको' मा उनी गम्भीर भूमिकामा देखिएका थिए। दुवैमा उनलाई दर्शकले खास सम्झिएनन्।
त्यसैले गम्भीर भूमिका खेल्न उनलाई चुनौती छ। आगामी माघ २० गतेदेखि प्रदर्शन हुने फिल्म 'ह्यारीकी प्यारी' मार्फत् उनी यो चुनौती मोल्न तम्तयार छन्।
यो फिल्म यतिले मात्र विशेष भएको होइन, उनी यसमै पहिलोपटक प्रमुख भूमिकामा देखिँदै छन्। अर्थात् यो फिल्मका 'हिरो' हुन् जितु।
निर्देशकले जसरी जितुले गम्भीर भूमिका निर्वाह गर्न सक्छन् भनेर विश्वास गरे, त्यसरी नै दर्शकले पनि ह्यारी पात्रमा आफूलाई स्वीकार गर्नेमा उनी ढुक्क छन्।
'म कमेडियनसँगै एउटा भावनात्मक मान्छे हुँ। ममा पनि पीडा छ। सानो चिजले खुसी हुन्छु। सानो कुराले दुःखी हुन्छु। यो फिल्म भावनासँग जोडिएको छ,' उनले भने।
'ह्यारीकी प्यारी' डाक्टर भोला रिजालका छोरा कपिलको निर्देशनमा बनेको हो। कपिल पेसाले दन्त चिकित्सक हुन्। लन्डन बस्दाताका नै उनले यो फिल्म बनाउने सोचेका थिए। त्यही बेला उनले आफ्नो पहिलो फिल्मको 'हिरो' जितुलाई रोजेका हुन्।
लन्डनबाट फर्किएपछि कपिलले जितु र छायांकार सुदीप बराललाई कथा सुनाए। उनले ह्यारी पात्रलाई खुब महत्व दिए।
सहायक भूमिकामा अभिनय गरिरहेका जितुले आफ्नो भूमिका यो पात्रको होला भनेर सोचेनन् पनि।
कथा सुनाइसकेपछि कपिलले जितुलाई सोधे, 'कस्तो लाग्यो कथा?'
'राम्रो लाग्यो। फिल्म राम्रो बन्छ,' जितुले भने।
'ह्यारी पात्र तपाईंका लागि सोचेको हो,' कपिलले भने।
जितु तीन छक नै परे। उनलाई सक्दिनँ कि भन्ने पनि लाग्यो। मनमनमै भने खुसी भए। कलाकारलाई मुख्य भूमिकामा अभिनय गर्ने रहर भइहाल्छ!
'हिरोइन को हो थाहा छ,' कपिलले भने।
'छैन दाइ,' जितुले भने।
'साम्राज्ञी राज्यलक्ष्मी शाह,' कपिलले भने।
साम्राज्ञी फिल्मकी अभिनेत्री भन्ने थाहा पाएपछि जितुको शंका अझै बढ्यो। उनले मान्दिनन् कि भन्ने लाग्यो।
साम्राज्ञीलाई 'छक्का पन्जा-२' मा काम गर्न प्रस्ताव राखिएको थियो। त्यति बेला उनले अस्वीकार गरेकी थिइन्।
'छक्का पन्जा नखेल्ने मान्छेले मसँग कहाँ खेल्छिन् भन्ने लाग्यो। तर कुरा बुझ्दा उनले मानेकी रहिछन्,' उनले भने, 'पछि सेटमा पनि उनले काम गर्न सहज वातावरण बनाइदिइन्।'
कुरा मिलेपछि जितु उत्साहित भए। तर कथा विस्तारमा लेखिन थालेपछि धुकचुक बढ्यो। मुख्य भूमिकामा भएपछि आफ्नो तर्फबाट कुनै कमी नहोस् भन्ने चाहन्थे उनी। यसका लागि नयाँ कुरा सिक्न भन्दै उनी अभिनयको कार्यशालामै सहभागी भए।
छक्का पन्जा टिमबाट बाहिरिएका उनलाई कतिपयले 'हिरो' बन्न आएको भन्दै उडाएका समेत छन्। उनी भने यसलाई आफूले पाएको अवसर ठान्छन्।
'वडा नम्बर ६ को गम्भीर भूमिकाकै आधारमा मलाई ह्यारी बन्ने उत्साह आएको हो। तर यो टिमबाट म छुट्टिनु पर्यो। नयाँ छक्का पन्जामा म नहुनु, मुन्द्रेको कमेडी क्लबमा दिपा दिदी नहुनुले त्यस्तो बुझाइ भएको हुन सक्छ,' उनले भने, 'मैले त पाएको अवसर राम्ररी निर्वाह गर्ने प्रयास गरेको छु।'
यस्तै अवसरकै खोजीमा हो जितु ३१ वर्षअघि आफ्नो घरबाट हिँडेका। सिन्धुपाल्चोकको कोठेस्थित जाल्पा माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी पास गरेपछि अब पढ्ने कि नपढ्ने दोधारमा थिए उनी। दिदीको बिहे भइसकेको थियो। दाइहरू काठमाडौं बस्थे। कान्छो भए पनि घरमा एक्लो सन्तान भएकाले घर हेर्ने जिम्मेवारी उनकै थियो। गाउँमै अस्थायी शिक्षकका रूपमा काम गर्ने सोचेका थिए।
एक्कासि उनको मुड फेरियो। उनी भारत हानिए। आगरामा करिब दुई वर्ष भौंतारिए। अनेक गर्दा पनि आफूले सोचेजस्तो काम पाएनन्। अनि गाउँमै बस्ने सोचले नेपाल फर्किए।
केही समयपछि उनी चिनजानका एक व्यक्तिको बिहेमा सहभागी हुन काठमाडौं आएका थिए। त्यहाँ उनले गाउँकै साथी निर्माण पौडललाई भेटे।
निर्माणले सोधे, 'के गर्दैछस् आजकाल?'
