गुड फ्राइडे सिनेमा
यो फिल्मलाई धेरै समीक्षकहरूले विश्व सिनेमाको 'मास्टरपिस' भनेका छन्। दस वर्षअघि भएको सर्वेक्षणअनुसार हालसम्म बनेका उत्कृष्ट ५० फिल्मको सूचीमा यसले आफ्नो स्थान बनाएको थियो।
हामी कुरा गर्दैछौं इरानी निर्देशक अब्बास कियारोस्तामी फिल्म 'क्लोज-अप' को।
पर्सियन भाषामा बनेको यो फिल्म वास्तविक घटनामा आधारित छ। सन् १९८० दशकको अन्त्यतिर तेहरानमा भएको एउटा रोचक घटनालाई टपक्क टिपेर अब्बासले फिल्म 'क्लोज अप' बनाएका हुन्।
यो फिल्मको कथा मात्र होइन, पात्रहरू पनि वास्तविक हुन्। जोजो व्यक्ति यो घटनाका भुक्तमान हुन्, उनीहरूले फिल्ममा आआफ्नो भूमिका निर्वाह गरेका छन्। निर्देशक अब्बास आफैं पनि एक पात्र हुन्।
व्यक्तिको पहिचानको विषय उठाएको यो फिल्मले निर्देशक अब्बासको परिचयलाई पनि अन्तर्राष्ट्रिय रूपमा फैलाउन मद्दत गरेको थियो।
अब्बासलाई यो फिल्मको आइडिया एकदिन इरानी पत्रिका 'सोरूश' मा पत्रकार हसन फराजमन्दले लेखेको स्टोरी पढेर फुरेको थियो। उनले भर्खरै पक्राउ परेका हुसेन सबजियाका बारेमा थाहा पाउँछन्।
सबजिया पक्राउ पर्नुको कारण रोचक हुन्छ। उनी चर्चित निर्देशक मोशेन मखमलवफ बनेर मानिसहरूलाई झुक्याइरहेका हुन्छन्। फिल्ममा खेलाइदिने भनेर उनले एउटा परिवारबाट आर्थिक फाइदा पनि लिन्छन्।
पछि उक्त परिवारलाई शंका लागेपछि उनीहरूले प्रहरीमा उजुरी दिन्छन्। पत्रकार फराजमन्द सबजियाको यो कथालाई कसैले नदेखेको कथाजस्तो मान्छन्। उत्साहित हुन्छन्। सबजियालाई पक्राउ गर्न प्रहरीका साथै लाग्छन्। पक्राउ परेका तस्बिरहरू खिच्छन्।
अनि स्टोरी लेख्छन्- नक्क्ली मोशेफ मखमलवफ पक्राउ।
निर्देशक अब्बासलाई भने यति खबरले चित्त बुझ्दैन। उनी सबजियाबारे थप जान्न चाहन्छन्। प्रहरीसँग बुझ्छन्। सबैले सबजिया सामान्य व्यक्ति भएको बताउँछन्। 'ठग' जस्तो नदेखिने भनेको सुनेपछि अब्बासलाई झनै कौतुहलता हुन्छ।
आखिर सबजियाले किन यस्तो गरे?
उनी सबजियालाई भेट्न जेल जान्छन्। सबजियाले अब्बासलाई पनि चिन्छन्। अब्बासको फिल्म हेरेको पनि भन्छन्।
यसपछि आफ्नो कुरा भन्न थाल्छन्।
उनको कुरामा निर्देशक अब्बासले कथा भेट्छन्। सबजियाको यही कथालाई फिल्म बनाउने ठान्छन्।
सबजिया सहमत हुन्छन्। अब्बासले उनको सुनुवाइ हुँदाका भिडिओ खिच्ने अनुमति पनि पाउँछन्। अनि अदालतका सबै प्रक्रिया खिचिन्छ।
सबजियाले आखिर किन यस्तो गरेका हुन्छन्? उनी को हुन्? केका लागि यो काम गर्छन्? उनको कुरा सुनेर न्यायाधीसले के फैसला गर्लान्? पीडित परिवारले न्याय पाउलान्?
यी सबै घटना फिल्म 'क्लोज-अप' ले देखाएको छ। र यो फिल्म मात्र होइन, वास्तविक घटनाको दस्तावेज हो।
यसमा अब्बासले अर्को रोचक काम पनि गर्छन्। उनकै पहलमा सबजिया र निर्देशक मोशेफ मखमलवफको भेट हुन्छ। अब्बासले उनीहरूलाई किन भेटाउँछन् भन्नेबारे जान्न फिल्म नै हेर्नुहोला।
सन् ११९० मै मोन्ट्रियल इन्टरनेसनल फेस्टिभल अफ न्यु सिनेमा एन्ड भिडिओ र इन्टरनेसनल इस्तानबुल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल यो फिल्म सुरूमा इरानीहरूले खासै मन पराएनन्। जब विदेशमा यसले प्रशंसा पाउँदै गयो तब बल्ल इरानमा पनि यसले सकारात्मक प्रतिक्रिया पाएको थियो।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले यो फिल्मलाई 'उम्दा' भनेको थियो। सन् २०१० मा लस एन्जलस टाइम्सका समीक्षक डेनिस लिमले यो फिल्मलाई 'इरानको सामाजिक र सांस्कृतिक तथ्यभित्र हुर्केको एक उल्झेको मान्छेको मनोविज्ञान' भनेका थिए।
यो फिल्मले तत्कालीन इरानी परिवेशलाई पनि देखाउने प्रयास गरेको छ।
फिल्मका कतिपय दृश्य अभिनीत छन् भने कतिपय वास्तविक फुटेज प्रयोग गरिएको छ। त्यसैले पनि क्लोज-अप अलिकति फिल्म, अलिकति डकुमेन्ट्री जस्तो लाग्छ। डेढ घन्टाको यो फिल्मबाट सबजियाको कथा भन्न अब्बास सफल भएका छन्।
आज सेतोपाटीको गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यही फिल्म सिफारिस गरेका छौं। पर्सियन भाषामा भए पनि यसमा अंग्रेजी सबटाइटल छ।