फुर्सदमा सिनेमा
'एक्स्ट्रा' कलाकारका रूपमा सिनेमामा प्रवेश गरेका विजय सेतुपति अचेल 'आम मान्छेसँग जोडिएका हिरो' (मकल सेल्वन) भनेर चिनिन्छन्। तमिल अभिनेता विजयलाई उनका प्रशंसकहरूले दिएको उपाधि हो यो।
सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका उनले सन् २००० को 'थेनमेरकु परुवाकातरू'मा पहिलो पटक मुख्य भूमिकामा काम गरेर देखाउने माैका पाए। तीन नेसनल अवार्ड जितेको यो फिल्मपछि थप काम गर्ने अवसर पाएका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को 'पिज्जा' हो।
पछिल्ला एक दशकमा विजयले पाएको सफलता लोभलाग्दो छ। उनी विगत एक दशकका सर्वाधिक सफल तमिल स्टार हुन्। सकारात्मक होस् वा नकारात्मक, जस्तोसुकै भूमिकामा काम गर्दा पात्रअनुसार ढल्न सक्ने विजय एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधामा फिट अभिनेता हुन्।
'सुपर डिलक्स' मा ट्रान्सजेन्डर बनेर नेसनल अवार्ड जितेका विजय गएको वर्षको ब्लकबस्टर 'मास्टर' मा ग्याङस्टर भवानीको भूमिकामा देखिएका थिए। 'पेट्टा' फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग 'टक्कर' लिएका थिए।
फरक विधाका फिल्म रोजेर चरित्रमा नयाँपन खोज्नु र आफूलाई बारम्बार प्रमाणित गर्न सक्नु अभिनेता विजयको सफलताको कारण हो।
यहाँ हामीले उनको हरर सस्पेन्स फ्लिम 'पिज्जा' सिफारिस गरेका छौं।
यो घरघरमा पिज्जा पुर्याउने युवक माइकलको कथा हो। माइकल आफ्नी प्रेमिकासँग लिभ-इन सम्बन्धमा बस्छन्। उनकी प्रेमिका हरर फिक्सन लेखक बन्न चाहन्छिन्। यो जोडी अक्सर एकअर्कासँग भूतका कुराकानी गरिराख्ने र बेलाबेला तर्साएर मजाक गर्न रमाउँछ। प्रेमिकाले भूतका कुरा गर्दा डराउने माइकल एक दिन पिज्जा पुर्याउने क्रममा तर्साउने बंगलामा पुग्छन्।
रहस्यमयी र तर्साउने बंगलामा थुनिएपछि माइकलले जे देख्छन्-भोग्छन्, त्यसले दर्शकलाई हैरान बनाउँछ। घटना सत्य हो कि भ्रम, दुर्घटना हो कि षड्यन्त्र, फिल्म हेर्दै गर्दा दर्शकको मनमा उब्जने यी प्रश्न नै फिल्मको रमाइलो पक्ष हो। यिनै प्रश्नले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्छ।
पिज्जा विजय सेतुपतिको करिअरको महत्वपूर्ण फिल्म हो। राम्रो अभिनेताका रूपमा केही फिल्ममा काम गरेका भए पनि उनको स्टारडम पिज्जादेखि स्थापित भएको हो। यसै फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्डसमेत जितेका उनको अभिनयमा प्रशस्त उतारचढाव भेटिन्छ। माइकल कहिले निर्दोष, कहिले डरपोक त कहिले साहसी लाग्छन्।
फिल्मको करिब ५० मिनेट माइकल बंगलामा थुनिन्छन्। घरभित्र थुनिएपछिका दृश्य र घटनाक्रमले दर्शकलाई हरर सिनेमा हेरेको मज्जा दिन्छ। रहस्यमयी माहोल र पात्रको डरलाई देखाउन सिनेमाटोग्राफरले अँध्यारो र मधुरो प्रकाशसँग मज्जाले खेलेका छन्। पहिलो पटक प्रयोग भएको ७.१ को ध्वनि र पार्श्व संगीतले हरर विधाको फिल्ममा चाहिने मूड बनाइराख्छ।
सुस्त गतिमा कथा अघि बढेर मध्यान्तरसम्ममा गति लिइसक्ने पिज्जा हामीले हेर्दै आएका लाउड हररभन्दा अलग फिल्म हो।
(पहिले छुटेको भए दसैं बिदामा फुर्सद हुँदा हेर्न सकिने भएकाले हामीले यो फिल्म पुनः सिफारिस गरेका हौं।)
(सेतोपाटी सिनेमाले सिफारिस गरेका अरू फिल्महरू हेर्न यहाँ क्लिक गर्नुहोस्)