गुड फ्राइडे सिनेमा
यो कथा सन् २०६५ बाट सुरू हुन्छ।
भविष्यका ती दिनमा आर्य नामका एक वैज्ञानिकले टाइम मेसिन बनाउँछन्। उक्त मेसिन उनले राम्रो कामका लागि बनाउने प्रयास गरिरहेका हुन्छन्। क्षमता जाँच गर्न उनले यो मेसिनलाई भूतकालमा पठाउँछन्।
आर्यले मेसिन सन् २०१५ को समयमा पठाउँछन्। मेसिन ४० सेकेन्डभित्र फर्केर आउने गरी समय सेट गरेका हुन्छन्। तर मेसिन फर्किँदैन। आर्य निराश हुन्छन्। मेसिनको अत्तोपत्तो नभएपछि उनको कथाको पडाव यहीँ सकिन्छ।
अनि सुरू हुन्छ मेसिन पुगेको समयको कथा। आर्यले पठाएको मेसिनले काम गर्छ। सन् २०६५ को समयबाट पठाएको मेसिन सन् २०१५ को समयमा पुग्छ।
त्यो एक दिनले सबैको जीवनमा परिवर्तन ल्याइदिन्छ।
त्यसलाई पहिलोपटक देख्नेहरू हुन्छन् तीन जना- इलांगो, उना साथी पुलीभेटी र गिरिधर।
यी तीनै जनाको जीवन फरक छ। इलांगो उद्यमी बन्ने सपनामा भौंतारिरहेका हुन्छन्। बेरोजगार भएकैले उनले सबैको मुखबाट तानाबाना सुनिरहनुपर्छ। उनकी प्रेमिका अनु धनी हुन्छिन्। इलांगो बेरोजगार भएकाले अनु आफ्ना बुवालाई इलांगोका बारेमा भन्न सक्दिनन्।
इलांगोका मिल्ने साथी हुन् पुली। पुलीको जीवन पनि उस्तै हो। ज्योतिष बनेर मानिसहरूलाई भए-नभएका कुरा भनेर उनी जीवन धानिरहेका हुन्छन्।
अर्का गिरिधरसँग भने इलांगो र पुलीको चिनजान हुँदैन। भविष्यबाट आएको मेसिन भेटिएको दिन मात्र उनीहरूले गिरिधरलाई भेटेका हुन्छन्। गिरिधर तीक्ष्ण नै हुन्छन्। उनी विद्युतीय घरायसी सामानहरू मर्मतसम्भार गर्छन्। विभिन्न मेकानिकल सामग्री बनाउने प्रयास पनि गरिरहेका हुन्छन्। तर उनको खुबीको कुनै कदर भएको हुँदैन।
यी तीन अस्तव्यस्त व्यक्तिहरूले आर्यले पठाएको टाइम मेसिन भेट्छन्। यसमा सुरूमा प्राविधिक समस्या हुन्छ। गिरिधरले कसैगरी यसलाई बनाउन सफल हुन्छन् तर यो क्रममा दुर्घटना हुन्छ।
भूतोभविष्य थाहा नभएको मेसिन इलांगो र पुलीको हातमा पुग्छ। उनीहरू यसबाट भरपुर फाइदा लिने मनसायमा हुन्छन्। उद्यमी बन्ने संघर्षमा हन्डर खाइरहेका र प्रेमिकाको परिवारलाई मनाउन नसकेको रनाहामा भएका इलांगो र ज्योतिषी बनेर गुजारा चलाएका पुलीका लागि यो मेसिन वरदान सावित हुने देखिन्छ।
तर सोचेजस्तो सजिलो कहाँ हुन्थ्यो र! यो बीचमा समयले यति धेरै चाल मार्छ, उनीहरूको जीवनले नसोचेको मोड लिइदिन्छ।
यो मोडलाई उनीहरूले सही बाटोमा फर्काउन सक्लान्? कि मेसिनले डोर्याएको जीन्दगी नै उनीहरूले भोग्नुपर्ने हुन्छ? के यो मेसिन पनि आफ्नो समयमा फर्केला?
यो सबै जान्न तमिल फिल्म 'इन्द्रू नेत्रु नालाई' हेर्नुहोला। हिन्दी संस्करणमा यसको नाम 'टाइम मेसिन' हो।
टाइम मेसिन आर रविकुमारद्वारा निर्देशित हो। साइन्स फिक्सन कमेडी यो फिल्म ब्लकबस्टर भएको थियो। समीक्षकहरूले पनि यसलाई सकारात्मक प्रतिक्रिया दिएका थिए। त्यस्तै आइएमडिबीमा यसले ८ भन्दा धेरै स्टार पाएको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं-
(सेतोपाटी सिनेमाले सिफारिस गरेका अरू फिल्महरू हेर्न यहाँ क्लिक गर्नुहोस्)