फुर्सदमा सिनेमा
कुनै पनि सम्बन्धमा दुवै पक्षका प्राथमिकता र सपनाबीच सन्तुलन मिलेन भने द्वन्द्व बढ्छ। दिदीबहिनी र दाजुभाइको सम्बन्ध पनि यसबाट अछुतो हुँदैन।
नेपाली फिल्म 'सम्बन्धक्' यस्तै द्वन्द्वको कथा हो। फिल्मको कथा नेहा, उनका भाइ राजु र उनीहरूका दाइ रमेशबीच घुम्छ।
कथाको केन्द्रमा नेहा छिन् जो बिबिए पढ्नु परेकामा असन्तुष्ट छिन्। उनी विदेश जान चाहन्छिन्। विदेश गएर उनी ग्राफिक डिजाइन पढ्न चाहन्छिन्। तर उनीमाथि ह्विलचेयरमा गुड्ने भाइको स्याहार गर्ने जिम्मेवारी छ। उनी लुकिछिपी विदेश जाने प्रक्रिया अघि बढाइरहेको कुरा भाइले चाल पाएपछि अप्ठ्यारोमा पर्छिन्। परिवार र सपनामध्ये एक रोज्नुपर्ने दुविधामा पुग्छिन्।
उनी सम्बन्ध जोगाउनका लागि बन्धक भएको महशुस गर्छिन्।
'सम्बन्धक्' को कथा नेहाको भोगाइबाट मात्र देखाइएको छैन। नेहालाई जस्तै ह्विलचेयरबाट भर्खरै भुइँमा खुट्टा टेक्ने प्रयास गर्ने राजुको पनि आफ्नै सपना छ- एकएक पाइला टेक्दै आफ्नै शरीरको बलमा हिँड्ने।
तर यही बेला दिदी बाहिर गए यो सपना पूरा नहोला कि भन्ने पिर छ। उता दाइ रमेश त झन् बहिनीकै भरमा घर खर्चका लागि ढुक्कले खटिन पाएका छन्। बुबाले अर्को बिहे गरेको र आमाको निधन भइसकेकाले रमेशका लागि पनि घर व्यवहारको अभिभाराले बन्धक बनाएको छ।
एकअर्कामा आश्रित यो परिवारका तीन जना फरक सोच र मूल्य-मान्यताका प्रतिनिधि हुन्। दाइ रमेशले पुरानो सोचको प्रतिनिधित्व गर्छन् जसलाई विदेश जानेमा कुराप्रति नै आपत्ति हुन्छ। तर उनी बहिनीलाई माया नगर्ने दाइ होनन्।
उनी विदेश जान लागेकी बहिनीलाई नजान फकाउँदै भन्छन्, 'भोलि केयु गएर ग्राफिक डिजाइनबारे बुझम्ला।'
फिल्ममा नेहा र राजु साथीसरह छन्। उनीहरू मायासहितको झगडा गर्छन्। तर नेहा विदेश जाने थाहा पाएपछि उनीहरूको आत्मीय सम्बन्धमा दरार आउँछ। यी पात्रहरू जिम्मेवारी, सपनामध्ये केलाई प्राथमिकता दिने भन्ने अन्योलमा पर्छन्।
यो अन्योलले फिल्ममा गज्जबको द्वन्द्व सिर्जना गरेको छ, 'सम्बन्धक्' हेर्ने दर्शकलाई रोमाञ्चित बनाइराख्छ।
हरेक घरका दिदीभाइ वा दाजुबहिनीले आफूलाई भेट्न सक्ने 'सम्बन्धक्' को कथा सिद्धार्थ पुडासैनीको लेखन, निर्देशन र सम्पादनमा तयार भएको हो। सशक्त पटकथा र चुस्त सम्पादनसहितको ४० मिनेटको यो फिल्म निर्देशक पुडासैनी र उनको समूहले सुझबुझका साथ बनाएका छन्।
फिल्मको सुरूमै नेहाले चलाइरहेको कम्प्युटरमा अंग्रेजी शब्द 'फियर' ठूलो अक्षरमा देखाइएको छ। त्यही बेला टेलिभिजनमा विदेश जाने कुराको विरोध गरिरहेका कोही नेता बोलिरहेका हुन्छन्। राजुले कपाल मिलाइरहेको ऐनाबाट दाइ रमेश फोनमा बोल्दै गरेको देखाइन्छ।
फिल्म सुरू हुँदानहुँदै, पात्रहरू एकअर्कासँग नबोल्दै यी गतिविधिले फिल्मको विषय र पात्रबारे धेरै कुरा बताइसक्छ। फिल्म अघि बढ्दै जाँदा दर्शकलाई कथा 'न्यारेट' गर्ने शैली पनि रूचिकर लाग्दै जान्छ।
पहिलो लकडाउन सकिएर दसैंअघि काठमाडौंको टोखा आसपास छायांकन भएको फिल्ममा महामारीकै कारण धेरै कलाकार राखिएको थिएन।
नेहाको भूमिकामा मीरा खड्का, राजुको भूमिकामा सिमान्त पुडासैनीले तारिफ योग्य काम गरेका छन्। रूखो दाइको भूमिकामा सन्देश शाक्य र नेहाकी साथी सुबीको भूमिकामा देखिएकी आकांक्षा जिसी पनि जमेका छन्।
निर्देशक तथा लेखक पुडासैनीका अनुसार उनले वास्तविक जीवनमा देखेका-भेटेका पात्रकै आधारमा यो कथा लेखेका हुन्। फिल्मका पात्रहरूजस्तै र उनीहरूको संवाद पनि कृत्रिम लाग्दैन। पर्दामा उनीहरू हामीले दैनिक जीवनमा अनौपचारिक रूपमा बोले जसरी बोल्छन्।
धनक (हिन्दी)
