गुड फ्राइडे सिनेमा
बबम भी ओगलम्- टर्किश भाषामा यसको अर्थ हो मेरो बुवा र मेरो छोरा।
एउटा बाबुले छोरालाई कस्तो देख्छ? कुन रूपमा हेर्छ? ऊबाट के आशा राख्छ? उसलाई कति माया गर्छ?
अनि एउटा छोराले बाबुलाई कस्तो देख्छ? कुन रूपमा हेर्छ? ऊबाट के आशा राख्छ? उसलाई कति माया गर्छ?
अंग्रेजीमा 'माइ फादर माइ सन' नाम दिइएको यो टर्किश फिल्मको कथाको मूल सार यही हो।
फिल्मका मुख्य पात्र हुन् सादिक।
बुवा ह्युसेनले उनीबाट धेरै आशा राखेका हुन्छन्। छोराले कृषि इञ्जिनियरिङ पढोस् र आफ्नो ठूलो खेती सम्हालोस् भन्ने सपना हुन्छ उनको। जेठा छोरा सलीम सादिक जति तिक्ष्ण हुँदैनन्। त्यसैले पनि उनको सबै सपना पूरा गरिदिने जिम्मा सादिकको काँधमा हुन्छ।
उता सादिकका आफ्नै सपना हुन्छन्। उनी आफैं र आफ्नै रोजाइका पखेटा हालेर उड्न चाहन्छन्। तर कडा स्वभावका ह्युसेनका अगाडि केही भन्न सक्दैनन्। बुवाले आफ्नो कुरा बुझिदिऊन् भन्ने आशा उनको हुन्छ।
उनकी आमा नुरान भने फरासिली र खुसी मान्छे हुन्। सकारात्मक सोच भएकी उनलाई सन्तानको चाहना थाहा नभएको होइन। तर ह्युसेनको स्वभावका अगाडि कसैको केही लाग्दैन।
बाबु र छोराले एकअर्काप्रति राखेको आशाको दियो एक दिन निभ्छ। ह्युसेन र नुरानको जीवनमा निराशाको आँधी आउँछ। सादिकलाई भने यसले छोएको सम्म हुँदैन।
यो कथा सादिककै जीवनमा भयानक आँधी आउनुभन्दा अगाडिको हो।
सादिकको जीवन इस्तानबुलमा ठिकठाक हुन्छ। पत्रकारिता पढ्ने रहर पूरा गरेर उनी लेखकका रूपमा काम गरिरहेका हुन्छन्। काम खासै राम्रो नचले पनि उनको दाम्पत्य जीवन खुसहाल हुन्छ।
उनकी श्रीमती गर्भवती हुन्छिन्। बाबु बन्न लागेका सादिक उत्साहित हुन्छन्। राति उनकी श्रीमतीलाई बेथा लाग्छ। सादिक ट्याक्सी बोलाउन खोज्छन्। भेट्दैनन्। छिमेकी गुहार्छन्। तर कोही आउँदैन। बेथा लागेर छट्पटाइरहेकी श्रीमतीलाई लिएर हिँडिरहन्छन्। कोही उनको मद्दत गर्न आउँदैन।
उनको जीवनमा एउटा बेतोड आँधी आउँछ।
बिहान जब सेना उनको अगाडि आइपुग्छ, उनी रगतमा लतपतिएका हुन्छन्। उनको अँगालोमा रगतमै लतपतिएको शिशु हुन्छ। छेउमा उनकी श्रीमतीको रगताम्मे शव हुन्छ।
सादिकलाई जेल हालिन्छ। त्यहाँ उनले मानसिक र शारीरिक यातना खेप्छन्। इस्तानबुलमा सैनिकले गरे कूको परिणाम सादिकले भोग्नुपर्छ। विद्यार्थीकालमा उनले गरेका गतिविधिको सजाय सादिकले त्यो बेला पाउँछन्।
यता उनका छोरा डेनिज हुर्किँदै जान्छन्। कमिक्स पढ्ने बानी भएका उनी कहिलेकाहीँ कमिक्सकै पात्रलाई वास्तविक कथा मान्छन्। उनी बाबुजस्तै तिक्ष्ण हुन्छन्।
केही समयपछि सादिक छुट्छन्। बाबुछोरा इस्तानबुल सहरमा जेनतेन गुजारा चलाइरहेका हुन्छन्।
अनि एकदिन फेरि अर्को आँधीले उनलाई लपेट्छ।
डेनिजले आफ्ना बाबुबाट आशा राखेका हुन्छन्। उनी त्यो आशा पूरा गर्न सक्षम भइरहेका हुँदैनन्। बाबु भएपछि चाहेर पनि कति कुरा कसरी पूरा गर्न सकिँदैन, सादिकले यो कुरा धेरैपछि मात्र बुझ्छन्।
यो बुझ्दासम्म सादिक, डेनिज र ह्युसेनले धेरै कुरा गुमाइसकेका हुन्छन्।
फिल्म 'माइ फादर माइ सन' यिनै तीन पात्रले देखाउने बाबुछोराको सम्बन्धको कथा हो। एक सानो आवेशले कसरी जीवनको मिठास गुम्छ र त्यसैलाई नियती ठानेर स्वीकार गर्दा कति पीडा हुन्छ भन्ने कुरा सादिक र ह्युसेन पात्रले देखाउँछन्। यो पीडामा मलम लगाउन कसरी सकिन्छ भन्ने डेनिज पात्रले देखाउँछ। बाबुछोरासँगै फिल्मले आमा र परिवारको सम्बन्धलाई पनि बलियो गरी देखाएको छ।
सन् २००५ मा रिलिज भएको 'बबम भी ओगलम्' सुपरहिट फिल्म हो। टर्कीमा यो सबभन्दा धेरै कमाउने फिल्ममध्ये पर्छ।
सन् १९८०/९० दशकको टर्कीको ग्रामीण परिवेशमा छायांकन भएको छ यो फिल्म। त्यो बेलाको जनजीवन, बदलिँदो विश्व र मान्छेका बदलिँदा सपनाहरू पनि फिल्मले देखाउन खोजेको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं। टर्किश भाषाको यो फिल्म युट्युबमा अंग्रेजी सबटाइटलमा उपलब्ध छ।