गुड फ्राइडे सिनेमा
चिनियाँ फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा ख्याति दिलाउने श्रेय त्यहाँका पाँचौं पुस्ताका निर्देशकहरूलाई दिइन्छ।
जापानसँगको युद्ध, दोस्रो विश्वयुद्ध र सांस्कृतिक क्रान्तिजस्ता घटनाले चीनको आधुनिक इतिहासमा ठूलो उथलपुथल ल्याएको छ।
सन् १९८० दशकको मध्यतिर सक्रिय पाचौं पुस्ताले यस्तै विषयमा फिल्म बनाएर इतिहास र समाजलाई हेर्ने प्रयास गरे। क्रान्ति र परिवर्तनको उज्याला-अँध्यारा पाटाहरूलाई आम मानिसको भोगाइको कसीमा राखेर हेर्ने प्रयास गरे।
बेइजिङ फिल्म एकेडेमीबाट १९८२ मा ग्राजुएट भएको यो पुस्ता यसअघिको समयका सर्जकभन्दा तुलनात्मक रूपमा स्वतन्त्र थिए। चीनको सांस्कृतिक क्रान्तिपछि राज्यकै पहलमा १९७८ मा बेइजिङ फिल्म एकेडेमी सक्रिय भयो। त्यहीँ पढेको यो पुस्ताले चिनियाँ फिल्मलाई विदेशी दर्शक, समीक्षक र बजारसम्म पुर्याउन स्तरीय फिल्महरू बनाए।
इतिहास, संस्कृति र साहित्यको जगमा कथा भन्ने यो पुस्ताका निर्देशकहरूले संगीत, सिनेमाटोग्राफी, रङ संयोजनदेखि फिल्म निर्माणका सैद्धान्तिक र प्राविधिक पक्षहरूमा पनि नयाँ प्रयोग गरे। उनीहरूको प्रयोगको चर्चा बर्लिन, कान र ओस्करजस्ता ठूला महोत्सवसम्म पुग्यो। उनीहरूका काम पुरस्कृत हुन थाले।
पाचौं पुस्ताका निर्देशकमध्ये निरन्तरता र चर्चाका हिसाबले सबभन्दा अगाडि आउने नाम हो झांग यिमो। चीनको फिल्मलाई पहिलो पटक ओस्करमा पुर्याउने श्रेय उनलाई जान्छ। विदेशी भाषातर्फको उत्कृष्ट फिल्म विधामा उनका फिल्महरुले पटक-पटक ओस्करका लागि प्रतिस्पर्धा गरेका छन्।
चीनको कथा र कलालाई अन्तर्राष्ट्रिय बजारमा लैजान आज पनि उनी निरन्तर सक्रिय छन्। उनले २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिकको उद्घाटन र समारोह सत्रको निर्देशनसमेत गरेका थिए।
आज गुड फ्राइडे सिनेमामा हामीले यिनै झांग यिमोको 'द रोड होम' फिल्म सिफारिस गरेका छौं जुन युट्युबमा अंग्रेजी सबटाइटलसहित उपलब्ध छ।
सन् २००२ मा रिलिज भएको द रोड होम लेखक बाओ शीको 'रिमम्ब्रेन्स' उपन्यासमा आधारित फिल्म हो। साधारण तर मन छुने यो कथाले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो भने थुप्रै अवार्ड पनि जितेको छ।
यो फिल्म एउटा प्रेमिल जोडीको कथा हो; एउटा गाउँकी युवती र त्यहाँ पढाउन आएका शिक्षकको। सँगै एक श्रीमान, बाबु, छिमेकी र शिक्षकको अन्त्येष्टिको पनि कथा हो।
यो कथा विगतमा फर्केर सुनाउँछन् लु युशेङले। सामान्यतया अरू फिल्ममा विगतको कथा श्यामश्वेतमा देखाइन्छ भने वर्तमानको रंगीन। फिल्म द रोड होमले ठीक उल्टो गरेको छ। त्यसैले डेढ घन्टाको यो फिल्ममा श्यामश्वेत र रंगीन दृश्य झन्डै आधा आधा छ।
फिल्मको नामजस्तै यसको सुरूआत युशेङ घर जाँदै गरेको बाटोको दृश्यबाट हुन्छ। चारैतिर हिउँले ढाकेको छ, मौसम चिसो छ। त्यति नै चिसो हुन्छ युशेङको मन।
सहरमा बस्ने उनी आफ्नो गाउँ फर्किँदै छन्। उनका बुबाको मृत्यु भएको हुन्छ। बुबा गुमाएको खबरले उनी दुखी छन्, योभन्दा बढी चिन्ता आमाको छ। बुबाबिना आमाको अवस्था के हुने होला भनेर उनी आत्तिएका छन्।
बुबाको अन्तिम संस्कारको तयारी चल्दै गर्दा युशेङले आफ्ना आमाबाको प्रेम कथा सुनाउँछन्।
लु चाङ्यु नयाँ गाउँमा शिक्षक भएर आउँछन्। उनलाई देख्ने बित्तिकै झाओ दीको मन फुरूङ्ग हुन्छ। दी चाङ्युलाई मनपराउँछिन्। पहिलो नजरको प्रेम, त्यो गाउँकै पहिलो प्रेम!
चाङ्युलाई सुरूमा दीबारे कुनै जानकारी हुँदैन। दी भने उनलाई हेर्न स्कुल छेउछाउ जाने अनेक बहाना खोज्न थाल्छिन्। उनको मनमा चाङ्युले राज गरिसकेका हुन्छन्।
एकदिन उनीहरूको भेट हुन्छ। त्यसपछि चाङ्युलाई पनि दी मनपर्छिन्। उनीहरूको मन साटिन्छ। माया अंकुराउन थाल्छ।
सपनाजस्तै यो मीठो अनुभूति हुँदै गर्दा अचानक समस्या खडा हुन्छ। चाङ्युलाई सरकारले सहर फिर्ता बोलाउँछ। उनी जान्छन्। गाउँमा उनी जानुका अनेक कारण अड्कल गरिन्छ।
उनी नफर्किएपछि दीको मन कुँडिन्छ। हरेक दिन उनी चाङ्युको प्रतीक्षामा बिताउँछिन्। ठन्डीको कुनै पर्वाह नगरी उनी चाङ्युको बाटो हेर्छिन् र एकदिन ढल्छिन्।
गाउँलेलाई लाग्छ- उनी अब बाँच्दिनन्। चाङ्यु फर्केर कहिल्यै आउँदैनन्!
के होला यो प्रेमिल जोडी र प्रेम कथाको भविष्य?
यसका लागि फिल्म 'द रोड होम' हेर्नुहोला।