गुड फ्राइडे सिनेमा
महाभारतमा एक जना पात्र छ– अश्वत्थामा, जसलाई कहिल्यै नमर्ने श्राप प्राप्त छ।
पाण्डव–पुत्रहरूलाई राति सुतेका बेला अश्वत्थामाले हत्या गरेपछि श्रीकृष्ण क्रोधित हुन्छन् र उनलाई निहत्था किशोरहरू मारेको अपरोधबोधमा प्रायश्चित गर्दै जुनी–जुनीसम्म बाँचिरहने श्राप दिन्छन्।
द्रोणपुत्र अश्वत्थामा सायद आज पनि पापको भारी मनमा लिएर यो धर्तीमा कतै विचरण गर्दै होलान् कि!
रिचर्ड सेन्कम्यान निर्देशित फिल्म 'द म्यान फ्रम अर्थ' यस्तै पात्रको कथा हो, जसलाई अश्वत्थामाजस्तो श्राप त प्राप्त छैन तर उनी अश्वत्थामाजस्तै जुनी–जुनीदेखि यो धर्तीमा विचरण गर्दै छन्।
सन् २००७ मा रिलिज यो फिल्म जोन ओल्डम्यानको कथा हो, जो १४ हजार वर्षदेखि बाँचिरहेका छन्। अर्थात्, उनी पृथ्वीका एक मात्र यस्ता प्राणी हुन्, जसले ढुंगेयुगदेखि आजको विज्ञानयुगसम्म मानव जीवनको हरेक विकासक्रमलाई आफ्नै आँखाले देखेका छन्, आफैंले भोगेका छन्।
फिल्मको सुरूआत एउटा सुमधुर धुनबाट हुन्छ। त्यही पार्श्वधुनमा प्राध्यापक जोन ओल्डम्यान एकाबिहानै मिनी–भ्यानमा झिटीगुन्टा राख्दै गरेका देखिन्छन्। यो पहिलो दृश्यमै एकपछि अर्को गर्दै फिल्मका अरू पात्रको प्रवेश हुन्छ।
जोन ओल्डम्यान विश्वविद्यालयको जागिर छाडेर नयाँ सहरमा बस्न जाँदै छन्। उनी आफ्ना साथीहरू कसैलाई खबर नगरी गुपचुप निस्कन लागेका हुन्छन्। साथीहरूले सुइँको पाउँछन् र जोनलाई विदाइ गर्न बिनासूचना उनको घरमा भेला हुन्छन्।
ती साथीहरू सबै विश्वविद्यालयमा जोनसँगै प्राध्यापन गर्ने विभिन्न विषयका ज्ञाता हुन्। जस्तो– ह्यारी जीव विज्ञानका विज्ञ हुन् भने एडिथ कला इतिहासका प्राध्यापक। ड्यान मानवशास्त्री हुन् भने स्यान्डी इतिहासविद् र आर्ट पुरातत्वविद्।
जसै यी साथीहरू भेला हुन्छन्, जोन आफूले संगालेर राखेको निकै वर्ष पुरानो जोनी वाकरको ग्रिन लेबल ह्विस्की खोल्छन्।
जोनको घरमा ह्विस्की पिउने गिलास हुँदैन। उनी साथीहरूलाई प्लास्टिकको गिलासमा ह्विस्की खुवाउँछन्।
बोतल खुल्छ, गिलासमा ग्रिन लेबल छचल्किन्छ, अनि सुरू हुन्छ साथीहरूको जिज्ञासा र जोन ओल्डम्यानको कथा।
सबैलाई जोन एकाएक किन विश्वविद्यालय छाडेर नयाँ ठाउँमा बसाइ सर्न लागे भन्ने कौतूहल छ। जोन जवाफ दिन्छन्, 'यो मेरो लागि नौलो कुरा होइन। म हरेक दस वर्षमा बसोबास परिवर्तन गरिरहन्छु।'
यो जवाफले उनका साथीहरूलाई झन् बढी अचम्म बनाउँछ। उनीहरू जोनबारे थप कुरा जान्न खोज्छन्।
जोन सुरूमा हच्किन्छन् तर साथीहरूले कर गरेपछि संकोच मान्दै मान्दै भए पनि आफ्नो बारेमा बताउन थाल्छन्।
'आजभन्दा १४ हजार वर्षअघि जब मान्छेहरू गुफामा बस्थे, त्यति बेला त्यही गुफामा जन्मेको कुनै व्यक्ति आजसम्म बाँचिरहेको भए कस्तो हुन्थ्यो होला?' जोन प्रश्न गर्छन्।
'यो त साइन्स–फिक्सनको निम्ति राम्रो विषय हो,' एक जना साथी भन्छ, 'के तिमी यस्तै कुनै किताबमा काम गर्दैछौ?'