'खै यार, म त गाउँतिरै बस्नुपर्यो, दाइहरूले नि त्यही भन्छन्,' उनले भने।
'यतै बस, चाबहिल क्याम्पस पढौं। पसलमा काम गरौं,' निर्माणले भने।
जितुले पनि हुन्छ भने। केही समयपछि उनले चाबहिल चुच्चेपाटीको एक खाद्यान्न पसलमा काम सुरू गरे। त्यहाँ काम गर्दै पढ्न पनि जान्थे।
'म कलेज भर्ना भइनँ। नियमित कलेज जान पाउँदिनँ थिएँ। तर त्यत्तिकै कहिलेकाहीँ जान्थे,' उनले हाँस्दै भने, 'परीक्षा भने प्राइभेटबाट दिन्थेँ।'
उनलाई टिभी हेर्न खुब मनपर्थ्यो। फुर्सद हुनेबित्तिकै पसले साहुको घरमा टिभी हेर्न पुगिहाल्थे। त्यही पसलका अर्का साझेदार पनि थिए। उनकी श्रीमती सरस्वती शर्मा टेलिभिजनमा काम गर्दिरहिछन्। उनी एक दिन पसलमा सामान लिन आइन्।
जितुलाई मनमनमा लाग्यो- यो दिदीले मलाई नि टिभीमा देखाउन लगे हुन्थ्यो!
सरस्वती सामान लिएर जान लागेकी थिइन्, जितु म लगिदिन्छु भन्दै अघि सरे। यही मौकामा उनले प्रस्ताव राखिहाले, 'दिदी तपाईं टिभीमा काम गर्नुहुन्छ। सबै कलाकारसँग भेट्नुभएको होला है! मलाई नि टिभीमा एउटा कविता भन्न मन छ। भन्दिनु न!'
सरस्वतीले पनि हुन्छ भनिन्। करिब एक महिनापछि सामान लिन आउँदा जितुलाई सुनाइन्, 'मैले सन्तोष पन्तसँग तिम्रो कुरा गरिदिएकी छु। आज भोलिका कुरामा खेल्ने भए पर्सि पठाउनु भन्नुभएको छ।'
'यो कुरा सुनेपछि मलाई दुई दिन निद्रै लागेन,' जितुले भने।
आफू कलाकार बन्छु भन्ने उनलाई लागेकै थिएन। सन्तोष पन्त, रमा थपलिया लगायत अन्य कलाकारलाई भेट्न पाउने भएपछि गदगद भए। 'आज भोलिका कुरा' (पछि हिजो आजका कुरा) मा उनको सानो भूमिका थियो।
दृश्यमा बाढीपीडितलाई चन्दा माग्दै हिँड्ने क्रममा एक जना सेठले भन्छन्, 'तिमीहरू चन्दा उठाएर आफैं खर्च गर्छौ। बाटो छोड।'
एक हुल युवाले भन्छन्, 'त्यस्तो हुँदैन सेठ जी। बाढीपीडितलाई सहयोग त गर्नुपर्यो नि।'
जितु त्यही हुलमा थिए।
उनी कार्यक्रम खेल्न गएको थाहा पाएपछि टोल वरिपरिका मान्छेहरू शुक्रबार साँझ टिभीअगाडि पर्खेर बसे। कार्यक्रम प्रसारण हुँदा उनको नाम जितबहादुर नेपाली भएछ। आफ्नो सही नाम नआए पनि उनलाई पिर थिएन, स्क्रिनमा आफूलाई हेर्ने हतारो थियो।
'ऊ म आएँ भन्दाभन्दै दस सेकेन्डमा सिन सकियो,' जितुले सम्झिए।
तर यो दस सेकेन्ड उनको घरगाउँ र टोलमा चर्चा दिलाउन काफी थियो।
कुराकानी हुन थाल्यो, 'फलानोको छोरो टिभीमा छिरेछ।'
टिभीको स्वाद चाखेपछि उनको भोक अझै बढ्यो। अझै खेल्न पाए हुन्थ्यो भन्ने लोभ बढ्यो। सन्तोष पन्तको घरको नम्बर पाएका थिए, लगातार फोन गर्न थाले। कुरा हुन सकेन। जितुले आश मारेनन्। दिनमै तीस पटकसम्म फोन गरेको उनी सम्झिन्छन्।
जितुको हर्कतबाट दिक्दार भएका सन्तोष पन्तले करिब डेढ महिनापछि उनलाई सुटिङ स्थलमै भेट्न बोलाए।
उनले फेरि आज भोलिका कुरामा खेल्ने मौका पाए।
