कोरोना लकडाउनपछि लामो समय बन्द भएको काठमाडौंको अँध्यारो कोठाले देवेन्द्र बब्लुलाई पर्खिरहेको थियो। एकदिन उनी त्यही कोठामा छिरे। बत्तीको स्विच अन गरे। मधुरो बत्तीले कोठामा भएका किताबका लहर र बाजाहरू देखिए।
तिनै किताब र बाजाले घेरिएर बसे उनी। अनि लेख्न थाले पर्खाइमा रहेका मान्छेहरूको भाव पोख्ने गीत।
लेखन पूरा नभएसम्म कोठाबाट बाहिरै निस्किएनन्। गीत सकिएपछि बजारमा निकाल्ने तरखरमा लागे।
मलीन अनुहार, कोठे सर्टमाथि ज्याकेट लगाएर अग्लो माइकमा 'म त पर्खेको पर्ख्यै छु' भन्दै गीत गाउने उनै देवेन्द्र बब्लु हुन्।
आफूले लेखेको गीत आफैं गाएका र भिडिओमा समेत आफैं देखिएर यो गीतमा भिजेका छन् उनी।
'तीन दिन लगाएर यो गीत तयार पारेको थिएँ,' देवेन्द्रले सेतोपाटीसँग भने।
उनको दिमागमा यो गीतको बीउ भने आफ्नो घर बागलुङमा हुँदै रोपिएको थियो। लकडाउन भएपछि उनी आफ्नो घरगाउँ बागलुङ गएका थिए। त्यसबीच उनले धेरै व्यक्तिको अवस्था नियाले।
एकदिन आँगनमा बसेका बेला छिमेकी भाउजू र विदेशमा बस्ने दाइको टेलिफोन वार्ता सुने।
भक्कानिएको आवाजमा भाउजूले भनिन्- तपाईं कहिले आउनुहुन्छ, कोरोना बढ्दै छ। छिट्टै आउनुस्। म पर्खिरहेको छु।
'ती भाउजूको कुरा सुनेर मन चिसो भइरह्यो,' देवेन्द्रले भने, 'दाइप्रति भाउजूको भावनात्मक प्रेम भरिएको फोनवार्ता भुल्न सकिनँ।'
उनलाई सम्बन्धमा पर्खिनु ठूलो चुनौती लाग्यो। यिनै अनुभव र सम्झना बोकेर केही समयपछि उनी काठमाडौं फर्किएका थिए।
छिमेकी भाउजूले दाइसँग गरेको कुराकानीलाई मिठो शब्दमा गुनगुनाउँदै उनले भाका मिलाए। लकडाउनमा कति दिनदेखि बन्द कोठा खोलेर पसे। अनि तेस्रो दिन शब्द र रचनाहरूको जोडघटाउ गर्दैगर्दै तयार भएको हो 'म त पर्खेको पर्ख्यै छु'।
याेसँगै उनले 'भेटै हुन्न कि' र 'म हाँसे हाँस्छ्यौ र' गीत पनि तयार पारे। तीनवटै गीत चर्चित भए, प्रशंसा बटुले।
त्यसैले उनी भन्छन्, 'लकडाउनको समय मेरा लागि फलदायी भयो।'
देवेन्द्रका सबै कल्पना र अनुभवले गीतको रूप पक्कै लिँदैनन्। विशेषगरी गाडीमा यात्रा गर्दा उनको मनमा धेरै कुरा खेल्छन्। कति भावना संगीतमा घुलेर गीत बन्छन्, कति पातको शीतझैं खेलेर बिलाई जान्छन्।
'आफ्नो वरिपरिको परिवेशलाई गीतको शब्दमा उतार्ने प्रयास गर्छु,' उनी भन्छन्।
देवेन्द्रले आफ्ना धेरै गीत यही कोठामा बसेर लेखेका हुन्। यो कोठा कुमालेको चक्रझैं हो, उनको सिर्जनालाई आकार दिन्छ। दिमाग शून्य भएको छ भने पनि उनी त्यही मधुरो प्रकाश भएको कोठामा बस्न रूचाउँछन्। गितार काखमा राखेर हातका औंला चलाउँछन्।
'त्यसरी त्यहाँ बसेपछि केही न केही सिर्जना भइहाल्छ,' उनले हाँस्दै भने, 'मेरा धेरै गीत यही कोठाबाट बजारसम्म पुगेका हुन्।'