'होइन, म कुनै किताबमा काम गर्दै छैन,' जोन जवाफ दिन्छन्, 'म त्यही व्यक्ति हुँ, जो १४ हजार वर्षअघि गुफामा जन्मेर आजसम्म बाँचिरहेको छु।'
उनी अगाडि भन्छन्, 'यो रहस्य अरू कसैलाई थाहा नहोस् भनेर म हरेक १० वर्षमा आफ्नो बसाइ बदल्छु, पुरानो ठाउँ छाडेर नयाँ ठाउँमा सर्छु।'
उनले यसो भन्दै गर्दा समूहमा एक जनालाई झलक्क याद आउँछ, पछिल्लो दस वर्षमा जोनको शरीरमा बुढ्यौलीको एउटा सानो झलकसम्म देखिएन। मानौं, यो दस वर्षमा उनी एक वर्ष पनि बूढो भएनन्।
जोन आफ्नो कथा भन्दै जान्छन्, 'मैले मानव समाजको हरेक विकासक्रम आफैंले भोगेको छु। आजभन्दा २५–२६ सय वर्षअघि छैठौं तथा पाँचौं ईशापूर्वमा म दक्षिणी मेसोपोटामियाको समर क्षेत्रमा थिएँ। त्यहाँ मैले सुमेरियनका रूपमा जीवन बिताएँ। त्यसपछि बेबिलोनतिर सरेँ र लामो समय बेबिलोनियनको जीवन व्यतीत गरेँ। अन्ततः म पश्चिमी क्षेत्रको यात्रामा निस्केँ र गौतम बुद्धको शिष्य बनेर उनको पछि लागेँ।'
विश्वविद्यालयमा विद्यार्थीहरूलाई मानव विकासक्रमका अद्भूत कथाहरू सुनाएर आश्चर्यमा पार्ने प्राध्यापकहरू आफैं आश्चर्य मान्दै जोन ओल्डम्यानको तिलस्मी कथा सुन्दै छन्।
जोन अगाडि भन्छन्, 'कोलम्बसले जतिखेर पहिलोचोटि अमेरिकी भूमिमा पाइला टेके, त्यो टोलीमा सामेल भएर अमेरिका पुग्नेमा एक जना म पनि थिएँ। त्यति बेला विज्ञानले पृथ्वी सुन्तलाजस्तो चेप्टो छ भन्ने पत्ता लगाएकै थिएन। कोलम्बस र मलाई पनि पृथ्वी चउरजस्तै समथर छ भन्ने लाग्थ्यो।'
कथा भन्दै जाँदा, यो पनि थाहा हुन्छ– जोन ओल्डम्यान संसारप्रसिद्ध चित्रकार भ्यान गगका साथी हुन्। भ्यान गगले आफ्नो एउटा पेन्टिङ आफ्नै हस्ताक्षरसहित जोनलाई उपहार दिएका छन्, जुन उनले आजसम्म सम्हालेर राखेका छन्।
जोन ओल्डम्यानले १४ हजार वर्ष लामो जुनीमा अरू के–के भोगे होलान्? मानव विकासक्रमका अरू के–के पहलू उनले देखे होलान्? यी सबै थाहा पाउन तपाईं आजको हाम्रो गुडफ्राइडे सिनेमा शृंखलामा 'द म्यान फ्रम अर्थ' हेर्नुहोस् है।
थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरू जितेको यो फिल्म जेरोम बिक्सबीले लेखेका हुन्। उनले यसको पटकथा सन् १९६० दशकमै पूरा गरेका थिए। त्यसलाई अन्तिम रूप भने १९९८ अप्रिलमा दिए, जब उनी मृत्युशैयामा थिए।
यो फिल्म आफ्नो पृथक विषयवस्तुले मात्र होइन, अर्को दुइटा कारणले पनि विशेष छ।
पहिलो, यो फिल्म सुरूदेखि अन्तसम्म जोन ओल्डम्यानको घरमा आयोजित विदाइ भोज वरिपरि घुम्छ। अर्थात्, फिल्मले १४ हजार वर्षको कथा भने पनि दृश्य भने जोन ओल्डम्यानको कोठाभन्दा बाहिर जाँदैन।
दोस्रो, फिल्मलाई दृश्यप्रधान साहित्य भनिन्छ। किनभने, यसले दृश्यका माध्यमबाट आफ्नो कथा भन्छ। यो फिल्म भने संवादप्रधान छ।
फिल्मको कथावस्तु बुझ्न मात्र होइन, पात्रहरूको परिचय, उनीहरूको पेसा, उमेर, एकअर्कासँगको सम्बन्ध थाहा पाउन पनि एक–एक संवाद ध्यानपूर्वक सुन्नुपर्छ।
तपाईं पनि ध्यानपूर्वक फिल्म हेर्नुहोस् है!