गुड फ्राइडे सिनेमा
यो फिल्म सुरू हुन्छ सन् १९९६ बाट।
सूर्या रामलिंगम उँटीमा बस्छन्। उनका बुवा एकदमै डरपोक छन्। कुनै पनि जोखिम लिन चाहँदैनन्। सूर्याकी आमा छैनन्। उनलाई आफ्नो एकोहोरो जिन्दगीदेखि दिक्क लागिरहेको हुन्छ।
एक दिन उनको जीवनमा राजीव पारिराजनको आगमनले ठूलो हलचल ल्याइदिन्छ।
एउटै उमेरका राजीव सूर्याको छिमेकीका रूपमा बस्न आएका हुन्छन्। राजीव पूर्व सिबिआई अफिसर भरतका छोरा हुन्।
भरत सानैदेखि राजीवलाई प्रहरी बन्ने तालिम दिन्छन्। उनलाई तीक्ष्ण बनाउन अनेक तरिका सिकाउँछन्। यी सब देखेर सूर्या दंग पर्छन्। उनलाई आफ्नो जीवन राजीवकै जस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ।
एकदिन सूर्या राजीवको रूबिक्स क्युब लिएर जान्छन् र चलाउन सिक्छन्।
उनी त्यो रूबिक्स क्युब फेरि राजीवकै घरमा फिर्ता राख्न आएका भरतले उनलाई देख्छन्। सूर्याको रूचि र खुबी देखेर भरत प्रभावित हुन्छन्। उनले सूर्यालाई पनि राजीवसँगै तालिम दिन थाल्छन्। राजीवलाई सूर्या मनपरे पनि बुवाले उसलाई प्राथमिकता दिएको मन पर्दैन। राजीवलाई आरिस लाग्न थाल्छ।
भरतले राजीवलाई सम्झाउन जे भन्छन्, त्यसले फिल्मको कथाको बीउ रोप्छ।
समान तालिम पाए पनि सूर्या बिस्तारै राजीवभन्दा तगडा भएर निस्किन्छन्। राजीवलाई यसले जलन हुन्छ। भरतलाई पनि आफ्नो छोरा सूर्याभन्दा पछाडि पर्ला कि भन्ने चिन्ताले सताउन थाल्छ।
एक दिन यस्तो घटना हुन्छ जसले सूर्या र राजीवको बाटो छुट्टिन्छ।
उनीहरू दुवै चेस खेलिरहेका हुन्छन्। त्यही बेला राजीवका बुवा भरतको हत्या हुन्छ। यसका साक्षी राजीव र सूर्या मात्र हुन्छन्। सूर्या भरतका हत्यारालाई खोजेर सजाय दिन चाहन्छन्। यसमा तगारो बनेर उभिन्छन् सूर्याका बुवा जो जिन्दगीभर जोखिमबाट पर भागिरहे। उनी सूर्याको बदलिएको आनीबानी देखेर आत्तिन्छन्। सूर्यालाई प्रहरी बन्ने सपना नदेख्न कसमधरि खुवाउँछन्।
त्यसपछि फिल्म एकैपटक सन् २०२१ मा पुग्छ।
यति बेला सूर्या सिंगापुरमा बुवाले चलाइरहेको डिपार्टमेन्ट स्टोरका मालिक छन्। उनी गुपचुप रूपले सिंगापुरमा रहेका तमिलहरूको सुरक्षाको काम पनि गर्छन्।
एक दिन ग्यास स्टेसनमा भएको दुर्घटनामा ११ जना तमिल नागरिकको मृत्यु हुन्छ। केही नराम्ररी घाइते हुन्छन्। यो देखेर सूर्या आहत हुन्छन्। उनी यो घटनामा संलग्न व्यक्तिलाई पक्रेर प्रहरीलाई बुझाउँछन्।
अर्को दिन भारतीय विदेशमन्त्री सिंगापुर आएकी हुन्छिन्। तमिलहरूका दुःख र समस्याबारे सम्बोधन गर्ने क्रममा उनलाई सूर्याले गोली हान्छन्।
प्रहरीले उनलाई पक्राउ गर्छ।
उनी गोली हान्नुको कारण प्रहरीलाई सुनाउँछन् र मन्त्रीलाई मार्ने योजनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्छन्।
यहाँनिर कथाले नयाँ मोड लिन्छ।
मन्त्रीको ज्यान लिने उद्देश्य लिएका व्यक्ति अरू कोही होइन्, सूर्याको बाल्यकालदेखिका साथी राजीव हुन्छन्।
प्रहरी बन्ने सपना देख्दै हुर्केका राजीव कसरी पेशेवर हत्यारा भए? के उनी आफ्नै बुवा भरतको हत्यामा पनि संलग्न थिए? यो सब देखेर सूर्यालाई कस्तो अनुभव होला? जुन मान्छेले आफूलाई सबै खुबी सिकायो, उनकै छोराको यस्तो अवस्था देखेर सूर्याले अब के गर्लान्?
यसको जवाफ फिल्मले दिन्छ तर कथा यति मात्र होइन।
यो फिल्म दुई तीक्ष्ण र चलाख व्यक्तिहरूको प्रतिस्पर्धाको कथा हो। साथी भए पनि कोभन्दा को अब्बल भनेर दुश्मन बनेका दुई युवाको कथा हो। यही दुश्मनीलाई आधार बनाएर यो फिल्मको नाम राखिएको छ- एनिमी।
एक्सन थ्रिलर विधाको यो फिल्म सन् २०२१ नोभेम्बरमा रिलिज भएको थियो। समीक्षकहरूले तारिफ गरेको यो फिल्म व्यावसायिक रूपले पनि सफल भयो। यसको स्क्रिप्ट एकदमै सलल बगेको छ। दक्षिण भारतीय सिनेमाका लोकप्रिय अभिनेताद्वय आर्या र विशालको दमदार अभिनयले पनि फिल्म सफल हुन मद्दत गरेको छ।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।
हेर्नुहोस् युट्युबमाः