काठमाडौंको कोठामा हराइरहेका देवेन्द्रको मूल भने बागलुङ बजारभन्दा माथि डाँडाको सानो गाउँ धम्जामा जोडिएको छ। धम्जा जनजाति र दलित समुदाय भएको बस्ती हो। त्यहीँका एक विश्वकर्मा थरी दम्पतीका साइँला छोराका रूपमा दुई दशकअघि जन्मेका हुन् देवेन्द्र।
बाबु भारतमा काम गर्न जान्थे। आमा अरूको खेतीबारीमा खटिन्थिन्। बिहान-बेलुकाको छाक यसरी नै टर्थ्यो। बस्नका लागि सानो गोठ मात्र थियो। आमाबुवा र चार सन्तानको जीवन यहीँ बित्थ्यो।
सानैदेखि चुलबुले स्वभावका देवेन्द्र घरका काम गर्न सिपालु थिए। घरधन्दा, लिपपोत, गाईवस्तुको स्याहार जस्ता काम उनलै गर्थे। यति मात्र होइन, १३ वर्षको छँदै आफूले एक जलविद्युत आयोजनामा काम गरेको उनी बताउँछन्।
'मेरो काम जलविद्युत निकालिएको ठाउँको स्विच बन्द गर्ने र खोल्ने थियो। बिहान पाँच बजे गएर स्विच खोल्ने र बेलुका ९ बजे गएर स्विच बन्द गर्ने,' देवेन्द्रले भने, 'राति जानुपर्दा आमासँग जान्थेँ। दुवैको मनमा डर हुन्थ्यो। तर हामी एकअर्कालाई त्यसको आभाष हुन दिन्थेनौं।'
उनका अनुसार यो कामवापत् महिनामा २५ सय रूपैयाँ पाउँथे। जुन त्यो समयमा, उनको परिवारकै लागि ठूलो रकम थियो।
घरनजिकैको श्री जनता माध्यमिक विद्यालयमा पढ्ने उनलाई पढाइमा खास रूचि थिएन। अतिरिक्त क्रियाकलापमा भने सधैं अगाडि सर्थे। गीत लेखेर गाउने, नाच्नेदेखि वक्तृत्वकलासम्म उनले धेरै पुरस्कार पाए।
उमेरसँगै उनका इच्छा र चाहना बढ्दै थिए। स्कुले पढाइ सकिएपछि काठमाडौं आउने रहर जाग्यो। दुई दाइ काठमाडौंमै थिए। उनीहरू संघर्ष नै गरिरहेकाले देवेन्द्रलाई पनि काम गर्नुपर्छ भन्ने थियो।
'तर आमाको नजिक भएर होला, उहाँसँग छुट्टिन निकै मुस्किल भयो,' उनले भने, 'आमा पनि अरू दाइलाई बिदा गर्दा सामान्यै हुनुहुन्थ्यो। मलाई पठाउँदा भने निकै भावुक हुनुभयो।'
२०७० सालमा काठमाडौं आउँदा केही पैसा र आमाले दिएको नाम 'बब्लु' बोकेर आएका थिए उनी। भारतमा काम गर्ने बाबुले उताका सबै कुरा सुनाउँथे। उनकी आमालाई भारती नामहरू खुब मनपर्थ्यो। बब्लु पनि मनपर्यो, देवेन्द्रलाई उनले त्यही नामले बोलाउन थालिन्। देवेन्द्र पनि मख्ख पर्थे।
'काठमाडौं आएपछि घरगाउँमा बोलाउने नाम हराउँछ कि भन्ने डर थियो,' उनले भने, 'त्यसैले आमाले दिएको नाम मैले आफ्नो नामको पछाडि जोडेँ। नागरिकतामा देवेन्द्र विक छ तर म देवेन्द्र बब्लु नै हुँ।'
देवेन्द्र अन्यौलमै काठमाडौं आएका थिए। के गर्ने, कसो गर्ने थाहा थिएन। उनका जेठा दाइ प्रकाश सपूतले ललितपुर, पुल्चोकको एक होटलमा काम गर्ने र त्यहीँ बस्ने व्यवस्था मिलाइदिएका रहेछन्। देवेन्द्र त्यहीँ भाँडा माझ्ने, सरसफाइ गर्ने काममा लागे।
करिब डेढ महिना काम गरेपछि उनी कलेज जाने समय आयो। बिहानदेखि बेलुकासम्म काम गर्नुपर्ने भएकाले त्यहाँ बसेर सम्भव भएन। त्यसैले डेढ महिना काम गरेको ५ हजार रूपैयाँ लिएर उनी निस्के। तर उनले काठमाडौं कस्तो छ भनेर देख्नै पाएका थिएनन्। दाइ गोंगबुमा बस्थे। त्यहाँ जाने बाटो होटलकै मान्छेले देखाइदिए।