अभिनयका लागि दौडधूप गरिरहेको देखेर उनलाई आज भोलिका कुराका लेखक प्रमोद शर्माले आउन लागेको नयाँ टेलिशृंखला 'ट्वाक्क टुक्क' मा जान सुझाए। ट्वाक्क टुक्क दिनेश डिसीले निर्देशन गर्दै थिए। जितु दिनेशको पछि लाग्न थाले।
दस भागपछि भने उनी ट्वाक्क टुक्कमा देखिए। एक भाग खेलेवापत् तीन सय रूपैयाँ पारिश्रमिक पाउँथे। कलाकार बन्ने यो चटारोमा पसलको काम भने भ्याएका थिएनन्। काम गुम्यो। अनि निर्देशक दिनेशलाई नै केही काम छ भने दिनु, गर्छु भने।
ट्वाक्क टुक्कका लागि आएका चिठी हेर्नेदेखि बूम समाउनेसम्मका काम उनले गरे।
'कसैले चुरोट ल्याऊ भने पनि खुर्रर कुदेर गइहाल्थेँ। कुनै काम नाइँनास्ती गरिनँ,' जितुले भने, 'म छायांकन सेटमा सबैको प्यारो मान्छे थिएँ।'
यसपछि टेलिशृंखला 'विमान चालक' मा उनले घरेलु कामदारको भूमिका पाए। अरू टेलिशृंखलामा पनि काम गरे। यो चटारोमा फेरि पढाइ छुट्यो। स्नातक पूरा गर्न सकेनन्।
यति बेलासम्म उनको नाम स्क्रिनमा जितबहादुर नेपाल आउँथ्यो। एक दिन दिनेश डिसीले फेरेर जितु बनाइदिए। जितुले सहमति जनाइहाले। यो उनले 'विमान चालक' मा काम गर्दाको कुरा हो। पछि जितु यसै टेलिशृंखलाका सहायक निर्देशक समेत भए।
यसपछि उनको कलाकारिता यात्रा निरन्तर चल्यो। टेलिशृंखलासँगै रेडियो कार्यक्रम, गाईजात्रा, स्टेज कार्यक्रम र फिल्महरूमा अभिनय गर्न थाले।
यसै क्रममा उनको भेट दमन रूपाखेतीसँग भयो। स्टेज कार्यक्रममा दमनसँग उनको जोडी जम्यो। उनीहरूले लामो समय सहकार्य गरे। 'काउकुती' टेलिशृंखलादेखि उनको सहकार्य दीपकराज गिरीसँग भयो।
'हामी दुवै जना कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका थियौं। खाने-बस्ने ठेगान समेत थिएन,' जितुले भने।
'गीताञ्जली' कार्यक्रममार्फत् उनी निर्माता पनि भए। सुरूमा दमन र उनले कार्यक्रम चलाउँथे। केही समयपछि केदार घिमिरे र सीताराम कट्टेल जोडिए। तत्कालीन नेपाल टेलिभिजनका महाप्रबन्धक गम्भीरकान्त मैनालीले नयाँ टेलिशृंखला सुरू गर्नुपर्छ भनेका थिए। जितुका अनुसार एजेन्सीले टेलिशृंखला लिन्छु भनेपछि मात्रै सुरू गर्नुपर्थ्यो।
अर्जुनबन्धु रेग्मीले १३ भागसम्म प्रायोजन गर्ने भए। टेलिशृंखलाको नाम के राख्ने भन्ने भयो।
जितुले फ्याट्टै भने, 'सिल्टीमोर।'
'के नाम हो यस्तो, सिल्टीमोर खाएर मर्यो भनिहाल्छन् नि,' अर्जुनले भने।
केहीबेर सोचेपछि उनको दिमागमा 'जिरे खुर्सानी' फुर्यो। सबैको सहमति भयो।
जिरे खुर्सानी निर्देशनमा सहकार्य गर्ने प्रस्ताव लिएर जितु शिवहरि पौडेलकहाँ गए। कुरा मिल्यो। सुटिङ सुरू भयो।
यति बेलासम्म पनि जितुले निर्वाह गर्ने पात्रको नामको भने टुंगो थिएन। उनकी आमाको पात्र निर्वाह गरेकी अञ्जु महर्जन (हात्ती) ले जितु नै राख्न सुझाएकी थिइन्।
