विज्ञान केसीको एउटा सपना छ, अस्ट्रेलिया जाने। कलाकार बनेर हुन्छ कि 'डिपेन्डेन्ट' मा, जसरी पनि त्यहाँ पुग्नु छ। विदेशिन उनलाई पैसाको जोरजाम पनि गर्नु छ। उनका सबै संघर्ष अस्ट्रेलिया जानमै केन्द्रित छन्।
यी विज्ञान हुन् हालै रिलिज भएको फिल्म 'महापुरूष' का पात्र। विज्ञानले आफ्नो सपनाका निम्ति संघर्ष गरेजस्तै यो पात्र निर्वाह गरेका अरूण क्षेत्रीले लामो समय संघर्ष गरेका छन्।
अरूणले देखेको एउटा मात्र सपना हो- फिल्मको 'हिरो' बन्ने।
उनलाई यो सपनाको बाटो महापुरूषले देखाइदियो। प्रदीप भट्टराईले निर्देशन गरेको महापुरूषमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायको मुख्य भूमिका छ। अरूणले हरिवंशका कान्छा छोरा विज्ञानको भूमिका निर्वाह गरेका छन्।
फिल्मले राम्रो कमाइ गरिरहँदा अरूणको तारिफ पनि कम छैन। यति प्रशंसा पाइएला भनेर उनले कल्पनै गरेका थिएनन्।
'हरेक उमेर समूहका मान्छे फिल्म हेर्न आइरहेका छन्। मह जोडी भएर फिल्म हेर्न आएका दर्शकले फिल्म हेरेपछि मेरो काम मन पराएका छन्,' अरूणले खुसी हुँदै सुनाए, 'पाँच वर्षको बच्चाले आएर मलाई अंकमाल गरेका छन्। ९० वर्ष काटिसकेकाले आर्शीवाद दिनुभएको छ। यस्तो माया पाउँछु भनेर सोचेकै थिइनँ।'
पहिलो फिल्मबाटै चर्चा बटुलेपछि अरूणलाई आगामी फिल्ममा राम्रो काम गर्ने चुनौती भएको छ।
भन्छन्, 'नेपालको सन्दर्भमा दर्शकहरू हलमा जान छोडिसके। आम मानिसका लागि भनेर फिल्म पनि कमै बनिरहेका छन्। अब आगामी फिल्ममा महापुरूषको जस्तै दर्शक फर्काउन सकिन्छ कि सकिँदैन भन्ने चुनौती छ। यो फिल्मपछि जिम्मेवारी थपिएको महसुस भएको छ।'
अरूणलाई अझै धेरै फिल्म खेल्नु छ। आफ्नो पहिलो प्राथमिकता राम्रो टिम र राम्रो फिल्म भएको उनी बताउँछन्। फिल्म क्षेत्रमा आफू पैसा कमाउँछु भनेर नआएको उनले बताए।
उसो भए उनी किन र कसरी आइपुगे त यहाँसम्म?
दाङमा जन्मिएका अरूणलाई सानैदेखि फिल्मप्रति लगाव थियो। उनीहरूको परिवार मःम पसल चलाउँथ्यो। पसलको भित्तामा हरेक साता नयाँ फिल्मको पोस्टर टाँसिन्थ्यो। पोस्टर टाँसेपछि फिल्म हेर्न दुइटा पास (टिकट) पाइन्थ्यो।
त्यही पास पाउन अरूण पोस्टर टाँस्ने मान्छे कुन बेला आउँछन् भनेर कुरेर बस्थे। त्यो बेला दाङमा दुइटा हल थिए। नियमित जाने भएकाले हलका मानिसले समेत उनलाई चिन्थे। केटाकेटी भएकाले कति फिल्म बिनाटिकट हेर्न दिन्थे।
सानैदेखि नेपाली फिल्म हेर्ने बानी बस्यो। फिल्म सकिए पनि त्यसको धङधङी सकिन्थेन। उनी कलाकारहरूको नक्कल गर्थे। पोस्टर हेरेर टोलाउँथे।
'पसलमा टाँसिएका सबै पोस्टर म जतन गरेर राख्थेँ। केही गरी उक्कियो भने पिठोले टाँस्न पुगिहाल्थेँ,' उनले सम्झिए।
