निर्देशक अनिल बुढा मगर सन् २०१७ तिर आफूले बनाएको पहिलो फिल्म 'लोम्बा' लिएर हरेक फिल्म फेस्टिभलमा धाउँथे। बथानको नेता 'लोम्बा' नामको भेडाको मृत्युपछि आउने समस्यामाथि बनेको फिल्मले पुरस्कारहरू पाउन थालेपछि उनी फुरूंग थिए। विभिन्न फेस्टिभलमा फिल्मले तीन वटा उत्कृष्ट अवार्ड पनि जित्यो।
पछिपछि प्रतिस्पर्धाहरूमा आफ्नो फिल्म पठाउन उनलाई मन भएन। आफूले मेहनत गरेर बनाएको फिल्म प्रतिस्पर्धामा पठाउँदा नरमाइलो लाग्न थाल्यो।
'प्रतिस्पर्धामा पठाएपछि हारजित भइहाल्छ। हार्दा मन दुख्दो रहेछ। आफूले जित्दा पनि अरू कसैको मन दुखेको होला भन्ने लाग्न थाल्यो। त्यसपछि मैले फेस्टिभलमा नजाने निर्णय गरेँ,' अनिलले भने।
यति बेला भने उनी फेरि फिल्म फेस्टिभल धाउन थालेका छन्। रहर होइन रे, निर्माताको दबाबमा जान थालेको उनी बताउँछन्।
हालै उनले निर्देशन गरेको दोस्रो फिल्म 'आग्रे- द आइरन डिगर' मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखाइएको थियो। यसले उत्कृष्ट गैरआख्यान फिल्मको अवार्ड पायो। केही समयअघि काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा पनि उत्कृष्ट फिल्मको अवार्ड जित्यो।
यसबाहेक युरोपको मेस्टिया इन्टरनेसनल सर्ट एन्ड माउन्टेन फिल्म फेस्टिभलमा 'स्पेसल प्राइज', भारतको कौतिक इन्टरनेसनल फिल्म फेस्टिभल, भारतकै गोल्डेन लायन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, युरोपको ब्याल्क एन्ड ह्वाइट फिल्म फेस्टिभल र बंगलादेशको मद्रास स्वतन्त्र फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ।
२८ वटा फिल्म फेस्टिभलमा देखाइएको आग्रेले अहिलेसम्म सात वटा अवार्ड जितेको छ।
यो फिल्म 'जेलबाङ सेवा समाज' ले निर्माण गरेको हो। यो रोल्पा, जेलबाङका स्थानीय मगरहरूको समूह हो। यसले बन्द भएको फलाम खानीको विषयवस्तुमा फिल्म बनाउने योजना बनाएको थियो। यसका लागि थुप्रै फिल्मकर्मीसँग कुराकानी गर्यो।
पछि समूहले निर्देशक सचिन घिमिरेलाई जिम्मेवारी सुम्पियो। विभिन्न कारणवश एक वर्षसम्म पनि फिल्म बन्न सकेन। अनि घिमिरेले आफू असमर्थ रहेको जानकारी दिँदै अनिल बुढा मगरको नाम सुझाए। मगर भाषा आउने र रोल्पा-रूकुमको परिवेशसँग नजिक भएकाले अनिलले बनाउँदा फिल्मलाई न्याय हुने उनले बताएका थिए।
जेलबाङ सेवा समाजमा आवद्ध निर्माताहरू कोही कोरिया, त कोही अरू नै देशमा बस्छन्।
एक दिन कोरियाबाट अनिललाई फोन आयो— अनिलजी, हामी फलाम खानीमाथि फिल्म बनाउने सोचमा छौं। सबैले तपाईंको नाम सुझाइरहेका छन्, के गर्नु हुन्छ? तपाईंको रेट कति हो?
अनिलले फिल्म बनाउन सहमति जनाउँदै भने, 'मैले अहिलेसम्म मेरो रेट यति हो भनेर तोकेको छैन। तपाईंहरूले दिएको पारिश्रमिकमा चित्त बुझ्यो भने काम गर्छु।'
तीन लाख रूपैयाँ पारिश्रमिकमा अनिलले फिल्म बनाउने जिम्मा पाए।
'मैले फिल्म क्षेत्रमा लागेपछि कमाएको त्यही ३ लाख हो,' अनिलले हाँस्दै भने।
निर्माताहरूले उनलाई फिल्म बनाउन १५ दिनको समय दिए। यो सुनेर भने उनी छक्क परेका थिए।
'पहिला मलाई जेलबाङ पुर्याइदिनुस्। कथा भेटियो भने काम अगाडि बढ्छ। भेटिएन भने गएको खर्च म आफैं बेहोर्छु,' उनले भनेछन्।
यसरी अनिल फिल्म आग्रेसँग जोडिए। तर निर्मातासँग उनको अहिलेसम्म भेट भएको छैन। केहीसँग भने फोन र इन्टरनेटमार्फत कुरा गरे।
कुराकानीपछि अनिल सहकर्मी विष्णु संन्याससँग रोल्पाको जेलबाङ पुगे। उनीहरूले फलाम खानीमा काम गरेका मान्छे खोजी गर्न थाले। यसै क्रममा भेटिए ८६ वर्षीय रज बुढामगर।
रजले दस वर्षको उमेरदेखि खानीमा गरेका थिए। जेलबाङमा १६ औं शताब्दीदेखि निरन्तर फलाम उत्खनन् भइरहेको थियो। सन् १९८९ मा वन विभागले त्यो खानीबाट उत्खननमा रोक लगायो।
खानी बन्द भएपछि जेलबाङका मान्छेहरूको जनजीवनमा कस्तो असर पर्यो?
फिल्म आग्रे- द आइरन डिगरमा यही कथा देखाइएको छ। अनिलका अनुसार फलाम खानी उत्खनन गर्नेलाई आग्रे भनिन्छ।
खानी बन्द भएकै कारण रजका जेठा छोरा भारत गएका थिए। कहिल्यै फर्किएनन्। विदेशिने तयारीमा रहेका कान्छा छोरा सशस्त्र माओवादी युद्धताका सेनाको हातबाट मारिए।
'युद्धमा जेलबाङका ७३ जनाले ज्यान गुमाए। खानी बन्द नभएको भए कोही युद्धमा लाग्थेनन् होला। कहीँ न कहीँ यो फिल्मको कथा राजनीतिसँग जोडिएको छ,' अनिलले भने।
रज बुढामगरमा अनिलले कथा भेट्टाए।
रज भने अनिलदेखि परै थिए। उनी आफ्नो कथा भन्न खुलेनन्। झन् क्यामराअगाडि राखेपछि सहज नहोलान् भन्ने चिन्ता अनिललाई भयो। त्यसैले सुरूदेखि नै उनीसँग कुरा गर्दा क्यामराले खिचेझैं गरे। आफ्नोअगाडि तेर्सिएको क्यामरामा रज बानी पर्दै गए।
एक साता कुराकानी भएपछि दुईको कुरा जम्न थाल्यो।
अब अनिललाई आफ्नो काम सुरू गर्छु भन्ने भयो। जब उनको टोली आयो, रज फेरि हच्किए। त्यसपछि अनिलले विकल्प खोज्नुपर्यो। उनले अर्कै पात्र खोजेर काम थाले।
'तीन-चार दिन ती पात्रको कथा छायांकन गरेपछि चाहिँ म के गरिरहेको छु जस्तो लाग्न थाल्यो,' अनिलले भने, 'मैले त्यो कथा अगाडि बढाउन सकिनँ र फेरि रज बुढामगरकै कथालाई निरन्तरता दिएँ।'
रजलाई उनले मनाए। सहज बनाए। उनको कथा जीवन्त बनाउन सक्दो मेहनत गरे। कुराकानीका क्रममा रजले आफ्नी श्रीमतीले गीत गाउने कुरा भनेका थिए। यो पल उनले क्यामरामा कैद गर्न सकेनन्। अनिललाई यसले झक्झक्याइ रहन्थ्यो।
'मलाई उहाँकी श्रीमतीको सम्झना पर्दामा उतार्नु थियो। कति दिनसम्म उहाँको कुरा सम्झेर सुत्नै सकिनँ,' उनले भने, 'मैले कसैको जीवन पर्दामा देखाउँदै छु भनेपछि जिम्मेवारी थपिएको महसुस हुन्थ्यो। फिक्सन भए पो गीत-संगीत बनाएर मिलाउन सजिलो! त्यसैले उहाँ एक्लै भएका दृश्यहरूमा ब्याकग्राउन्ड म्युजिक प्रयोग गरेँ।'
अनिलले फिल्मको छायांकन जम्मा २५ दिन मात्र गरे। तर काम सुरू गरेदेखि सक्दासम्म एक वर्ष बित्यो। यस क्रममा निर्माताले दबाब पनि दिए। आपसी छलफलपछि सहमति भयो।
अनि बन्यो फिल्म 'आग्रे- द आइरन डिगर'।
यो फिल्म पहिलो पटक साउथ एसिया फिल्म फेस्टिभलमा छनोट भयो। अनिलले मुख्य पात्र रज बुढामगरलाई काठमाडौं ल्याउन निर्मातासँग आग्रह गरे।
'बाजे पहिलोपटक काठमाडौं आउनुभएको थियो। काठमाडौं आएपछि बाजेले मलाई अंकमाल गर्दै बल्ल मैले छोरा पाएँ भन्नुभयो। उहाँको शब्दले मलाई जहिल्यै भावुक बनाउँछ। साँच्चै भन्ने हो भने यो फिल्म धेरै पटक हेर्न सक्दिनँ,' अनिलले भने।
अनिल रूकुम तकसेरामा जन्मिएका हुन्। हुर्किए दाङमा। सानैदेखि साहित्यमा रूचि थियो। ६ कक्षा पढ्दै गर्दा शिक्षकले कथा लेखेर ल्याउनु भनेका थिए।
शिक्षकले भोलिपल्ट सोधेछन्— अनिल भनेको के हो?
मधुरो स्वरमा 'म सर' भन्दै उनले हात उठाए।
'तिमीले यो कथा आफैं लेखेको हो?'
'हो सर,' उनले भने।
'होइन होला, तिम्रो दाइले लेख्दिएजस्तो लाग्यो!'
'होइन, मैले नै लेखेको हो।'
यसपछि शिक्षकले भने— त्यसो भए म तिमीलाई अफिसमा लान्छु, एउटा कथा लेख्न सक्छौ?
'प्रयास गर्छु।'
शिक्षकले उनलाई विद्यालयबाट घर फर्किँदासम्मको क्षण कथामा उतार्न भने। शिक्षकको कोठामा बसेर कथा लेख्न उनी आत्तिए। तैपनि जोसका साथ लेखेर दिए।
कथा पढेपछि शिक्षकले एउटा डायरी दिँदै भनेछन्— आजदेखि तिमी डायरीमा कथा लेख्नु र एसएलसी सकेपछि काठमाडौं जानू। यहाँ तिमीले थोरै दुनियाँ देख्छौ। त्यहाँ तिमीले धेरै अवसर भेट्छौ।
शिक्षकको त्यो उपहार र शब्द उनलाई प्रेरणा बन्यो। नौ कक्षा पढ्दै गर्दा उनी उपन्यास लेख्न कस्सिए। मगर भाषामा लेखिएको 'पापी गाउँ' उपन्यास दुई वर्षपछि प्रकाशन भयो। यही उपन्यासबाट उनले स्थानीय 'नव साहित्य प्रतिभा पुरस्कार' समेत पाए।
यसपछि हौसिएर उनी साहित्यकार बन्नकै लागि काठमाडौं आए। तर उनको बाटो फिल्म क्षेत्रतिर मोडियो।
चिनेका एक जना दाइले 'तिमी उपन्यास लेख्ने मान्छे, फिल्म वर्कसपमा सहभागी हुँदा राम्रै हुन्छ' भनेर बोलाए। वर्कसपमा कलाकारहरू नवीन सुब्बा, अनुप सुवेदी लगायतले फिल्मबारे जानकारी दिए।
यसपछि अनिल फिल्मी दुनियाँका भए।
अहिले उनी आफ्नै गृहजिल्ला रूकुमको कथा लेख्दै छन्।
'रूकुमलाई जहिले पनि द्वन्द्वसँग जोडिन्छ तर त्यहाँ अरू सुन्दरता पनि छ,' अनिलले भने, 'हरेक घरमा छुट्टै कहानी छ। त्यो कथा कहिल्यै आएको छैन।'
फिल्म लेख्ने र निर्देशन गर्नेबाहेक उनी गोरखापत्र संस्थानमा कार्यरत छन्। गोरखापत्रमा प्रकाशन हुने मगर भाषाका समाचार तथा लेखमा उनी काम गर्छन्।