आफूले मुन्द्रा लगाउने भएकाले त्यही बेला जितुले मुन्द्रे भनौं है भने।
यसरी जितु मुन्द्रे बनेर कार्यक्रम सुरू भयो। जाडो मौसममा सुरू भएको जिरे खुर्सानी राति साढे नौ बजे प्रसारण हुन्थ्यो। टेलिशृंखला चलेन। बन्द गर्ने कुरा भयो।
'म जिरे खुर्सानी प्रसारण हुँदा टोलतिर हिँड्थेँ। सबै जना सुतिसकेका हुन्थे। समय परिवर्तन गर्यो भने चल्छ कि भन्ने कुरा राखेँ। त्यसपछि अर्जुन सरले १३ भाग अझै प्रायोजन गर्न तयार हुनुभयो,' उनले भने।
राति साढे सात बजे प्रसारण हुने भएपछि केही कलाकारहरू पनि थपियो। राता मकै, भोक लाग्यो, भोक लाग्योकी आमा, जिरे लगायत कलाकार थपिएका थिए।
'नयाँ कलाकारका साथ नयाँ ऊर्जा आयो। चार भाग प्रसारण हुनेबित्तिकै अर्जुन सरले सय भागसम्म प्रायोजन गर्ने प्रतिबद्धता गर्नुभयो,' उनले भने।
त्यसपछि उनले फर्केर हेर्नु परेन। छ सयभन्दा बढी भाग प्रसारण भएपछि जिरे खुर्सानी रोकियो। यसपछि उनी छक्का पन्जा टिमसँग आवद्ध भए। सुरूमा यो टिममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल र सीताराम कट्टेल थिए। उनीहरूले 'छ एकान छ, वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २, छ माया छपक्कै, छक्का पन्जा ३' मा सहकार्य गरे।
फिल्ममा काम गरिरहँदा उनलाई टिभीमा पनि आइरहनु पर्छ भन्ने लाग्यो।
'एउटा परिवार बनाएर कलाकारहरूसँग कुराकानी गर्ने भन्ने पहिल्यैदेखि नै सोच थियो। कपिल शर्मा शो आएपछि म प्रभावित भएकै हुँ। यस्तै ढाँचामा रवि लामिछानेले पनि यहाँको चलन भन्ने शो चलाउँथे,' उनले भने।
कार्यक्रम गर्ने भएपछि पात्रको खोजीमा लागे जितु। दीपाश्री निरौलाको अध्यक्षतामा लट्टे, फुलन्देकी आमा लगायत कलाकार राखेर 'मुन्द्रेको कमेडी क्लब' सुरू गरे। राम्रै चलेको थियो। कोरोना महामारीका कारण बन्द भयो। दोस्रो सिजन ल्याउँदा दीपा श्रीलाई राख्ने कि नराख्ने भन्ने दुबिधा भयो। उनले महानायकका बारेमा दिएको अभिव्यक्तिका कारण विवाद भइरहेको थियो।
'दीपा दिदी पनि के गर्ने भन्न थाल्नुभयो। त्यसो भए नगरौं न भनेँ। मैले हतारमा निर्णय लिएँ सायद। दिदीले चित्त दुखाउनुभएछ। यता छक्का पन्जा टिमबाट पनि हटेँ,' जितुले भने।
यसरी आफूले खेलिरहेको फिल्मबाट बाहिरिँदा र कार्यक्रम पनि बन्द हुँदा उनलाई चिन्ता लागिरहेको थियो। त्यही समयमा उनका लागि वरदान सावित भएर आएको फिल्म हो 'ह्यारीकी प्यारी'।
'ह्यारीकी प्यारी आउँछ भन्ने आशाको दियो बल्यो,' उनले भने।
यसले उनमा ऊर्जा थपेको छ। मुन्द्रेको कमेडी क्लब तेस्रो सिजन ल्याउने तरखरमा लागिसके।
'टेलिभिजनमा देखिने रहर गर्दागर्दै म कमेडियन भएँ। कसैले मलाई दर्शकलाई कसरी हसाउँछस् भनेर प्रश्न गरे भने त्यसको कुनै जवाफ मसँग छैन। केही मान्छेहरू यसको कार्यक्रमले नि हसाउँछ र भन्छन्। तर म हँसाउन प्रयास गरिरहन्छु,' जितुले भने।