फिल्म मात्र होइन, टेलिभिजनमा आउने फिल्मी कार्यक्रम पनि छुटाउँथेनन् उनी। स्कुलमा परीक्षा चलेका बेला घरमा हेर्न नपाए साथीको घर पुग्थे। पत्रपत्रिकामा आउने फिल्मी समाचारका नियमित पाठकजस्ता थिए। अभिनेता र अभिनेत्री मात्र नभएर निर्माता, निर्देशक, नृत्य निर्देशक को हुन् भनेर सबै याद गर्थे।
अरूण आफ्ना वरिपरिका मान्छेको चरित्रबाट पनि छिट्टै प्रभावित हुन्थे। आफ्ना शिक्षक, सेना, डाक्टरदेखि गाडी चालकसम्मको नक्कल गर्न खप्पिस थिए।
यसरी फिल्मी दुनियाँमा हराउँदै उनको जीवन ठिकठाक चल्दै थियो। सन् २००५ तिर एक्कासि संकट आइलाग्यो।
'बुवा अनेक व्यवसायमा लाग्नुभएको थियो। ढुकुटी खेलेर ३० लाख रूपैयाँ डुबाउनुभयो,' उनले ती दिन सम्झिँदै भने, 'घरमा पैसा लिन आउनेको लर्काे लाग्न थाल्यो। मःम पसल, गरगहना र घरका बहुमूल्य सामान बेच्दा पनि केही सिप लागेन। पैसा फिर्ता गर्न बुवासँग कुनै उपाय थिएन।'
ऋणको भार चुकाउन उनका बुवा आफन्तसँग थप १४ लाख रूपैयाँ ऋण लिएर जापान गए। बुवा गएपछि अरूणकी दिदीलाई आमाले ठूलीआमासँग बस्न काठमाडौं पठाइन्। अरूण भने आमासँग दाङमै बसे।
बुवाले जापानमा पनि खासै पैसा कमाउन नसकेपछि ऋण दिने मान्छेले धम्क्याउन थाले। एक्लो छोरालाई केही गरिदिन्छन् कि भन्ने डर आमाको मनमा पस्यो। अरूणलाई लिएर उनी पनि काठमाडौं आइन्।
केही समयपछि उनकी आमा र दिदीको पनि जापानको भिसा लाग्यो। तीन जनाको कमाइले ऋण कम हुँदै गयो। अरूण पनि उच्च माध्यमिक शिक्षा पढेपछि जापानै उडे।
'म काम गर्नै भनेर जापान गएको थिएँ। तर दिदीले आफूले पढ्न नपाएको भन्दै मलाई काम गर्न दिनुभएन। म पढ्न थालेँ,' अरूणले भने।
यो सबै तनावको माहोलबीच उनले आफ्नो रूचिलाई नियाल्न पाएका थिएनन्। फिल्म हेर्न त छुटाएनन्। जापानमा उनका एक साथी थिए। ब्राजिलका नागरिक उनी मोडलिङ गर्थे। उनले अरूणलाई पनि 'गुड लुकिङ छौ, मोडलिङ गर' भनिरहन्थे।
अरूणका लागि मोडलिङ सोचभन्दा बाहिरको कुरा थियो। तैपनि चासो देखाउँदै कस्तो हुन्छ, के गर्ने भनेर सोधे। उनका साथीले केही एजेन्सीको नाम सुझाए। अरूणले कुरा गरे र एजेन्सीकै माध्यमबाट एक इजिप्सियन नाटकमा काम पाए। उक्त नाटकमा उनको भूमिका जम्मा १० सेकेन्डको थियो। त्यो पनि भिडमा गएर हात हल्लाउने मात्र।
उनी नाटकमा सानोतिनो भूमिका र मोडलिङमा सक्रिय हुन थाले। निर्देशक र कलाकारहरूलाई प्रत्यक्ष देखे। यी सबै अनुभवले उनलाई आफ्नो बालापनमा फर्कायो। सानैदेखि फिल्मप्रतिको आफ्नो रूचि सम्झे।
एक दिन काममा जाँदै गर्दा रेलमा आफूले खेलेको नाटकको पोस्टर देखे। गर्वका साथ उनले आफूसँगै भएका अर्का साथीलाई यो नाटकमा मैले खेलेको छु भनेछन्। साथीले पत्याएनन्।