देवेन्द्र सानैदेखि रेडियो सुन्न रूचाउँथे। त्यही रूचि बुझेर होला, दाइ प्रकाश सपूतले उनलाई पत्रकारिता पढ्न कलेज भर्ना गरिदिए। ठमेलको एक होटलमा वेटर काम पनि थाले। कलेज र होटलमै उनको दिन बित्थ्यो। उनलाई भने आफ्नो रूचि केमा छ भन्ने पत्तो थिएन। जे आइपर्यो, त्यही गर्दै गए।
कक्षा बाह्रको पढाइ सकेपछि उनले जापान जाने योजना बनाए। करिब सात महिना जापानी भाषा पढे र प्रक्रिया अगाडि बढाए। भिसा लाग्नेमा ढुक्क थिए। शान र चुरीफुरी बढेको थियो। तर लागेन। उनी छाँगाबाट खसेजस्तै भए।
'मैले मेरो भविष्य नै अन्धकार देखेँ। अब के गर्ने भन्ने चिन्ताले सतायो। ग्वाँग्वाँ रोएँ नै,' उनले भने।
जापान जाने सपना टुटेपछि उनले दोहोरी साँझमा गीत गाउने सोचे। गाउन, बाजा बजाउन नआए पनि चिनजानको हिसाबले एक जना दाइले उनलाई काम लगाइदिए। अरू नाचेको-गाएको देखेर गाउन सक्छु भन्ने त लाग्थ्यो, तर आउँथेन। पहिलो दिन निकै अत्तालिए।
'साहुले कस्तो मान्छे राखेको, न गाउन आउँछ न बजाउन भन्दै ती दाइलाई कराए,' देवेन्द्रले सम्झिँदै भने, 'मैले सुनिहालेँ। साह्रै नराम्रो लाग्यो। त्यसपछि म अरूले कसरी गाउँछन्, बाजा बजाउँछन् भनेर नियाल्न थालेँ। दस दिनमै गाउन र बाजा बजाउन सिकेँ।'
त्यो बेला गाउनु आफ्नो काम मात्र हो भन्ने लाग्थ्यो उनलाई। करिब एक वर्ष दोहोरी साँझमा काम गरेपछि उनलाई रेडियोमा काम गर्ने रहर जाग्यो। रेडियो सगरमाथामा उनले चिनेका दाइलाई 'केही बोल्ने काम पाइन्न?' भनेर सोधे। दाइले बोलाएपछि उनले डेढ वर्ष जति रेडियो सगरमाथा र दोहोरी साँझ धाएर बिताए।
रेडियो सगरमाथाकै एक जना दाइ रंगमञ्चमा काम गर्थे। उनले नाटक हेर्न बोलाइरहन्थे। नाटक हेर्दै जाँदा देवेन्द्रलाई रंगमञ्चतिरै झुकाव बढ्यो। रंगमञ्चमा काम गर्ने प्रस्ताव राखे। ती दाइले चार महिनापछि उनलाई बोलाए।
रंगमञ्चको काम कहाँ आउँथ्यो र उनलाई! तर नआउने काममा पनि अघि सर्दै सिपालु बन्नु देवेन्द्रको खुबी हो। गायन अनुभव भएकाले नाटकमा पार्श्वसंगीत दिन थाले। नाटकमा रमाउन थालेपछि उनले दोहोरीमा गाउन छाडे।
रेडियो र नाटकको कामले मात्र उनको गर्जो सहज भएन। तैपनि नाटक छाड्ने मनस्थितिमा थिएनन्। रंगमञ्चमा भिज्दै गएपछि रेडिओको काम छाडे। नाटकघरमै बस्नेखाने गर्न थाले।
'थिएटरमा कत्ति पनि कमाइ नहुने। दुई छाक खान धौधौ हुन थाल्यो। केही नभएपछि मन्दिरमा लाइन बसेर प्रसाद पनि खाएँ,' देवेन्द्रले भने।
बागलुङे लवजमा बोल्ने देवेन्द्रले 'माटोको फूल' नाटकमा मुख्य पात्रको भूमिका निर्वाह गर्ने अवसर पाए। त्यसकै लागि एउटा गीत पनि तयार पारे- कसरी, कसरी, माया बस्यो बेसरी!
