गुड फ्राइडे सिनेमा
यो कथा इरिनुको हो।
गाउँको गरिब परिवारमा हुर्किएको इरिनुको जो आफ्नो महत्वाकांक्षा, सपना, मेहनत र तीक्ष्ण दिमागका कारण देशकै धनी व्यक्ति बन्छन्।
देशभरका व्यक्तिमध्ये मात्र धनी होइन, राज्यभन्दा नै धनी।
इरिनु ऊर्जावान् र दूरदर्शी हुन्छन्। गरिब परिवारमा हुर्किए पनि उनको जीवन खुसहाल नै हुन्छ। एक दिन उनको यो सानो खुसीमा पनि तुवाँलो लाग्छ।
उनका बुवाको मृत्युले उनी झस्किन्छन्। आफ्नो सहारा गुमेझैं हुन्छ। इरिनु पहिलेझैं खुसी हुन सक्दैनन्।
दुई वर्ष यसै गरी बित्छ। फेरि उनको जीवनमा अर्को दुःख आइपर्छ। उनकी आमाले एक्लै जीवन चलाउन नसक्ने भन्दै अर्को बिहे गर्छिन्। ती नयाँ बाबुले इरिनुलाई स्वीकार नगर्ने भन्छन्। त्यसैले आमाले उनलाई काकासँग राजधानी सहर जान भन्छिन्।
इरिनुलाई आफ्नो परिवारसँग मिठो समय बिताएको ठाउँ छाडेर जाने मन पटक्कै हुँदैन। तर विकल्प पनि हुँदन।
कहिलेकाहीँ मनै नभएको कुरा गर्दा पनि सुखद मोड आइपुग्छ भनेजस्तै हुन्छ इरिनुको जीवनमा।
दस-बाह्र वर्षे इरिनु काकासँग ब्राजिलको राजधानी रियो द जेनेरियो पुग्छन्। १९ औं शताब्दीको त्यो समयमा संसारभर आर्थिक गतिविधि तीव्र हुँदै थियो। दास प्रथा अन्त्य हुँदै थियो। संसारले नयाँ बाटो खोज्दै थियो।
इरिनुले पनि यही परिवेशमा आफ्नो भविष्यको बाटो खोजे। यो यात्राले उनलाई यस्तो ठाउँमा पुर्यायो, जहाँ त्यसअघिको कोही पुगेका थिएनन्।
उनी राजधानी रियो द जेनेरियोमा अर्काकोमा काम गर्न आएका थिए। काला जातिका मान्छेलाई दासका रूपमा बिक्री गर्थे उनका मालिक। एकदिन एक जना त्यस्तै 'दास' सँग उनी नजिक हुन्छन्। अनि भन्छन्- म कहिल्यै पनि दास राख्दिनँ। म यस्तो मालिक हुन्छु, जसले मलाई आफैं रोज्छ!
महत्वाकांक्षी इरिनु यही सपना देख्न थाल्छन् र सपना पूरा गर्न मेहनत र अवसर गुमाउँदैनन्। पढ्ने, तीक्ष्ण दिमाग भएका र सम्भावनाको ढोका देख्न सक्ने उनी निरन्तर अगाडि बढ्छन्। इरिनु पैसा कमाउने बाटो पहिल्याउन सक्थे। अझ कहाँबाट पैसा आउँछ भनेर सुँघ्न सक्थे।
यही बाटो हिँडेर उनी ब्राजिलकै धनाढ्य भए। त्यो बेलाका राजाभन्दा पनि धनी। राज्यभन्दा पनि धनी।
उनी ब्राजिलकै पहिलो महान व्यापारी भनेर चिनिन थाले। मान्छेहरू उनलाई जो बाराओ डे माउ पनि भन्थे। ब्राजिलको आधुनिकीकरणमा उनले चालेका कदमले अरू देशमा समेत चर्चा पाउँछ। ब्राजिलमा बैंकिङ क्षेत्र विस्तारदेखि रेलमार्ग बनाउने र रेल ल्याउने कामसम्मको सुरूआत उनले गरे।
१९ औं शताब्दीमा ब्राजिल र आसपासका अरू देशमा राजनीतिक स्थिरता खलबलिँदै थियो। यहीबीच आर्थिक मन्दी हुँदा पनि इरिनु आफ्नो सम्पत्ति बढाउन सफल हुन्छन्। बजार र भविष्यको सम्भावना केलाएर उनी उद्यम अगाडि बढाउँथे।
सामान्य घरको ठिटो, ४० वर्षको उमेरमै देश किन्न सक्ने क्षमताको धनी भएपछि जल्नेहरूको पनि कमी हुँदैन।
सर्वसाधारण जल्दा त ठिकै हो, देशको नेतृत्वले नै आरिस गर्न थाले भने? उनको सफलताको बाटोमा राजा र मन्त्रीहरूले नै काँडा छरे भने?
पूरा राज्य संयन्त्र नै उसलाई डुबाउन लागिपर्यो भने नि?
गरिब परिवारमा जन्मेर देशकै धनी भएका इरिनुको नियति के होला?
यसका लागि हेर्नुहोस् ब्राजिलियन फिल्म 'माउः द इम्पेरर एन्ड द किङ'।
यो फिल्म काल्पनिक भने होइन, ब्राजिलका पहिलो महान व्यापारी मानिने इरिनु इभान्जेलिस्टा डिसुजाको वास्तविक जीवनमा आधारित कथा हो।
सन् १९९९ अक्टोबरमा रिलिज भएको यो फिल्मले मायामी हिस्पानिक फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म र ब्राजिलकै दुइटा अवार्ड जितेको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।