'त्यसपछि बल्ल मलाई देखिनुपर्ने रहेछ भन्ने लाग्यो। मनको कुनामा थन्किएको हिरो बन्ने हुटहुटी बाहिर निस्कियो,' उनले भने, 'मैले हिरो बन्ने अडानै लिएँ।'
जापानमा जुनसुकै जतिसुकै समयको भूमिका गर्न अडिसन दिनुपर्थ्यो। हात हल्लाउने भूमिकामा पनि उनीहरूलाई स्केच बनाएर दिन्थे। फिल्मका प्राविधिक कुरा जान्न फिल्म पढ्नुपर्छ भन्ने उनलाई लाग्यो। तर जापानमा फिल्मको कोर्स पढ्न खर्चिलो थियो। अरूणले घरमा भन्ने हिम्मतै गरेनन्।
एक दिन फेसबुक चलाउँदै गर्दा उनले काठमाडौंमा 'एभरेस्ट फिल्म एकेडेमी' खुलेको खबर देखे। फोन घुमाए। 'पहिलो ब्याचका लागि प्याक भइसक्यो, दोस्रोका लागि तिहारपछि आउनुस्' भन्ने जवाफ आयो।
यो कुरा दिदी र आमालाई सुनाए। उनीहरूले काठमाडौं जान स्वीकृति दिए। बुवाले भने 'तँलाई जे गर्न मन छ यतै गर' भने।
फिल्मबारे पढ्ने रनाहा चढिसकेका अरूण कसैले भनेर रोकिने मनसायमा थिएनन्। केही पैसा जोरजाम गरेर काठमाडौंको टिकट काटे।
जाने अघिल्लो दिनसम्म बुवाले भने, 'नजा, टिकट रद्द गरिदिन्छु।'
अरूणले बुवालाई जवाफ दिए, 'मलाई एक वर्ष समय दिनुस्, म कलाकार बनेर देखाउँछु।'
जापानमा चार वर्षको बसाइपछि उनी पाँच लाख रूपैयाँ बोकेर नेपाल आए। एभरेस्ट फिल्म एकेडेमीमा पढ्न थाले। अरूणका अनुसार पढ्न थालेको दुई महिनामै जसको माध्यमबाट उनी एभरेस्टमा आएका थिए, उनीहरू कान्तिपुर फिल्म एकेडेमीका लगानीकर्ता भए।
कलेज छुट्यो। अरूणलाई आफ्नो सपनाबाट पनि छुट्टिने हो कि भन्ने डर लाग्न थाल्यो।
'फिल्मबारे धेरै बुझ्न म पहिलो ब्याचका विद्यार्थीसँग अन्तर्क्रिया गरिरहन्थेँ,' अरूणले भने, 'पछि कान्तिपुर फिल्म एकेडेमी जानुभएका लगानीकर्ताले मलाई त्यहीँ आउन आग्रह गर्नुभयो। त्यहाँ मैले पहिलो ब्याचसँगै पढ्ने अवसर पाएँ।'
कान्तिपुर एकेडेमीमा एक वर्ष पढेपछि कोर्स सकियो। अब उनी अडिसनमा धाउन थाले। उनले पहिलो पटक अडिसन दिएको फिल्म 'ग्याङस्टार ब्लूज' हो। अवसर पाएनन्। यसपछि थुप्रै फिल्ममा अडिसन दिइरहे।
यही क्रममा उनले केही म्युजिक भिडिओमा काम गर्ने मौका पाए। 'तिमी जस्तै हो, मधुकर बनेर, कुरा दामी हो, ओ प्रिय' लगायत भिडिओमा चल्तीका कलाकारसँग काम गरे। उनको चर्चा भने भएन। त्यस्तै वेबसिरिज 'लास्टै र्याक भो' मा अभिनय गरे।
'यसले मलाई फाइदाभन्दा घाटा बढी भयो। कतिपय फिल्मका लागि अडिसन दिँदा निर्देशकले नयाँ अनुहार खोजेको, तिमीले त वेबसिरिजमा काम गरिरकेका रहेछौ भन्दा खिस्स पर्थेँ,' उनले भने।
यसरी अडिसनमा धाउँदै, निराश हुँदै उनको संघर्षले ६ वर्ष काट्यो। यतिका समयमा पनि आफूले केही गर्न नसकेपछि उनले हरेस खाइसकेका थिए। भित्रभित्रै तड्पिन थाले। कति रात उनले फोनमा आमासँग रोएर बिताए।