'धनक' राजस्थानी गाउँका दस वर्षकी दिदी परी र उनका आँखा देख्न नसक्ने भाइ छोटुको कथा हो।
परी शाहरूख खान र भाइ छोटु सलमान खानका फ्यान हुन्। हरेक दिन विद्यालय जानेबेला उनीहरू पैसा उफारेर टस गर्छन्। टस जित्नेले शाहरूख वा सलमानको कहानी सुनाउनुपर्ने सर्त राख्छन्। कहानी भन्ने-सुन्ने खेल खेल्दै उनीहरू लामो समय हिँडेर विद्यालय पुग्छन्।
छोटुको नवौं जन्मदिन नजिक आइरहेको हुन्छ। यो जन्मदिनमा परी छोटुसँग उनले आँखा देख्ने वाचा गरेकी हुन्छिन्।
एकदिन परीले आँखा दान गर्न प्रोत्साहित गर्ने नारासहितको शाहरूख खानको पोस्टर देख्छिन्। त्यसपछि उनी नियमित शाहरूखलाई चिठी लेखेर हुलाकमार्फत पठाउन थाल्छिन्। परीले लगातार लेखेको चिठीको कुनै जवाफ आउँदैन।
यसैबीच परी र छोटुले शाहरूख राजस्थानको गाउँमा आफ्नो फिल्म छायांकनका लागि आएको खबर सुन्छन्। शाहरूखसम्म पुग्न पाए भाइले आँखा देख्न पाउने विश्वासले परी छोटुलाई लिएर छायांकन स्थल जाने निधो गर्छिन्। तर त्यो छायांकन स्थल निकै टाढा हुन्छ। घरबाट भागेर हिँडेका उनीहरू सोचेभन्दा धेरै टाढा भौंतारिन्छन्।
भाइको मायामा समर्पित दिदी र दिदीको भरोसामा निर्धक्क भाइको यो यात्रामा अब रमाइला घटनाक्रमसँगै अप्ठ्यारा परिस्थिति पनि आउँछन्।
परी र छोटु शाहरूखको फिल्म छायांकन स्थलसम्म पुग्लान्? परीले छोटुसँग गरेका वाचा पूरा गर्लिन्? के छोटुले साँच्चै आँखा देख्लान्?
धनकले यस्तै प्रश्न र जिज्ञासा जगाउँदै दर्शकलाई एउटा रोचक यात्रामा डोर्याउँछ?
धनकको अर्थ इन्द्रेणी हो। परी र छोटुको जीवनमा सबै दुःख भुलेर इन्द्रेणी सपना पछ्याउने दत्तचित्त पात्र हुन्। परी बनेकी हेतल गडा र छोटुको भूमिका निर्वाह गरेका कृस चाबरियाले पूरै फिल्म धान्ने स्तरको अभिनय गरेका छन्।
धनकका निर्देशक नागेश कुकुनूर बालबालिका र किशोरकिशोरीका कथा भन्न सिपालु छन्। यही उमेर समूहकेन्द्रित उनको 'इकबाल', 'लक्ष्मी', 'रकफोर्ड' जस्ता राम्रा फिल्म बनाएका छन्।
बालकलाकार केन्द्रमा रहेको यो फिल्ममा बालसुलभ मनोविज्ञान अनुसारकै संवाद, पात्र र घटनाक्रम देख्न पाइन्छ। दिदी-भाइबीचको नोकझोंकका क्षण जति रमाइलो छ, उनीहरूको भावनात्मक कोमल सम्बन्धले पनि उत्तिकै मन छुन्छ। उनीहरू जति झगडा गर्छन् उत्तिकै एकअर्कालाई माया गर्छन्।
बालबालिका यथार्थभन्दा कल्पनामा रमाउँछन्। परी र छोटु पनि फिल्मभर शाहरूख र सलमानमा को राम्रो भन्ने प्रतिस्पर्धा रमाइलो शैलीमा देखाइएको छ।
एकपछि अर्को साना मसिना रमाइला किस्साहरू आइरहने यो फिल्ममा दिदीभाइको यात्राका क्रममा जम्काभेट हुने पात्रहरू पनि मजेदार छन्। हरेक पात्रले परी र छोटुलाई जीवनको कुनै न कुनै पाठ सिकाएर जान्छन्।
परी र छोटुको यात्रालाई राजस्थानी समाजका राम्रा-नराम्रा प्रवृत्ति उजागर गर्ने मौकाका रूपमा निर्देशकले प्रयोग गरेका छन्। एकातिर यी दिदीभाइले अन्धविश्वासी, ढोंगी र अपराधी पात्र भेट्छन्, अर्कोतिर उदार र निश्वार्थ सहयोग गर्नेहरूको साथ पनि पाउँछन्।
यसअघि नागेशले 'डोर' फिल्ममा राजस्थानी समाजको कथालाई दुई महिलाका भोगाइमार्फत देखाएका थिए। यसमा बालबालिकालाई रोजेका छन्।
परी र छोटुको यात्रा 'धनक' मा राजस्थानको जीवनशैली र संस्कृतिलाई सचेत रूपमा देखाएका छन्। फिल्ममा राजस्थानी स्वादको संगीतले पनि कथा परिवेशसँग सम्बन्ध बनाइराख्छ।
बर्लिन फिल्म फेस्टिभलमा 'ग्रान्ड प्रिक्स फर बेस्ट फिचर' अवार्ड पाएको धनकले भारतको 'बेस्ट चिल्ड्रेन फिल्म' विधातर्फको नेसनल अवार्ड जितेको थियो।
(तिहारको अवसरमा हामीले यी फिल्म पुनः सिफारिस गरेका हौं।)