२०४५ सालतिरको कुरा हो।
एकदिन लोक गायिका तीर्थकुमारी थापा रेडियो नेपालबाट निस्किँदै थिइन्।
त्यति बेलै पछाडिबाट आवाज आयो, 'दिदी, दिदी पर्खिनुस् त।'
तीर्थकुमारीले फर्केर हेरिन्।
उनलाई बोलाउने आवाज गायिका सपना परियारको रहेछ।
उनी हिँड्दा हिँड्दै टक्क अडिइन् र सपना नजिक आइपुगेपछि सोधिन्, 'किन बहिनी?'
'हेर्नुस् न दिदी, लालबहादुर (खाती) दाइसँग मलाई गीत गाऊ रे, म त गाउँदिनँ,' सपनाले भनिन्, 'उहाँ त मेरो बुवाको साथी। त्यसैले म भाग्न लागेको, त्यो गीत तपाईं गाइदिनुस् न है।'
सपनाको कुरा सुनेर तीर्थकुमारी छक्क परिन्। अलिअलि अनकनाइन् पनि।
त्यति बेला रेडियो नेपालले गायकहरूलाई कोटामा गीत गाउन दिन्थ्यो। तीर्थकुमारीले आफ्नो कोटाअन्तर्गत त्यस हप्तामै एकल, युगल र सामूहिक गीत रेकर्ड गराइसकेकी थिइन्। उनी तीनैवटा गीत रेकर्ड गराएर रेडियो नेपालबाट फर्कँदै थिइन्।
उनले सपनालाई सम्झाइन्, 'यो कोटामा आउने गीत हो बहिनी। मैले आफ्नो कोटाको तीनैवटा गीत गाइसकेँ।'
उनले यो पनि भनिन्, 'त्यसमाथि तिमीले गाउने भनेर छुट्याएको गीत म गाउँछु भन्दै कसरी जानू?'
'केही हुँदैन दिदी,' सपनाले आफ्नो जिद्दी छाडिनन्, 'म पेट दुखेर घर गएँ भन्दिनू न है।'
उनी यति भनेर फुत्त भागिहालिन्।
तीर्थकुमारीलाई निल्नु न ओकल्नु भयो।
उनी असमञ्जसमा थिइन्, त्यही बेला सपनालाई खोज्दै उनका बुवा मदन परियार आइपुगे।
तीर्थले कुरा नचपाई सबै सत्य बताइन्।
त्यो गीतको सुरूमै मदन परियारले बाजा बजाउनुपर्ने रहेछ। उनले छोरी सपना र लालबहादुरलाई आफ्नो घरमै गीत अभ्यास गराएका रहेछन्। छोरीले नगाउने भनेर हिँडेपछि उनले तीर्थकुमारीलाई नै गाउन अनुरोध गरे।
यसरी तीर्थकुमारी संयोगले जोडिन पुगेको त्यो गीत थियो —
बारीको डिलमा ओखरबोट
ओखरबोटमा चिल बस्यो,
भन्नै नहुने माया,
तिमीसित साह्रै नै दिल बस्यो।
२०५० सालतिर रेडियो नेपालमा एकदमै बज्ने यो गीतको शब्द रचना र संगीत सिर्जना लालबहादुरले नै गरेका हुन्। उनी अहिले यो दुनियाँमा छैनन्। तीर्थकुमारीले आफ्नै छोरा सुरजकुमार थापासँग मिलेर यसको नयाँ संस्करण निकालेकी छन् र पुरानोलाई पुनर्जीवन दिएकी छन्।
बहुचर्चित लोकगीतको नयाँ संस्करण यही पुस १५ गते युट्युबमा रिलिज गरिएको छ। यसै सन्दर्भमा हामीले गायिका तीर्थकुमारी थापा र उनका छोरा सुरजसँग गीतको रचनागर्भ र नयाँ प्रस्तुतिबारे कुराकानी गरेका छौं।
उनलाई यो गीत कति सालमा रेकर्ड गरिएको थियो भन्ने ठ्याक्कै याद छैन। यसबारे सोध्दा उनले केही बेर अकमकिँदै भनिन्, 'ठ्याक्कै याद त छैन, तर २०४५ सालतिर रेकर्ड गरिएको हो कि जस्तो लाग्छ।'
उनका अनुसार यो गीत रेडियो नेपाल, नेपाल टेलिभिजन र रत्न रेकर्डिङ संस्थाले मिलेर रेकर्ड गराएका थिए।
'म त्यति बेला सिंहदबारमा काम गर्थेँ,' उनले भनिन्, 'गीत गाउनुपर्ने दिन कार्यालयबाट छुट्टी लिएर आउँथेँ।'
त्यस दिन पनि उनी छुट्टी लिएरै आएकी थिइन्। आफ्नो गीत गाएपछि उनलाई फर्किन हतार भइसकेको थियो।
उनले मदन परियारलाई भनिन्, 'मैले कार्यालयमा खबर गरेको छैन। मेरो आजको कोटा पनि पुगिसक्यो।'
जवाफमा मदनले भनेका कुरा तीर्थकुमारीले सम्झिन्, 'कोटा मिलाउने जिम्मा मै लिन्छु, तिमी जसरी भए पनि यो गीत गाइदेऊ।'
मदनले यति भनेपछि उनले नाइँ भन्न सकिनन्।
यो गीत संयोगवश लालबहादुरसँग गाउन जुरेको थियो। त्यसअघि पनि तीर्थकुमारीले उनीसँग गीत गाइसकेकी थिइन्।
उनीहरूको युगल स्वरको पहिलो गीत 'ढुंगे बगर माया ढुंगे बगर, माया छँदैछ हल्ला नगर' ले निकै चर्चा पाइसकेको थियो। कालान्तरमा आफूलाई लालबहादुरको याद दिलाउने गीत चाहिँ 'बारीको डिलमा ओखरबोट' नै बनेको उनी बताउँछिन्।
'मलाई यसको धुन सुन्नेबित्तिकै लालबहादुरको याद आउँछ,' उनले भनिन्।
लालबहादुर प्रहरी अधिकारी थिए। तीर्थकुमारीका अनुसार जागिर र गायन दुवैमा उनले धेरै दुःख पाए।
'कलाकारको सक्रियता हेरेर रेडियो नेपालले हरेक श्रेणीमा पदोन्नति गर्छ तर उहाँले लामो समय गीत–संगीतमा लाग्दा पनि विशिष्ट श्रेणी पाउनुभएन,' तीर्थकुमारीले भनिन्, 'विशिष्ट श्रेणी दिन्छ कि भनेर उहाँ खाईनखाई रेडियो नेपाल धाउनुहुन्थ्यो।'
मृत्युअघिसम्म पनि उनी विशिष्ट श्रेणीका लागि संघर्षरत थिए। उनको सपना अधुरै रह्यो। मधुमेह र उच्च रक्तचापले २०५२ सालमा लालबहादुरको निधन भयो।
मृत्युपछि पनि उनको शरीरले सुख पाएन। उपचारको पैसा चुक्ता नहुँदा अस्पतालले उनको शव उठाउन नदिएको तीर्थकुमारी बताउँछिन्।
'जीवनभर धेरै उतारचढाव भोग्नुभएका लालबहादुर खातीले मृत्युका बेला पनि धेरै दुःख पाउनुभयो,' उनले भनिन्।
उनी लालबहादुरसँगका रमाइला पल पनि सम्झन्छिन्।
२०४८ सालतिरको हो। तीर्थकुमारी र लालबहादुर एउटा कार्यक्रममा सँगै गएका थिए। शारीरिक रूपले पहलमानजस्तै देखिने लालबहादुर खाना पनि धेरै खान्थे। त्यहाँ लालबहादुर र एक जना साथीले २० जनालाई बनाएको खाना सबै खाइदिएछन्।
'ए दाइ के गरेको तपाईंले?' तीर्थकुमारीले सोधिन्।
'के गर्नू बहिनी, धेरै मिठो लाग्यो, खाएँ,' लालबहादुरले भनेछन्, 'अझै खान मन लागिरहेको छ।'
लालबहादुर र उनको पहिलो भेट पनि रोचक छ। शुक्रबारको दिन थियो। तीर्थकुमारी आफ्नो भागको गीत गाएर घर फर्किने तर्खरमा थिइन्। संगीतकार नातिकाजीले लालबहादुरको गीत गाइदेऊ भनेर अनुरोध गरे।
'त्यति बेला मैले लालबहादुर खाती को हो भनेर चिनेकै थिइनँ,' उनले भनिन्, 'स्टुडियोभित्र छिर्दा प्रहरीको युनिफर्म लगाएका र हातमा लौरो समाइरहेका अग्लो, मोटो मान्छे देखेँ।'
उनलाई मनमनै लाग्यो– आम्मै यस्तो मान्छेसँग कसरी गीत गाउने!
उनी पन्छिन खोजिन् र नातिकाजीकहाँ गएर भनिन्, 'होइन मलाई ढिला भइसक्यो सर, म जान्छु।'
नातिकाजीले उनी डराएको भेउ पाइसकेका थिए। उनले गीत रेकर्ड गराउँदा आफू पनि सँगै बस्ने भन्दै हौसला दिए।
'त्यसअघि पनि थुप्रै गायिका उहाँसँग डराएर भागिसकेका रहेछन्,' उनले भनिन्, 'मेरो मनोदशा बुझेर नातिकाजीले आफू पनि सँगै स्टुडियोमा बसेर गीत रेकर्ड गराउनुभयो।'
त्यो गीत थियो 'ढुंगे बगर माया ढुंगे बगर'।
'पहिलोचोटि सुन्दा मलाई यस्तो पनि गीत हुँदो रहेछ भन्ने लागेको थियो,' उनले हाँस्दै भनिन्, 'एक मनले त आफैंलाई जिस्काएको हो कि भन्ठानेँ।'
रेकर्डिङ सकिएपछि लालबहादुरले भने, 'ल राम्रो गायौ, मसँग अरू पनि गीत छ, सँगै गाउनुपर्छ है।'
उनीहरूले यसपछि एउटा गीत मात्र गाउने अवसर पाए। सपना परियारले नछाडेको भए 'बारीको डिलमा ओखरबोट' को संयोग जुर्थेन।
करिब ३५ वर्ष पुरानो यो गीत अहिले आएर किन रिमेक गरियो त?
यो आइडिया तीर्थकुमारीका छोरा सुरजको हो।
सुरज आफ्नी आमाका सबै गीतलाई पुनर्जीवन दिन चाहन्छन्। त्यसमध्ये पहिलो चरणमा यही गीत छान्नुको एउटा विशेष कारण छ।
गीतको दोस्रो अन्तरामा भनिएको छ- धेरै केटी गए डाँडै काटेर, तिमीलाई त जानै दिन्नँ सिमानै काटेर।
'उक्त शब्दले चेलिबेटी बेचबिखनको प्रसंग उठाएको छ,' सुरज भन्छन्, 'त्यसैले यो गीत रिमेक गरेर म यसले बोकेको सामाजिक मुद्दा फेरि उजागर गर्न चाहन्थेँ।'
गीतको भाव थप विस्तार लगाउँदै तीर्थकुमारीले यसमा केटा र केटीको प्रेम र रोजगारका निम्ति विदेशिनुपर्ने सामाजिक बाध्यता एकसाथ प्रस्तुत गरिएको बताइन्।
'केटा र केटीको प्रेम छ तर केटीलाई पैसा कमाउन बाहिर जानु छ। दलालले विभिन्न प्रलोभन देखाएर केटीलाई बाहिर लैजान खोज्छ। केटाले रोक्न खोज्छ तर ऊ मान्दिन,' तीर्थकुमारीले भनिन्, 'रोजगार निम्ति विदेश जानुपर्ने बाध्यता र त्यही क्रममा बेचिनुपर्ने महिलाको पीडा यो गीतले उजागर गरेको छ।'
गीतको भाव म्युजिक भिडिओमा पनि झल्काइएको सुरज बताउँछन्। चेलिबेटी बेचबिखनविरूद्धको मुद्दालाई भिडिओ प्रस्तुतिका साथ धेरैभन्दा धेरै श्रोतासमक्ष पुर्याउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ। म्युजिक भिडिओमा सुरजकै अभिनय छ।
'ममी रेडियो नेपालबाट अवकाश हुनुभएको १२ वर्षजति भयो। यतिको उमेरसम्म उहाँको स्वरमा परिवर्तन आएको छैन,' सुरजले भने, 'उहाँले लोक गीत मात्र होइन, आधुनिक गीत र भजनहरू पनि गाउनुभएको छ। नेपालीदेखि नेवारी र अन्य थुप्रै भाषाका गीत गाउनुभएको छ।'
उनले अगाडि भने, 'पछिल्ला १० वर्षमा उहाँले बुद्धका भजन गाइराख्नुभएको थियो। तर पुराना राम्रा गीतहरू यसै छाड्नु हुँदैन भन्ने लाग्यो। उहाँका पुराना गीत जथाभावी रिमिक्स गरेर युट्युबमा हालेको पनि देखियो। ती न गुणस्तरका छन्, न वास्तविक गायक–गायिकालाई श्रेय दिइएको छ। त्यसैले राम्रो भए पनि, नभए पनि आफैं संयोजन गरेर ममीलाई गाउन लगाउँछु भनेर लागिपरेको छु।'
योसँगै 'चरी बनी उडौंला' गीत पनि रिमेक गरिसकेको सुरजले बताए। तीर्थकुमारीको स्वास्थ्यले साथ दिए सकेजति सबै गीत रिमेक गर्ने योजना छ।
'पुरानो गीत यसले गाएको हो है भनेर चिनाउन ममीलाई लिप्सिङ पनि गर्न लगाइरहेको छु,' उनले भने।
तीर्थकुमारीले एक हजारभन्दा बढी गीत गाइसकेकी छन्। तर खोज्दै जाँदा दुई सयवटा मात्र भेटिएको उनी बताउँछिन्। केही समयअघि गायन रियालिटी शो 'नेपाल आइडल ३' मा 'उज्यालो भएकै छैन' गीत बज्यो। सुन्नेबित्तिकै तीर्थले भनिन्, 'ए यो गीत त मैले गाएको हो।'
गीतमा उनलाई श्रेय दिइएको थिएन।
पुराना गीत संरक्षण गर्न नसक्नु रेडियो नेपालको कमजोरी हो भन्ने सुरजको ठम्याइ छ। सुरजले आफ्नो सांगीतिक यात्रा २०४८ सालमा रेडियो नेपालबाटै सुरू गरेका हुन्। पछिल्लो समय उनी गाउनभन्दा बजाउनमा व्यस्त छन्। उनी २० वर्षदेखि 'नेपथ्य' ब्यान्डमा किबोर्ड बजाइरहेका छन्।
यसबाहेक उनको समय आमाका गीतहरूको नयाँ संस्करण बनाउनमा बित्छ। उनी तीर्थकुमारीको अर्को गीत 'म त खाँदिनँ कुवाको पानी' को नयाँ संस्करण पनि तयार पार्दै छन्।
'यो गीत छिट्टै सार्वजनिक हुँदैछ,' सुरजले भने।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी