किम्फ विशेष
बच्चा चञ्चल र चुलबुले हुन्छन्। त्योभन्दा केही फरक थिए एलएसएम।
आफूलाई फरक देखाउन उनले आफ्नो नाम एलएसएम राखे। जसको केही अर्थ छैन तर फरक छ।
'एलएसएम मैले जोसमा राखेको नाम हो। सात आठ कक्षा पढ्दा साथीहरूले के हो तेरो नाम भन्दा एलएसएम भन्थेँ। बिस्तारै यो नामको महत्व बढ्दै गयो। तर म अझै यसको अर्थ खोजिरहेको छु,' उनले भने।
उनको वास्तविक नाम शैलेस रोकाया क्षेत्री हो। उनी आफ्नो नामले भन्दा पनि कामले परिचित हुन चाहन्छन्।
'कला र कलाकर्मीलाई छुट्याएर हेर्नु पर्छ। कुनै फिल्म बनाएको छ भने यो त केटा वा यस्तोले बनाएको फिल्म रहेछ भनेर छुट्याइ हाल्छन्। तर मलाई यस्तो मन पर्दैन। फिल्म भनेको फिल्म हो जसले पनि बनाउन पाउँछन्। एलएसएमको न कुनै जेन्डर छ, न कुनै जात। कसले बनाएको फिल्म भनेर थाहा हुँदैन,' उनले भने।
उनले उच्च शिक्षामा विज्ञान लिएर पढ्न थालेका थिए तर पढाइप्रति रूचि हराउँदै गयो। शिक्षकले विज्ञानका विषय पढाउँदै गर्दा उनी कथा लेख्दै बस्थे।
'म पहिलादेखि नै कथा लेख्थेँ तर फिल्मकर्मी बन्छु भनेर सोचेको थिइनँ। उच्च शिक्षाको पढाइ सकेपछि टुरिजम विषय पढ्छु, घुम्छु, लेख्छु भन्ने थियो,' उनले भने।
उच्च शिक्षा पढिसकेपछि उनी विदेशी फिल्म हेर्न थाले। फिल्ममा रूचि बढेसँगै उनलाई आफूले लेखेको कथाको पनि फिल्म बन्नु पर्छ भन्ने लाग्यो। तर त्यति बेला आफूले लेखेको स्क्रिप्टको फिल्म बनाउने मान्छे भेटेनन्।
'दाइ, मैले यो फिल्म लेखेको छु, बनाउनु पर्यो' भन्दै उनी धेरै ठाउँ धाउँथे।
'तिमीले लेखेको स्क्रिप्ट राम्रो छ तर म आफ्नै फिल्म बनाइरहेको छु, समय मिल्दैन' भन्ने जवाफ पाएर फर्किन्थे।
त्यसपछि उनलाई लाग्यो 'मैले लेखेको कथा हेर्नु छ भने मैलै फिल्म बनाउन सुरू गर्नु पर्छ।'
स्नातकमा मिडिया अध्ययन पढ्दै गर्दा उनको भेट पिंकी श्रीस रानासँग भयो। उनीहरू साथी मात्र भएनन्, सहकर्मी पनि भए। कलेजका हरेक प्रोजेक्टमा उनीहरूसँगै काम गर्थे। अब उनीहरूको सहकार्य कलेजमा मात्रै सीमित रहेन। उनीहरूले फिल्म निर्देशनमा पनि सहकार्य गरेका छन्।
एलएसएम र पिंकीले निर्देशन गरेको फिल्म 'हजुर' काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा आइतबार प्रदर्शन हुँदैछ। किम्फमा देखाइने यो उनीहरूको पहिलो फिल्म हो। पहिलो पटक किम्फमा फिल्म देखाइने भएपछि दुवै जना उत्साहित छन्।
'हामीले यो फिल्म फेस्टिभलका लागि भनेर बनाएका थिएनौं। धेरै आशा नगरेर बनाएको फिल्म किम्फमा छनोट हुँदा खुसी लागेको छ,' पिंकीले भनिन्।
२४ वर्षीया पिंकीले आफू फिल्म मेकिङमा लाग्छु भनेर सोचेकै थिइनन्। पत्रकारिताको विद्यार्थी भएकाले उनलाई पत्रकार नै बन्नु थियो। एउटा टेलिभिजनमा इन्टर्नसिप गरेकी थिइन्। कोरोना लकडाउन भएपछि उनले काम पाइनन्।
'कोरोनाको समयमा मसँग कुनै काम थिएन। के कसो गर्ने भनेर सोचिरहन्थेँ। मलाई पहिल्यैदेखि डकुमेन्ट्री बनाउने भने इच्छा थियो,' उनले भनिन्।
उता एलएसएम गौंथली इन्टरटेन्मेन्टसँग आवद्ध भएर काम गरिरहेका थिए। त्यहाँका निर्माता तथा निर्देशक अभिमन्यू दीक्षितले घर र अफिस सम्हालिरहेकी महिलाको विषयमा फिल्म बनाउन भनिरहेका थिए। उनले नै पिंकीसँग सहकार्य गर्न सुझाएका हुन्।
त्यसपछि गौंथली इन्टरटेन्मेन्टकी निर्देशक सहारा शर्माले उनीहरूलाई घर र अफिस सम्हालिरहेकी महिलाले कतैबाट जस नपाएको कथा दिइन्। मोटामोटी कथा लिएर उनीहरूले फिल्म लेख्न सुरू गरे। अन्तिमसम्म फिल्मको नाम के राख्ने भन्ने अन्यौलमा थिए एलएसएम र पिंकी।
फिल्मको कथा लेखिसकेपछि झट्ट नाम फुर्यो 'हजुर'।
यो नाम फिल्मको अन्तिमतिरको दृश्यबाट लिइएको हो जहाँ सरिता पात्र हजुर मात्रै भन्न बाध्य छिन्।
फिल्मको नाम हजुर नै किन राखियो त?
'हजुरको दुइटा अर्थ जान्छ। एउटा समर्थन जनाएको, अर्काे प्रश्न सोधेको। तर हाम्रो समाजमा महिलाले हजुर कुन रूपमा भनेको हो, यादै गर्दैनन्,' पिंकीले भनिन्।
फिल्ममा तीन जना पात्र छन्; सरिता, उनका छोरा र श्रीमान। सरिता र उनका छाेरा गैरकलाकार हुन्।
पिंकीका अनुसार वयस्क उमेरका कलाकारलाई काम गराउन सजिलै भयो। छोराको भूमिका बालकले निर्वाह गरेकाले अलि मुश्किल भएको थियो। दस मिनेटको छोटो फिल्म 'हजुर' उनीहरूले दुई दिनमा छायांकन सकेका हुन्।
यो फिल्मको छायांकन लकडाउनको समयमा भएको थियो। त्यति बेला बाहिर जान बन्देज थियो। त्यसैले उनीहरूले एकै ठाउँमा फिल्म सकाए।
तर एलएसएम कुनै पनि बन्देजलाई अवसरकै रूपमा लिन्छन्। उनले लकडाउनकै समयमा 'डे ३३', 'शून्य', 'डेमो–क्रेजी' जस्ता फिल्म पनि बनाए। ती फिल्म उनको आफ्नै युट्युब च्यानल एलएसएममा उपलब्ध छन्।
यसअघि 'हजुर' फिल्म एक फेस्टिभलमा पठाइएको थियो। त्यति बेला फिल्म सकारात्मक नभएको भन्दै अस्वीकृत भयो।
'फिल्मलाई आशावादी तरिकाले प्रस्तुत गर्न नसकिने होइन तर वास्तविक जीवनमा महिलाहरू संघर्षरत छन्। हरेक कथाले ह्याप्पी इन्डिङ माग्दैन। कुनै कथा ह्याप्पी नहुनु नै त्यसको सुन्दरता हो,' एलएसएमले भने।
यसमा पिंकीले थपिन्, 'हामीले सरिता पात्रमार्फत हरेक घरको कथा भन्न खोजेका हौं। सरिताका रूपमा हामीले दिदी, आमा, भाउजू सबैलाई देखिरहेका छौं।'
किम्फमा यो फिल्म प्रदर्शन हुँदा उनीहरू खुसी छन्। तर नेपालमा फिल्म फेस्टिभल कमै हुने उनीहरूको गुनासो छ। फिल्म निर्माणमा पाइला चाल्नेहरूका लागि फिल्म देखाउने प्लेटफर्म नभएको एलएसएम बताउँछन्।
'युवा फिल्मकर्मीका लागि फिल्म देखाउने प्लेटर्फम भयो भने प्रेरणा मिल्छ। किनकी पर्फेक्ट फिल्म कहिल्यै पनि बन्दैन,' उनले भने।