गुड फ्राइडे सिनेमा
अभिमन्यू सेनामा मेजर छन्। तर आम रूपले सेनामा देखिनेजस्तो देशभक्ति अभिमन्यूमा छैन। उनलाई त पश्चिमा मुलुक गएर उतै पलायन हुने मन छ।
अभिमन्यू आफ्नै क्षमताले भिसा लिएर विदेश जान र उतै स्थापित हुन सक्दैनन्। यसका लागि उनी अनेक तिकडम सोच्छन्। तीमध्ये एक हो, विदेशी केटीसँग बिहे गर्ने।
उनी आफ्ना मामाको बारमा सधैंजसो पुग्ने गर्छन्। त्यहाँ आउने विदेशी केटीहरू फकाउन खोज्छन्। उनीहरूसँग बिहेको कुरा गर्छन्। तर उनको प्रयास असफल भइरहन्छ।
सैनिकहरूलाई तालिम दिने तगडा मेजर अभिमन्यूको अर्को मुख्य कमजोरी हो रिस। अन्याय भएको देख्यो वा कसैले उनलाई दिक्क लगायो भने उनको रिसको पारो तात्छ। उनी हातपातमै ओर्लिन्छन्।
यही स्वभावका कारण उनको कार्यालयमा थुप्रै गुनासो आउँछन्।
एक दिन यस्तै गुनासोका कारण उनलाई मानसिक स्वास्थ्य सुधार्न भन्दै चिकित्सककहाँ पठाइन्छ। त्यहाँ उनको भेट मनोचिकित्सक रतिदेवीसँग हुन्छ। रतिदेवी उनलाई रिस शान्त पार्ने अनेक उपाय सुझाउँछिन्। तर अभिमन्यू आफ्नो रिसको वकालत गर्न थाल्छन्।
बिस्तारै रतिसँग उनको दोस्ती हुन्छ अनि बल्ल अभिमन्यूको रिसको जड थाहा हुन्छ।
अभिमन्यूले रिस त सम्हाल्न थाल्छन् तर उनको जीवनमा यस्तो मोड आइदिन्छ जहाँ उनी नराम्ररी फस्छन्।
बहिनीको बिहेका लागि उनलाई पैसा चाहिएको हुन्छ। उनी थुप्रै बैंक धाउँछन्। कसैले उनलाई ऋण दिँदैनन्। त्यही क्रममा उनको भेट एक यस्तो व्यक्तिसँग हुन्छ जसले कमिसन दिए ऋण मिलाइदिने भन्छन्।
यसका लागि अभिमन्यूले फर्जी कागजात बनाउँछन्। बैंकबाट उनले यही कागजातका आधारमा ऋण पाउँछन्। गलत काम गरेकामा अभिमन्यूलाई खास चित्त बुझेको हुँदैन। तर बहिनीको बिहेका लागि उनले चित्त बुझाउँछन्।
आफ्नो इमानमा कुनै आँच नआओस् भनेर सोच्ने अभिमन्यूको बाटो यहीँबाट अर्कैतिर मोडिन्छ।
अर्को झट्का उनलाई तब लाग्छ जब बैंकमा रहेको दस लाख रूपैयाँ बैंकबाटै गायब हुन्छ।
इमान धितो राखेर निकालेको ऋण यसरी एकाएक हराएपछि अभिमन्यू तनावमा पर्छन्। बैंकदेखि प्रहरी सबै निकायसम्म बुझ्ने कोशिस गर्छन्। तर उनी आफैंले फर्जी कागजात पेस गरेकाले उनले गर्न सक्ने केही हुँदैन।
उनी चुप बस्दैनन्। यसबारे खोजिनिती गरिरहन्छन्। यही क्रममा उनले थाहा पाउँछन्, यसरी बैंकबाट पैसा हराएको उनको मात्र होइन। हजारौं व्यक्तिको पैसा यसरी हराइरहेको छ।
आफूले ऋण लिएको पैसा हराएको, बहिनीको बिहे गर्न नपाउने अवस्था आएको देखेपछि उनको जीवन तनावले भरिन्छ।
आखिर त्यो पैसा कसले लगिरहेको छ?
अभिमन्यू पैसा खोज्दै जाँदा लुटेराहरूको चक्रव्यूहमा फस्छन्। उनलाई समस्याहरूले घेर्छन्। आफ्नो र परिवारको जीवन खतरामा पर्छ।
के अभिमन्यू यो चक्रव्यूहबाट बाहिर निस्केलान्? आखिर कसले फसाएको हुन्छ उनलाई? के उनले आफ्नो पैसा फिर्ता पाउलान्? आफैं फर्जी काम गरेर समस्यामा फसेका उनले अरूलाई न्याय कसरी देलान्?
यसका लागि फिल्म 'द रिटर्न अफ अभिमन्यू' हेर्नुहोला।
सन् २०१८ मा रिलिज भएको 'द रिटर्न अफ अभिमन्यू' तमिल थ्रिलर एक्सन फिल्म हो। तमिलमा 'इरूम्बु थिराइ' नाममा रिलिज भएको यो फिल्म त्यो वर्षकै सबभन्दा धेरै कमाउने दस फिल्ममा परेको थियो।
मेजर अभिमन्यूका रूपमा विशाल कृष्णा रेड्डीको दमदार अभिनय छ। त्यस्तै डाक्टर रतिदेवीको भूमिकामा सामन्था प्रभु छिन्। पिएस मिथरनको डेब्यू निर्देशन भए पनि पहिलो फिल्ममै उनले खुब तारिफ पाएका थिए।
प्रविधिले कसरी मानिसलाई एउटा खतरनाक चक्रव्यूहमा फसाइरहेको छ भन्ने फिल्मको मूल सन्देश हो।
आज गुड फ्राइडे सिनेमामा हामीले यो फिल्म हेर्न सिफारिस गरेका छौंः