नाटकपछि दर्शक यो गीत गुनगुनाउँदै निस्किन्थे। उनी दंग परे। नाटकभन्दा बढी माया गीतबाट पाएपछि उनलाई यसको भिडिओ बनाए राम्रो हुन्छ भन्ने लाग्यो। नभन्दै 'कसरी' बोलको गीतले युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पायो।
बल्ल उनले गाउन र संगीतको मजा अनुभव गरे। आधुनिक गीतले उनलाई मीठो अनुभव दियो।
'मेरो रूचिको विषय यो पो रहेछ भन्ने भयो,' देवेन्द्रले भने, 'सन्तुष्टि मिल्यो। त्यसपछि म सबै छाडेर गीतसंगीतमै आबद्ध भएँ।'
उनले म्युजिक भिडिओ निर्देशनको काम पनि पाउन थाले। उनी रचनाकार, गायक, संगीतकार, निर्देशक र कलाकार बन्दै अगाडि बढे। गीत-संगीत क्षेत्रमा उनी राम्रै गर्दै थिए। प्रसंशक बटुल्दै गए।
देवेन्द्रले घरपरिवारबाट स्याब्बासी भने पाएनन्। यसको कारण उनीअघि नै दाइ प्रकाश सपूतले यो क्षेत्रमा चर्चा कमाइसकेका थिए। प्रकाशका 'दोहारी ब्याटल' र 'बोल माया' एकदमै लोकप्रिय थिए।
'घरमा मैले गीत बनाएँ नि भनेर सुनाउँदा, ए हो र भन्ने सामान्य प्रतिक्रिया मात्र पाउँथे,' देवेन्द्रले भने।
धेरैलाई उनले प्रकाशको ओझेलमा परेको पनि भन्छन्। कतिले उनलाई प्रकाश सपूत नै भन्ठान्छन्। 'तपाईं प्रकाश सपूत हो है' भनेर सोध्छन्। उनले 'म भाइ' भनेपछि 'तपाईं चाहि के गर्नु हुन्छ' भन्ने प्रश्न आउँछ। यस्तो बेला उनलाई अलि खल्लो लाग्छ।
'तपाईं प्रकाश सपूतको भाइ, तपाईं पनि गीत गाउनु हुन्छ है भनेर कसैले भन्दा खुसी लाग्छ। मेरो सांगीतिक यात्रा प्रकाश दाइका कारण सहज भएको हो। दाइ र म प्रतिस्पर्धी होइनौं। मैले पनि लोक-दोहोरी गाएको भए सायद हाम्रा दर्शक उही हुन्थे होलान्। तर मेरो जुन शैली छ, त्यसमा मैले नयाँ दर्शक कमाएँ। मलाई प्रकाश सपूतको भाइ भनेर चिनिँदा खुसी लाग्छ,' उनले भने।
पछिल्लो समय उनी गीत-संगीतमै व्यस्त छन्। गीतहरू सार्वजनिक हुने क्रम बढेको छ। दुई फिल्म खेलेका छन्- परदेशी २ र गणपति। दुवै प्रदर्शन हुन बाँकी छ।
आफ्नो यो यात्रा कहाँसम्मको हो भनेर तय भने नभएको उनी बताउँछन्।
'म एउटा मात्र सपना नभएको मान्छे हुँ। मैले म यही बन्छु भनेर कहिल्यै सोचिनँ। अहिले पनि यस्तै छु। एक-दुइटा गीत राम्ररी चलोस् भन्ने रहर पक्कै छ। तर नचले पनि केही छैन,' उनले भने, 'जीवन चलोस्, गीत नचले केही हुँदैन।'
धम्जा गाउँमा दुःखजिलो गरेर हुर्केका उनी भन्छन्, 'अहिलेको जीवनशैली हाम्रो कल्पनाबाट बाहिरको कुरा थियो। तर हामी जसरी बाँचे पनि खुसी थियौं।'
गायक, रचनाकार, संगीतकार, कलाकार र निर्देशकसँगै फराकिलो पहिचान बनाउँदै गरेका देवेन्द्र बब्लुकका सपना धेरै होलान्, चाहना भने एउटै छ- खुसी हुन पाइयोस्!