आमाले सम्झाउँथिन्, 'तैंले प्रयास गरेकै हो। अब जापानमै आइज।'
तर घर र साथीभाइलाई 'हिरो बनेर देखाउँछु' भनेर आएका शब्दले उनलाई घरिघरि झ्ल्याँस्स बनाउँथ्यो। अनि हिम्मत बटुलेर अर्को दिन निर्माता-निर्देशक भेट्न कुदिहाल्थे।
'मैले हार्न थालेको महसुस गरेपछि झुक्नुपर्छ भन्ने लाग्यो,' उनले भने।
अरूण आफूले अभिनय र नाचेको भिडिओ हरेक निर्देशकलाई पठाउँथे। उनले नृत्य निर्देशक रेनशा बान्तवा राईलाई पनि आफू नाचेको भिडिओ पठाए। तत्काल कुनै प्रतिक्रिया आएन।
'केही समयपछि अरूकै माध्यमबाट मेरो भिडिओ देखेर रेनशाले म्यासेज गर्नुभयो। तिमीसँग भेट्न मन छ भन्नुभएको थियो,' अरूणले भने, 'त्यो म्यासेज देखेर म निकै खुसी भएँ।'
लामो समयपछि उनीहरूको भेट भयो। रेनशाले आफ्नो नयाँ फिल्म 'आइएम ट्वान्टी वन' मा सहायक भूमिकामा अभिनय गर्न प्रस्ताव राखिन्। सोच्न भनेर एक हप्ता समय पनि दिइन्।
अरूणले एकछिनमै जवाफ दिए, 'हुन्छ, म काम गर्छु।'
उनले पहिलो पटक काम गरेको फिल्म 'आइएम ट्वान्टी वन' नै हो। तर प्रदर्शनका हिसाबले उनको डेब्यू फिल्म बन्यो महापुरूष।
महापुरूषमा काम गर्ने अवसर उनलाई 'आइएम ट्वान्टी वन' का कास्टिङ निर्देशक सुदाम सिकेले जुराइदिएका हुन्। सुदामले अरूणको नाम निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँलाई सिफारिस गरिदएका थिए।
एक दिन फोन आयो, 'म रवीन्द्र सिंह बानियाँ हो। तिमी हामीसँग काम गर्छौ?'
अरूणलाई विश्वासै लागेन। विगत ६ वर्षमा साथीहरूले उनलाई यसरी धेरैचोटि झुक्याएका थिए। तैपनि भरोसा राखे। केही दिनपछि भेट पनि भयो, रवीन्द्र र प्रदीप भट्टराईले अडिसनमा आउन आग्रह गरे। हरिवंश आचार्यसँग उनको स्क्रिन-टेस्ट भयो।
एक सातापछि उनलाई खबर आयो- तिमी छनोट भयौ!
अरूणको खुसीको सीमा रहेन। वर्षौंको तपस्या पूरा भएझैं लाग्यो। मन दंग थियो। तर त्यति बेलै कोरोनाका कारण देशमा तेस्रो पटक लकडाउन भयो।
'मैले भूमिका गुमाउने हुँ कि भन्ने डरले सताइरहन्थ्यो,' उनले भने, 'त्यसैले बारम्बार उहाँहरूलाई (प्रदीप र रवीन्द्र) लाई फिल्मको काम के हुँदैछ भनेर म्यासेज गरिरहन्थेँ।'
अरूणका लागि हिरो बन्न खुलेको त्यो ढोका बन्द हुनेवाला थिएन। पन्ध्र महिनापछि निर्माण टिम फिल्म बनाउन जुटे।
त्यति बेला निर्देशक प्रदीप भट्टराईले भनेछन्, 'तिमीले त हामीले गफ दिएर गयौं भन्ने सोच्यौ होला है!'
यो सुनेर अरूण मुसुक्क हाँसेका थिए।
महापुरूष र आफ्नो भूमिकाले तारिफ पाएपछि उनको त्यो मुस्कान अझै खुलेको छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी